होला त माओवादी-जसपा एकता ?

प्रचण्डले ‘मलाई उपेन्द्रले राम्रोसँग चिन्नुहुन्छ, म कस्तो मान्छे हो भनेर’ भाषणमै भन्न त भने। तर, यादवसँगै भट्टराईले पनि प्रचण्डलाई राम्ररी चिनेकाले पार्टी एकतामा खलल पुग्ने खतरा उत्तिकै छ।

होला त माओवादी-जसपा एकता ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी(जसपा)सँग पार्टी एकता गर्न प्रस्ताव राखे। माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक महासंघबीचको एकता समारोहलाई सर्लाही सदरमुकाम मलंगवामा १३ कात्तिकमा सम्बोधन गर्दै दाहालले ‘जनकपुरमा पार्टी एकता घोषणा गर्ने’ चाहनासमेत व्यक्त गरे।

संयोग ! त्यस्तो मधेसी दललाई उनले एकता आह्वान गरे, जुन दलको दुवै नेता कुनै बेला उनकै नेतृत्वमा रहेको माओवादीमा थिए। बाबुराम भट्टराईले सशस्त्र संघर्ष र त्यसपछि पनि पार्टी नेतृत्वमै रहेर प्रचण्डसँग सहकार्य गरेका थिए। अर्का नेता उपेन्द्र यादव पनि कुनै बेला प्रचण्ड नेतृत्वको माओवादी क्षेत्रीय तहका नेता थिए।

प्रचण्डले आफ्ना पुराना सहकर्मीले नेतृत्व गरेको दललाई किन आफ्नो दलसँग मिसाउन मन गरे ? के माओवादी र जसपा एकता होला त ?

किन एकताको कुरा गर्छन् प्रचण्ड ?

प्रचण्डले एकताको कुरा गर्नुपछाडि केही कारण छन्।
एक, एमालेसँग मिलेर शक्ति आर्जन गर्ने प्रचण्ड प्रयास असफल भएको छ। माओवादी मधेसमा कमजोर छ। प्रभु साह एमालेमै रहेपछि मधेसमा माओवादीलाई झन् मुस्किल छ।

मधेसमै पुगेर जसपासँग एकता गर्ने भन्नुको पछाडि मधेसमा माओवादीको लागि सञ्जीवनी बुटी खोज्नु पनि हो। माओवादीलाई ताकेर शुरु भएको मधेस आन्दोलनले कमजोर माओवादी मधेसमा अझै पनि तंग्रिएको छैन।

दुई, प्रचण्डले एकता प्रस्ताव गर्नुअघि नै जसपा नेताहरुले चुनावमा कार्यगत एकता गरेर जाने बताउँदै आएका छन्। नेकपा (एकीकृत समाजवादी)का नेताले पनि चुनावमा कार्यगत एकताको मुरली बजाइरहेका छन्।

आगामी चुनावमा चुनावी गठबन्धन बनाएर जानुपर्छ भन्नेमा माओवादी र जसपा दुवै लागिपरेका छन्। माओवादी त जसपा र नेकपा (एस)सँग मिलेर चुनावमा शक्ति हासिल गर्ने दाउमा छ। प्रचण्डको एकता आह्वान चुनावी गठबन्धनका लागि आधार बनाउने ‘कार्ड’ हुन सक्छ।

तीन, छाडीजानेको सम्झना।
प्रचण्ड अहिले एक्लै छन्। उनीसँग मन्थन र विमर्श गर्न सक्ने न मोहन वैद्य किरण छन्, न बाबुराम भट्टराई, न त रामबहादुर थापा ‘बादल’ नै छन्। त्यसैले उनले बेलाबेलामा छाडीहिँडेका साथी सम्झन्छन्। पार्टी एकता गर्ने भन्दै प्रचण्डले कहिले वैद्यलाई सम्झन्छन्, कहिले बाबुरामलाई। अहिले बाबुराम रहेको जसपालाई सम्झेका हुन्।

शेरवहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसमा फक्र्यो। वामदेव गौतम नेतृत्वको नेकपा (माले) माधवकुमार नेपाल नेतृत्वको एमालेमा फर्क्यो। प्रचण्डलाई छाडीगएका बादल, मातृकाप्रसाद यादव र मणि थापा पनि फर्केका थिए। भलै अहिले उनीसँग यादवमात्र छन्।

बादल र मणि नेकपा (एमाले)मा छन्। सायद उनलाई बाबुराम भट्टराई र उपेन्द्र यादव पनि फर्केलान् कि भन्ने आश होला। यसअघि उनले त पूर्व माओवादीका विभिन्न घटकसँग एकता गर्न लागेको पनि दाबी गरेका थिए। उनले विप्लव, वैद्य, गोपाल किराँतीसँत एकताको पहल भइरहेको बताउँदै आएका छन्।

चार, प्रचण्ड उपेन्द्र यादव, माधव नेपाल लगायतका पार्टीहरुसँग एकता गरेर ठूलो दलको नेता बन्न चाहन्छन्। बलियो धार निर्माण गर्न चाहन्छन्। पार्टी एकता नै नभए, चुनावमा कार्यगत एकता गरेर भए पनि चित्त बुझाउन चाहन्छन्।

माओवादी नेता भने पार्टी एकता पहल नै शुरु भइसकेको तर्क गर्छन्।
“जसपासँग पार्टी एकताको लागि प्रारम्भिक छलफल शुरु भएको छ। विचार, दृष्टिकोण र नयाँ ढंगले एकता गरेर लाने कुरा छ”, शिक्षामन्त्री एवं माओवादी नेता देवेन्द्र पौडेलले भने। पार्टी एकता गर्न वार्ता टोली वा समिति भने बनेको छैन।

पौडेलले भने, “अब संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बन्दैछ। यसैबाट पार्टी पनि एकताको लागि पहल हुने छ।”

“तुलनात्मकरुपमा कांग्रेस, एमालेभन्दा नयाँ शक्ति त हुन्। तर, प्रचण्डलाई गैरकम्युनिष्टमा छिराउन मुस्किल छ भने यादवले जसरी जम्मा गरेका छन्, तिनलाई कम्युनिष्टभित्र छिराउन गाह्रो छ। एकताका कुरा समसामयिक राजनीतिक एजेण्डा बिकाउने प्रयासमात्र हो,” राजनीतिक विश्लेषक झलक सुवेदीले भने।

एकता हुन्छ त ?

प्रचण्डले पार्टी एकताका लागि भाषण गर्दैआए पनि अन्य दलसँग जस्तै जसपासँग पनि तत्काल पार्टी एकताको सम्भावना ‘स्लिम’ छ।

एक, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले समाजवादी केन्द्र बनाउने भन्दैआएका छन्। बाबुरामले जसपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जस्ता तीन शक्तिलाई कम्युनिष्ट केन्द्रभन्दा समाजवादी केन्द्र बनाउने विषयमा जोड दिएका छन्।

यसको कारण होे, ९ असोज २०७२ मा भट्टराईले माओवादी छोड्दा कम्युनिस्ट पार्टी र विचारसमेत छोडेको भन्दै वैकल्पिक शक्ति निर्माणमा लागेका थिए। ‘वैकल्पिक शक्ति’ समाजवादी विचार बोक्ने पार्टी हो भनेर दाबीसमेत गरेका थिए।

दुई, देउवा, गौतम, वादलले पुरानो दल छाडेजसरी बाबुराम र उपेन्द्रले छाडेका होइनन्। उनीहरुले त पुरानो दलको ‘गोत्र’ नै त्यागेको घोषणा गरेका थिए। बाबुराम र उपेन्द्रले आफू आबद्ध माओवादीमात्र छाडेका होइनन्, कम्युनिष्ट गोत्र नै त्यागेका हुन्। यादवले मधेसमा आधारित क्षेत्रीय राजनीति गर्न माओवादी छाडेका हुन्। उनले मधेसमा आन्दोलन गरे। त्यही आन्दोलनबाट स्थापित भए।

बाबुरामले कांग्रेस, एमाले, माओवादीजस्ता पुराना शक्ति काम लाग्दैन भन्दै वैकल्पिक शक्ति बनाउन नयाँ शक्ति पार्टी खोले। पछि नयाँ शक्ति, यादवको पार्टी एकीकरण हुँदै जसपा बन्यो।

माओवादी कम्युनिष्ट गोत्र त्याग्न तयार देखिन्न भने जसपा कम्युनिष्ट गोत्र अपनाउन।

“पार्टी एकताका तीन मुख्य शर्तमध्ये एक हो, एकता गरेपछि बन्ने पार्टी ‘कम्युनिष्ट ब्राण्ड’ हुनुहुँदैन”, जसपा प्रवक्ता डम्बर खतिवडाले भने, “मलाई लाग्दैन, माओवादी यसको लागि तयार छ।”

खतिवडाका अनुसार बाँकी दुई शर्त यस्ता छन्ः
एक, पार्टीको चरित्र प्रगतिशील लोकतान्त्रिक हुुनुपर्छ, दक्षिणपन्थी राष्ट्रवादी।
दुई, संविधानमा असन्तुष्टि छन्। पार्टीले तिनलाई मुद्दाको रुपमा बोक्नुपर्छ। उनका अनुसार यसमा ६ बुँदा छन्।
क. शासकीय स्वरुप। संघ, प्रदेश र स्थानीयमा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्छ।
ख. निर्वाचन प्रणाली समानुपातिक हुनुपर्छ।
ग. प्रदेश पुनर्सींमाङ्कन र नामांकन गर्दै कम्तिमा १० वटा बनाउनुपर्छ।
घ. वित्तीय संघीयता लागू हुनुपर्छ।
ङ. अंग्रेजी र खस नेपालीमा जस्तै पठनपाठनमा प्रादेशिक भाषालाई मान्यता दिनुपर्छ।
च. आरक्षण प्रणाली मूर्त गरिनुपर्छ।

“यी कुरामा सहमत हुने कुनै पनि दलसँग जसपा एकता गर्न तयार छ”, खतिवडाले भने। राजनीतिक विश्लेषक सुवेदीले पार्टी एकता नभए पनि चुनावी मोर्चा भने बन्ने आंकलन गरे। उनले भने, “चुनावी मोर्चा हुन सक्छ।”

तर, प्रचण्ड किन भाषणैपिच्छे कहिले जसपा, कहिले नेकपा (एस) त कहिले विप्लवको नेकपासँग एकताको भाषण गरिरहन्छन् ? सुवेदीले भने, “आउने चुनावमा ठूलै शक्ति हुन्छ भन्ने बनाउन जनता र पार्टी पंक्तिलाई मेसेज दिन भनेका हुन्। प्रचण्डले जे बोले, त्यो मास र पार्टीभित्रको जनमतलाई हाम्रो शक्ति क्षीण भएको छैन भनेर थुम्थुम्याउने प्रयास हो।”

प्रचण्डले ‘मलाई उपेन्द्रले राम्रोसँग चिन्नुहुन्छ, म कस्तो मान्छे हो भनेर’ भाषणमै भन्न त भने। तर, यादवसँगै भट्टराईले पनि प्रचण्डलाई राम्ररी चिनेकाले पार्टी एकतामा खलल पुग्ने खतरा उत्तिकै छ।

छाडीजानेलाई सम्झने कमरेड प्रचण्डले पनि जुना श्रीस, वसन्त थापा र रवि कार्कीले गाएको लोक दोहोरी गाउनुपर्ने नियति नदोहोरिएला भन्न सकिन्न। गीतले भन्छ, ‘जाम सुस्तै, बिर्सनेलाई सम्झने म उस्तै।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved