तालिबानको सत्ता र अफगानी क्रिकेटको भविष्य

तालिबानहरुका अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने नियम छ। जहाँ शरीरको कुनैपनि भाग देखिनु हुँदैन। तर क्रिकेट लगायत अधिकांश खेल खेल्न बुर्का लगाएर सकिँदैन। त्यसैले पोशाक कै कारण पनि तालिबानद्धारा महिला क्रिकेटमाथि प्रतिबन्ध लाग्न सक्छ।

तालिबानको सत्ता र अफगानी क्रिकेटको भविष्य

काठमाडौं। “अफगानिस्तानले यो विश्वकपमा राम्रो खेल खेलिरहेको छ र दुई वटा खेल पनि जितिसक्यो। तर अफगानिस्तानमा हाल सरकार र परिस्थिति दुवै बदलिएको छ, अब यहाँबाट घर फर्किएपछि सरकारले तपाईहरुलाई केही सोधपुछ गर्छ भन्ने डर छ कि छैन?”

गत शुक्रबार विश्वकपको समूह चरणको खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएपछिको पत्रकार सम्मेलनमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी सामु एक पत्रकारले तेस्र्याएको प्रश्न थियो यो।

यो प्रश्नले खासै खुशी नभएका नाबीले उत्तर दिए, “के यो हालको परिस्थितिलाई छाडेर हामी क्रिकेटको बारेमा कुरा गर्न सक्छौँ? मलाई लाग्छ कि अहिले क्रिकेटको बारेमा मात्र कुरा गरेको राम्रो। हामी पूर्ण तयारी गरेर विश्वकप खेल्नको लागि यहाँ छौँ। त्यसैले यहाँले क्रिकेटसँग सम्बन्धित कुनैपनि प्रश्न सोध्न सक्नुहुन्छ।”

गत अगस्टमा तालिबानले अफगानिस्तानको सरकारमाथि कब्जा गरेपछि अफगानी क्रिकेटरहरुले बारम्बार यस्ता प्रश्नको सामना गरिरहनुपरेको छ। जस्तो कि, अब देश फर्केपछि अफगानी खेलाडी र क्रिकेटको अवस्था के हुन्छ?

तालिबानको कब्जापछि अन्य क्षेत्रसँगै अफगानिस्तानको खेलकुद पनि संकुचित हुने अनुमान पहिलेदेखि नै थियो/छ। विशेषगरी छोटो समयमा नै विश्व चर्चित बनेको अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमले अब भविष्यमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँछ या जनाउँदैन भन्नेमा नै धेरैको शंका छ। विश्वको चिन्ता खासगरी अफगानिस्तानको क्रिकेट खेलाडी र उनीहरुको परिवारको सुरक्षामा केन्दि«त छ।

यसअघि, पछिल्लो पटक तालिबानले सन् १९९६ देखि २००१ सम्म पनि अफगानिस्तानलाई कब्जामा लिएको थियो। त्यो बेला तालिबानको निति यति कट्टर थियो कि उसले क्रिकेटसँगै सबै खाले खेलकुदलाई प्रतिबन्ध लगाएको थियो। तर सन् २००० मा क्रिकेट मात्र एउटा यस्तो अपवादको खेल बन्यो जसलाई तालिबानले खेल्नका लागि स्वीकृती प्रदान गरेको थियो।

तालिबानले अहिले पनि पुरुष क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध नलगाउने घोषणा गरिसकेको छ। तालिबानका सांस्कृतिक आयोगका प्रमुख अहमदुल्ला वासिकले एक अन्र्तवार्तामा भनेका थिए, “तालिबानको सत्तामा क्रिकेट खेलले कुनै पनि बाधाका बाबजुद निरन्तरता पाउनेछ, अफगानिस्तान टिम कुनै पनि विदेशी टिमसँग खेल्न सक्नेछ। भविश्यमा हामी सबै राष्ट्रसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ।”

तर विशेषगरी तालिबानको नीति महिलाप्रति विभेदकारी छ। त्यसैले अफगानिस्तानमा पुरुष क्रिकेटभन्दा पनि महिला क्रिकेट खेलाडीलाई बढी डर छ। क्रिकेटको मात्र होइन, सबै खेलका महिला खेलाडी आफूलाई तालिबानको अण्डरमा असुरक्षित नै ठान्छन्।

तालिबानको कब्जा लगत्तै डरका कारण अफगानिस्तानका उमेर समूहका महिला फुटबल टिमका खेलाडीहरु परिवारसहित भागेर पाकिस्तान पुगेका थिए। सिनियर महिला फुटबल टिमका सदस्यहरु पनि त्रासकै कारण शुरुमै शरण लिन कतार गएका थिए।

सत्ता कब्जामा लिनु अगाडि नै तालिबानीहरुले विशेषगरी महिला फुटबल टिमका खेलाडीहरुलाई खेलकुद गतिविधिमा संलग्न नहुन धम्क्याउँदै आएका थिए। तर त्यसलाई महिला खेलाडीहरुले बेवास्ता गर्दै आएका थिए। तर जब तालिबान नै सत्तामा आयो उनीहरु आफूलाई असुरक्षित महशुस गर्दै देश छाड्न बाध्य भए।

विशेषगरी फुटबल खेल्दा लगाइने हाफ-जर्सी र हाफ-प्यान्ट लगाउन इस्लाम धर्ममा महिलाहरुलाई बर्जित छ। त्यसैले इस्लाम धर्मका कट्टरपन्थी तालिबानहरुले महिला फुटबललाई त छुट दिने सम्भावना निकै कम छ।

तालिबानहरुका अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने नियम छ। जहाँ शरीरको कुनैपनि भाग देखिनु हुँदैन। तर क्रिकेट लगायत अधिकांश खेल खेल्न बुर्का लगाएर सकिँदैन। त्यसैले पोशाक कै कारण पनि तालिबानद्धारा महिला क्रिकेटमाथि प्रतिबन्ध लाग्न सक्छ। यद्यपि, यस विषयमा उनीहरुको आधिकारिक धारणा भने आइसकेको छैन।

अफगानिस्तानमा सन् २०१० मा पहिलो पटक महिला क्रिकेट टिम बनाइए पनि धार्मिक र सांस्कृतिक मूल्य र मान्यताका आधारमा महिला क्रिकेटलाई अघि बढाउन निकै गाह्रो भयो। त्यसैले सन् २०१४ मा अफगानिस्तानको महिला क्रिकेटलाई पुनः बन्द गरियो।

सबै महिला खेलकुद गतिविधिसँगै महिला क्रिकेट टिममाथि प्रतिबन्ध लाग्न सक्ने कारण नै अफगानिस्तानले पाएको टेष्ट (पूर्ण सदस्य राष्ट्र) मान्यता गुम्न सक्छ। लैङ्गिक समानताको कारण आईसीसीको यस्तो नियम छ कि कुनैपनि राष्ट्रले टेष्ट क्रिकेटको मान्यता पाउन त्यस देशमा महिला क्रिकेट टिम पनि हुनुपर्छ र महिला क्रिकेट टिमले पनि अन्तर्राष्ट्रिय खेल खेल्नुपर्छ।

तर सन् २०१७ मा टेष्ट क्रिकेटको मान्यता दिँदा अफगानिस्तानमा महिला क्रिकेट टिम थिएन। धार्मिक र सांस्कृतिक कारणले केही लचिलो भएको आईसीसीले आफ्नो नियममा नै केही खुकुलोपना देखायो, जसमा टेष्ट क्रिकेटको मान्यता पाएपछि यथाशिघ्र अफगानिस्तानले महिला क्रिकेट टिम र खेललाई शुरु गर्नुपर्ने प्रावधान थियो।

फलस्वरुप ठीक एक वर्षअघि मात्र अफगानिस्तान क्रिकेट बोर्डले २५ जना महिला खेलाडीहरुसँग सम्झौता गर्दै फेरि महिला क्रिकेट टिम बनायो। जसले यसै वर्ष ओमानको महिला टिमसँग पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने योजना थियो। तर तालिबान आएपछि सबै रोकियो।

अर्कोतर्फ तालिबानले अफगानिस्तानको क्रिकेट बोर्डमा प्रत्यक्ष रुपमा संलग्नता देखाउन र हस्तक्षेप गर्न थालिसकेको छ। देशको क्रिकेट बोर्डमा अनावश्यक राजनीतिक हस्तक्षेप भएमा आईसीसीले स्वतः क्रिकेटमा प्रतिबन्ध लगाउन सक्छ। अनावश्यक राजनैतिक हस्तक्षेपका कारण नै सन् २०१६ मा आईसीसीले नेपालको क्रिकेट सघंलाई पनि निलम्बन गरेको थियो। जुन सन् २०१९ मा करीब तीन वर्षपछि हटेको थियो।

यस्तो राजनैतिक उथल पुथलका बाबजुद पनि अफगानिस्तानले विश्वकपमा भने सहभागिता जनाएको छ। भारत रहेको समूहमा परेको अफगानिस्तानले शुरुवाती दुई खेलमा जित दर्ता गराइसकेको छ। जहाँ भारतको सेमिफाइनल सम्भावना निकै कठिन रहँदा अफगानिस्तानको सम्भावना भारतको भन्दा निकै बलियो छ।

नेपालभन्दा अफगानिस्तानको क्रिकेट धेरै कान्छो हो। अफगानिस्तानको क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को मान्यता पाउनु अगाडि नै नेपाल आईसीसीको एसोसिएट मेम्बर राष्ट्र बनिसकेको थियो।

नेपाल सन् १९९६ मा नै आईसीसीको एसोसिएट राष्ट्र बन्दा अफगानिस्तानको क्रिकेटले सन् २००१ मा मात्र आईसीसीको मान्यता पाएको थियो। अफगानिस्तान एसोसिएट राष्ट्र बनेको त सन् २०१३ मा मात्र हो।

तर अफगानिस्तानको क्रिकेटले यति ठूलो छलाङ मा¥यो कि एसोसिएट राष्ट्र भएको चार वर्षमा नै सन् २०१७ मा ऊ आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्यो र टेष्ट मान्यता पाउन सफल भयो।

अफगानिस्तानको क्रिकेट करीब दुई दशकको अवधिमा नै धेरै माथि पुगिसक्यो। स्पिन बलिङ र बिष्फोटक ब्याटिङको कारण टी-ट्वान्टी क्रिकेटमा त अफगानिस्तान हाल जुन सुकै राष्ट्रलाई अप्रत्यासित रुपमा हराउने ल्याकत राख्छ। तर तालिबानको पुनरागमनपछि अफगानिस्तान क्रिकेटको भविष्य अन्योलमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved