६ महीनामा ढलेका एमालेका सात सरकार

केन्द्रमा तत्कालीन एमालेमा नेपाल समूहका नेताहरूले फ्लोर क्रस गरेर पार्टी अध्यक्ष ओलीको सरकार ढाले। त्यसपछि लुम्बिनीमा एक र बागमती र प्रदेश एकमा दुई–दुई पटक एमाले सरकार ढल्यो। प्रदेश १ सरकारको नेतृत्व गुमाएसँगै एमाले सरकार शून्यमा झरेको हो।

नेपालभ्युज

६ महीनामा ढलेका एमालेका सात सरकार

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि केन्द्र सरकार र चारवटा प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमाले सोमबारदेखि सम्पूर्ण रूपमा सत्ताबाट बढारिएको छ। मंंसिर २०७४ मा एकैसाथ भएको संघ र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले केन्द्रसहित पाँचवटा सरकारको नेतृत्व गरे पनि अहिले सबै सरकारबाट बाहिरिएको हो।

चार वर्षको अवधिमा एमालेको सात सरकार बन्यो भने पछिल्लो ६ महिनाको अन्तरालमा सात पटक सरकार ढल्यो। केन्द्रको एक र प्रदेशमा ६ वटा सरकार गत जेठयता ढलेको हो। यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली नै दुई पटक प्रधानमन्त्री भएका थिए। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेकपा विभाजन भयो। विभाजित भएपछि माओवादी केन्द्रले एमाले बाहेकका अन्य राजनीतिक दलसँग गठबन्धन गर्याे। त्यसपछि पनि एमाले आफैमा विभाजन भएपछि विपक्षी गठबन्धनलाई थप बल मिल्यो।

जसकारण २७ जेठमा गण्डकी प्रदेशबाट ढल्न शुरु भएको एमालेको सरकार केन्द्र हुँदै (१५ कात्तिक) सोमबार प्रदेश एकसम्म पुगेर प्रतिपक्षमा परिणत भएको छ। निर्वाचनको समयमा माओवादी केन्द्रसँग गठबन्धन गरेको एमालेले निर्वाचनपछि पार्टी एकता गरेको थियो। संसद् विघटनपछि पार्टी साविककै अवस्थामा कायम भयो।

औपचारिक विभाजन नहुँदै गण्डकी प्रदेशमा सरकार ढल्यो। उता केन्द्रमा समेत एमालेमा नेपाल समूहका नेताहरूले फ्लोर क्रस गरेर पार्टी अध्यक्ष ओलीको सरकार ढाले। त्यसपछि लुम्बिनीमा एक र बागमती र प्रदेश एकमा दुई–दुई पटक एमाले सरकार ढल्यो। प्रदेश १ सरकारको नेतृत्व गुमाएसँगै एमाले सरकार शून्यमा झरेको हो।

केन्द्रमा ओली – तीन वर्ष, तीन महिना

अघिल्लो पटक ३ फागुन २०७४ मा प्रधानमन्त्री बनेका ओलीले विभिन्न घटनाक्रमले बहुमत समर्थन गुमाए। २७ वैशाखमा पहिलो ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली फेरि प्रधानमन्त्री बने। फेरि दोस्रो पटक संसद् विघटन गरे। पछि सर्वोच्च अदालतको परमादेशले उनी पदमुक्त भए। सर्वोच्च ले २८ असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्याे। भोलिपल्ट देउवा प्रधानमन्त्रीमा नियुक्त भए। दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदरसँगै सरकारको नेतृत्वबाट ओली बिदा भए।

गण्डकीमा– तीन वर्ष चार महिना

२८ जेठमा गण्डकी प्रदेशमा मत विभाजन प्रक्रियामा जाँदा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा २७ र विपक्षमा ३० सांसद उभिए। २९ माघ २०७४ मा मुख्यमन्त्री बनेका गुरुङ सरकारबाट बाहिरिए। त्यसपछि कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बने। कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) का दुई तथा राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसदको सांसदको उनलाई समर्थन रह्यो।

लुम्बिनी पोखरेल– तीन वर्ष ६ महिना

२८ साउनमा २०७८ मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिन बाध्य भए। उनी २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। ६ वैशाखमा पोखरेलविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए। त्यसअघि १९ वैशाखमा राजीनामा दिएका उनी पुन मुख्यमन्त्री बनेका थिए। पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेपछि यो प्रदेशमा पनि ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलबहादुर केसी बनेका मुख्यमन्त्री बनेका छन्।

बागमतीमा पौडेल– तीन वर्ष ६ महिना

पार्टीमा आन्तरिक सन्तुलन मिलाउन भन्दै २ भदौमा बागमतीको मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन्। पौडेल २८ माघ २०७४ मा मुख्यमन्त्री बनेका थिए।

प्रदेश १ मा राई– तीन वर्ष ७ महिना

२ फागुन २०७४ मा प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राईकाे सरकार पनि लामो समय टिकेन। पार्टी एकता कायम गर्न भन्दै १० भदौमा उनले राजीनामा दिए। र पार्टीका अर्का नेता भीम आचार्य मुख्यमन्त्री बने। एमालेमा वरिष्ठ नेता नेपाल समूहमा रहेका नेता आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री दिइयो।

पहिलो महिला मुख्यमन्त्री – ७० दिन

२ भदौमा बागमती सरकारको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको कार्यकाल सबैभन्दा छोटो रह्यो। प्रदेशसभामा बहुमत नजुट्ने प्रष्ट भएपछि उनले १० कात्तिकमा मुख्यमन्त्री पदबाट राजीनामा दिइन्। त्यसपछि पूर्वएमाले नेता समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन्। पाण्डे ५ दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।

प्रदेश १ मा आचार्य–२ महिना १५ दिन

शाक्य नेतृत्वको सरकार ढलेको ५ दिनमा प्रदेश एकमा शेरधन राईलाई राजीनामा गर्न लगाएर मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार पनि सरकारबाट बहिर्गमन भयो। उनी १० भदौमा मुख्यमन्त्री भएका थिए। सोमबार उनै आचार्यको बर्हिगमनसँगै एमाले देशैभर प्रतिपक्षी दल बनेको छ। अब प्रदेश १ मा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved