जो पनि डाक्टर ! सूचना नै जारी गर्नुपर्ने अवस्थामा काउन्सिल

पछिल्लो समय जोसुकै स्वास्थ्यकर्मीले ‘डाक्टर’ लेख्न थालेपछि काउन्सिलले ऐनको दफालाई समेटेर सूचना सार्वजनिक गरेको हो। डाक्टर बन्ने प्रक्रिया नै पूरा नगरी जथाभावी नामका अगाडि उपाधि लेखेको पाइएकाले काउन्सिल यसको मापदण्ड सम्झाउने अवस्थामा पुगेको हो।

नेपालभ्युज

जो पनि डाक्टर ! सूचना नै जारी गर्नुपर्ने अवस्थामा काउन्सिल

काठमाडौं । अचेल नेपाल मेडिकल काउन्सिलको काम बढेको छ। कानूनले दिएको जिम्मेवारी त नयाँ मेडिकल कलेजलाई मान्यता दिने, पुरानाको नियमन गर्ने, पढाइ पूरा गरेका डाक्टरको परीक्षा लिई लाइसेन्स दिने हो। तर अब उसले डाक्टर पद कसले लेख्ने, कसले नलेख्नेसमेत व्याख्या गर्नुपर्ने अवस्था आएको छ।

यस्तैमा नामको अगाडि डाक्टर लेख्न पाउने/नपाउने भन्नेबारे काउन्सिलले १० कात्तिकमा सूचना नै जारी गर्‍यो।

पछिल्लो समय जोसुकै स्वास्थ्यकर्मीले ‘डाक्टर’ लेख्न थालेपछि काउन्सिलले ऐनको दफालाई समेटेर सूचना सार्वजनिक गरेको हो। डाक्टर बन्ने प्रक्रिया नै पूरा नगरी जथाभावी नामका अगाडि उपाधि लेखेको पाइएकाले काउन्सिल यसको मापदण्ड सम्झाउने अवस्थामा पुगेको हो।

कानूनमा उल्लेख भएअनुसार मापदण्ड नै पूरा नगरी जथाभावी डाक्टर लेखेको पाइएमा कडा सजाय हुने काउन्सिलले सूचनामार्फत चेतावनी पनि दिएको छ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा डाक्टरको उपाधिसम्बन्धी यस्तो छ व्यवस्था

ऐनको दफा २ को ‘घ’ मा ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपाधि प्राप्त गरी सोसम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ’ भनी उल्लेख गरिएको छ।

सोही ऐनको दफा २ को परिभाषाः ‘घ’ मा ‘विशेषज्ञ चिकित्सक’ भन्नाले सम्बन्धित विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिएबमोजिम विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनुपर्छ’ उल्लेख छ।

यसैगरी ऐनको दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधिसम्बन्धी चिकित्साको काम गर्ने हतुले आफूले नपाएको आधुनिक औषधिसम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन’ भन्ने व्यवस्था छ।

आधुनिक चिकित्साको स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको व्यक्तिलाई विश्वविद्यालयबाट प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर उपाधि सहित लाइसेन्स प्रमाणपत्र प्रदान गरिएको हुन्छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी भन्छन्, ‘‘आधुनिक चिकित्सा पढेको मानिसलाई कानूनले व्याख्या गरेअनुसार विश्वविद्यालयले डाक्टरको उपाधि दिई र काउन्सिललमा दर्ता भएपछि मात्र नामको अगाडि डाक्टर लेख्न मिल्ने हो तर अहिले जथाभावी रूमा आँखाको टेक्निसियन, ल्याब टेक्निसियनलगायत फिजियोथेरापी गराउनले पनि डाक्टर लेखेको भेटियो, सम्पूर्ण प्रमाण भेटिए उनीहरूलाई कानूनअनुसार सजाए दिइने छ।”

सबैलाई कानूनमा उल्लेख भएअनुसार यो लेख्न पाइँदैन भनेर सम्झाउने बुझाउने काम गर्नु परिरहेको उनी बताउँछन्। अब पनि परिषद्ले नदिएको उपाधि लेख्नेलाई कडा सजाय हुने उनले चेतावनी दिए।

कानूनले नदिएको उपाधि कहीँ कतै कसैले लेखिरहेको प्रमाणित भएमा ३० हजार रुपैयाँ र तीन वर्ष कैद हुने उनले जानकारी दिए। काउन्सिलमा हालसम्म २९ हजार चिकित्सकहरू दर्ता भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved