मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

नेपालभ्युज

मेयरको घर अगाडि वडाअध्यक्षहरूले फोहोर थुपारेपछि…

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि आज उपमहानगरपालिकाका वडा अध्यक्षहरूले फोहोर जम्मा पारेर थुपारेका छन् ।

नगरको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले मेयर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

दीपावली र छठ पर्व नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरूले फोहोर थुपारेका हुन् ।

डम्पिंग साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछी स्थानीयमा आक्रोश देखिएको र मेयर साहले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश व्यक्त गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर मेयर साहको घर अगाडि थुपारेका हुन् ।

ट्रैक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर मेयर साहको घरसम्म फोहोर पुर्याएका थिए ।

फोहोर व्यवस्थापनका लागि मेयर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रैक्टरसम्म उपलब्ध नगराएकोले बिरोध स्वरुप मेयर साहको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।

यद्यपि आफ्नो वडामा आफै सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved