ढोरपाटनमा १० नाउर र ६ झारलको शिकार गरिँदै

जीव-जन्तु संरक्षण विना वातावरण सन्तुलन हुँदैन : राष्ट्रपति भण्डारी

ढोरपाटनमा १० नाउर र ६ झारलको शिकार गरिँदै

काठमाडौं। मुलुककै एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा १० ‌ओटा नाउर र ६ ‌ओटा झारलको शिकार हुँदैछ। पहिलो चरणमा आरक्षको सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ।

फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदहसहित सात ‘ब्लक’ मा शिकार खेल्ने गरिएकोमा यो सिजनका लागि पाँच‌ओटा ब्लक तोकिएको आरक्षले जनाएको छ। ढोरपाटनमा प्रत्येक वर्ष (असोज–मंसिर) र (फागुन–बैशाख) दुई चरणमा शिकार खुला हुने गर्छ।

पहिलो सिजनका लागि मेक्सिको, फ्रान्स, युक्रेन, स्पेन, चेक रिपब्लिक लगायतका मुलुकका शिकारी नेपाल आएका छन्। दुई सिजनमा ६ ‌ओटा ब्लकमा नाउरको शिकार हुन्छ। झारल भने सातवटै ब्लकमा शिकार हुने आरक्ष प्रमुख वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।

उनका अनुसार कार्तिक पहिलो साता गन्तव्यमा पुगेका शिकारी फर्किने तयारीमा छन्। “शिकार के कति भयो विस्तृत विवरण आउन बाँकी छ, घुस्तुङ ब्लक पुगेका शिकारी केही दिनमै फर्किदैछन्”, कँडेलले नेपालभ्यूजसँग भने।

शिकार पर्यटनमा सहजीकरण गर्न र मार्ग निर्देशनका लागि आरक्षले ब्लकमा आफ्ना कर्मचारी उपलब्ध गराउँछ। शिकारी एक सातादेखि बढीमा १५ दिन हाराहारी ढोरपाटन बस्ने गर्छन्। पहिलो यामका लागि नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एण्ड ट्रेल्स कम्पनीमार्फत शिकारी गन्तव्य पुगेका छन्।

पेशेवर शिकारी, शिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने गर्छन्। एक शिकारीलाई बढीमा एक नाउर र एक झारल शिकार गर्न अनुमति दिने व्यवस्था छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष विद्युतीय बोलपत्र आह्वान गर्दै शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ।

यसपटक नाउरलाई औसतमा एक लाख ९० हजार र झारललाई ९५ हजार हाराहारीको प्रस्ताव पेश भएको विभागले जनाएको छ। विभागले सबैभन्दा बूढो र ठूलो भाले नाउर र वयस्क भाले झारलको मात्रै शिकार गर्न अनुमति दिन्छ। गर्भिणी, अर्धवयस्क, बास बसेका, चरणका क्रममा पानीघाट आसपास पुगेकालाई शिकार गर्न प्रतिबन्ध लगाइएको छ।

पर्यटन व्यवसायीहरुका अनुसार, एक शिकारीले नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर शुल्क र अन्य बन्दोबस्तीका सामग्रीका लागि २० लाख रुपैयाँ हाराहारी खर्च गर्छन्। यो खर्च एक सिजनको हो। गत वर्षको दुई सिजनमा १८ नाउर र नौ ‌ओटा झारलको शिकार भएको थियो। यो तथ्यांक सातवटै ब्लकको हो। यसपटक ४ कार्तिक देखि शिकारी ढोरपाटन पुगेका थिए।

आरक्ष प्रमुख कँडेलका अनुसार शिकारले मार हानेको नाउर र झारल शिकारी स्वयंले विदेश लान पाउने प्रावधान छ। “सौखिन शिकारीले यहाँ मार हानेको नाउर र झारल विदेशका अन्य शिकार प्रतिस्पर्धामा र ट्रफीका लागि प्रर्दशन गर्छन्”, उनले भने।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ढोरपाटन शिकार आरक्षको भ्रमण गरेकी छन्। उनी नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२.४०मा ढोरपाटन पुगेकी थिइन्।

आरक्ष कार्यालय र आसपासका भेगको अवलोकन गरेकी भण्डारीले साढे दुई घण्टा ढोरपाटनमा बिताइन्। राष्ट्रपति भण्डारीलाई आरक्ष प्रमुख कँडेल र आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा अवस्थाबारे अवगत गराए।

संरक्षणमा सबै क्षेत्रको हातेमालो औल्याएकी राष्ट्रपति भण्डारीले जीव-जन्तु संरक्षण विना वातावरण सन्तुलन नहुने बताएको कँडेलले जानकारी दिए। “राष्ट्रपति ढोरपाटनको अवलोकन भ्रमणमा आउनु भएको हो”, उनले भने, “संरक्षण अभ्यासबारे उहाँले गम्भीर चासो लिनु भएको छ। आरक्ष आसपासको भेगलाई मध्यवर्ती क्षेत्र घोषणा गर्न सुझाव दिनु भएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved