प्रचण्डले भनेजस्तै कुरुक्षेत्र बन्छ त चितवन ?

प्रचण्डले भनेजस्तै कुरुक्षेत्र बन्छ त चितवन ?
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत ९ कात्तिकमा गृहजिल्ला चितवन पुगे। प्रचण्डले गृहजिल्ला पुगेका बेला कुनै न कुनै राजनीतिका नौला विषय उठाउने गर्छन्।

चितवन बसाइकै क्रममा गत १२ कार्तिकमा पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले अबको निर्वाचनमा चितवन कुरुक्षेत्र बन्ने उद्घोष गरे।

केन्द्रीय राजनीतिमा दलहरूबीच ‘अर्लि इलेक्सन’ को चर्चा भइरहेको छ। यद्यपि यो विषयमा दलहरूबीच औपचारिक रुपमा छलफल भने भइसकेको छैन। ‘अर्लि इलेकसन’ नभए पनि अबको करिब डेढ वर्षभित्र संसदीय निर्वाचन गर्नुपर्ने हुन्छ। त्यसका लागि राजनीतिक दल र नेताहरूले आफ्नो निर्वाचन क्षेत्रलाई पकड बनाउन लागि परेका देखिन्छन्।

त्यही क्रममा प्रचण्डले अबको निर्वाचनमा आफ्नो चुनावी जिल्ला चितवन कुरुक्षेत्रमा परिणत हुने बताएसँगै यसले आगामी निर्वाचनमा चितवनको ध्यान केन्द्रमा हुने निश्चित छ।

चितवन सधैं चर्चामा

प्रचण्डले निर्वाचनमा चितवनलाई कुरुक्षेत्र भने पनि खासमा कुरुक्षेत्रको अर्थ महाभारतमा राज्यप्राप्तिका लागि कौरव र पाण्डवबीच लडाईं भएको युद्धभूमि हो।

महाभारतमा उल्लेख भएअनुसार यो लडाईं नै सबैभन्दा ठूलो थियो। यहाँ वर्णन भएअनुसार युद्धमा लाखौं क्षेत्रीय योद्धाहरू मारिएका थिए। कुरुक्षेत्र हिंसात्मक लडाईं भएको स्थान हो। तर प्रचण्डले आफ्नो भाषणमा यसपटकको लडाइँ हिंसात्मक नहुने बताएका थिए।

साथै उनले आफूलाई पाण्डव र एमालेलाई कौरवको कित्तामा व्याख्या गरेका थिए। उनको यो अभिव्यक्तिबाट के देखिन्छ भने चितवनमा आफू र एमालेबीच नै चुनावी प्रतिस्पर्धा हुने संकेत दिएका थिए।

यही चितवनमा संसद् पुनर्स्थापना हुँदा प्रचण्ड र माधव नेपालले एकअर्कालाई मिठाई खुवाउँदै ओलीलाई राजनीतिक पराजयको सन्देश पनि दिएका थिए।

एमालेको सन्देश पनि त्यही

नेकपा एमाले पनि राजनीतिक रुपमा त्यही सन्देश दिन खोजेको छ। हालै मात्र सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनले पार्टीको आगामी महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको थियो।

तर स्थायी समितिले पछि प्रचण्डको गृहजिल्ला चितवनमा नै गर्ने निर्णय गर्‍यो। गत प्रदेश र संघीय निर्वाचनमा गठबन्धन हुँदै पार्टी एकता गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अहिले अगल छन्। ‍

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि बोलचालसमेत छैन। माओवादी केन्द्रबाट एमाले गएका रामबहादुर थापाको पनि गृहजिल्ला पनि चितवन नै हो। थापा प्रचण्डको जनयुद्धकालका सहयात्री मात्र हैनन्, सहपाठी पनि हुन्।

अघिल्लो निर्वाचनमा पनि एमाले र माओवादीबीचको लडाइँका कारण चितवन चर्चित थियो। चितवनलाई आफ्नो चुनावी क्षेत्रको रुपमा बढाउन चाहेका प्रचण्डले गत स्थानीय तहको निर्वाचनमा कांग्रेससँग निर्वाचन तालमेल गरी छोरी रणु दाहाललाई भरपुर महानगरपालिकाको मेयर बनाउन सफल भएका थिए।

निर्वाचनका बेला एमालेका देवी ज्ञवाली र रेणु दाहालबीच कडा प्रतिस्पर्धा थियो। मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातियो। त्यतिबेलाका एमालेका अध्यक्ष कृष्णभक्त पोखरेलले विज्ञप्ति जारी गर्दै आफ्ना उम्मेद्वारले जित्ने पक्का भएपछि माओवादीले मत पत्र च्यातेको आरोप लगाएका थिए।

यता माओवादीले पनि एमालेले मतपत्र च्यातेको आरोप लगाएको थियो। मतपत्र च्यातिएपछि माओवादी र एमालेबीच पुनः निर्वाचन गर्ने कि नगर्ने भन्ने विवाद देखिएको थियो। फेरि गरिएको निर्वाचनबाट रेणु विजयी भएकी थिइन्। तर एमालेले भने निर्वाचनको विरोध गरेको थियो। मतपत्र च्यातिएको प्रकरणपछि चितवन राष्ट्रिय राजनीतिको केन्द्र बनेको थियो।

प्रचण्डले भनेको अब चितवन बन्ला कुरुक्षेत्र?

संविधान सभापछिका दुइटा चुनावमा काठमाडौं, रोल्पा र सिरहाबाट चुनाव लडेका प्रचण्ड २०७४ सालको संसदीय निर्वाचनमा पहिलो पटक गृहनगर चितवनबाट विजयी बनेका थिए।

स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहयात्रा गरेका प्रचण्डले संसदीय निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए। अहिले पनि प्रचण्डले चितवनबाटै संसदीय चुनाव लड्ने बताइसकेका छन्। र आगामी निर्वाचन गठबन्धनबीच सहकार्य गरेर जाने उनले बताइसकेका छन्।

प्रचण्डको यस्तो अभिव्यक्ति आइरहँदा गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले केही दिनअघि प्रचण्ड र उनकी छोरी रेणुप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए।

उनले जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो नर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेक चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने बताएका थिए।

उनको यो अभिव्यक्तिले केन्द्रमा शीर्ष नेताहरूबीच सहमति भए पनि स्थानीय तहमा भने गठबन्धनबीच तालमेल नभएको संकेत दिन्छ। यस्तै अबको निर्वाचनमा एमालेको चितवनलाई आफ्नो प्रतिष्ठाको लडाइँको रुपमा लिने संकेत दिएको छ। गत स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि भरतपुर नगरपालिकामा राम्रो मत ल्याएको एमालेका प्रभावशाली नेताहरूको पनि उपस्थिति त्यहाँ छ।

एमालेका सुरेन्द्र पाण्डे, रामबहादुर थापाको पनि निर्वाचन क्षेत्र पनि चितवन नै हो। यद्यपि चितवनको कुन क्षेत्रबाट को–को नेता उम्मेद्वार बन्छन् भन्ने पछि टुंगो लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved