अफगानी नागरिक भित्रिन थालेपछि सीमामा कडाइ

नेपालभ्युज

अफगानी नागरिक भित्रिन थालेपछि सीमामा कडाइ

काठमाडौँ। देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो।

बैठकमा अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय भएको बताइएको छ। कडाइका लागि नाकामा सीसीटीभी जडान गर्ने, आवतजावत गर्दा अनिवार्य रूपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ।

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय पनि भएको छ। बैठकमा सहभागी एक सदस्यले भने ‘‘सीमामा नागरिकलाई प्रवेश गर्न नदिने के गर्ने भन्नेबारेमा बैठकमा छलफल भयो। अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नु भएको थियो।’’

बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाँडले अनाधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरू कडाइ गर्नु पर्ने बताए। बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्नकुमार कार्की सहभागी थिए। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल समेत बैठकमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved