प्रिय पात्र

यो देशमा आज पनि मदन ‘ल्हासा’ जान्छ

यो नाटक गर्दा हेर्न नसकेर महिलाहरू भर्‍याङमा गएर ग्वाँग्वाँ रोएको देखेको छु मैले। नेपालको वास्तविक चित्र त्यो भर्‍याङमा देखिन्थ्यो। आज हरेक घरमा मदन जन्मिरहेका छन्। मदनको चरित्र निभाउँदा रुनका लागि ग्लिसिरिन हाल्न पर्थेन, त्यसै आँसु आउँथे।

यो देशमा आज पनि मदन ‘ल्हासा’ जान्छ

मलाई अहिलेसम्म सबैभन्दा मन परेको पात्र लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’को मदन हो।

त्यो पात्र किन पनि मलाई मनपर्छ भने मदन हिजो पनि हाम्रो समाजमा जन्मिन्थ्यो। आज पनि जन्मिरहेको छ। यो व्यवस्थामा भोलि पनि जन्मिनेछ। आम मानिसको अवस्था देशमा आज पनि त्यही छ, जुन सय वर्ष पहिले थियो। हामी नेपालीको नियति नै  हिजो पनि मदन बन्नु थियो, आज पनि त्यही छ र यस्तै रहिरहेमा हाम्रो समाजमा भोलि पनि उत्पादन हुने मदनहरू नै हुन्।

हिजो हामी यस्तो परिस्थितिमा गुज्रिएका थियौँ कि पैसा कमाउनका लागि अर्काको देश जानुपर्ने अवस्था थियो। देशमा केही गर्नका लागि वातावरण नभएकाले परदेश गएर आएर घरपरिवारलाई उठाउनुपर्ने स्थिति थियो। आजको दिनमा सुखसुविधाका लागि भनेर खाडीमा गएर श्रम गर्नुपर्ने अवस्था विद्यमान छ। हरेक नेपालीको घरमा मदन जन्मिनु नै पर्ने रहेछ। आजका दिनमा पनि यो पात्र घर घरमा छ। मेरा छोराछोरी पनि विदेशमा छन्।

सपना सजाएर परदेश गएका कति नेपालीका छोराछोरीहरू बाकसमा फर्किरहेका छन्। हिजो मदन भोट गयो, भोटेले बचाएर देश फर्किन पायो तर सबै परिवार गुमाउनुपर्ने अवस्था आयो। नेपालीको नियति आज पनि गुमाउनु नै हो। हामी सबैले केही न केही गुमाउनु नै पर्ने रहेछ।

मैले १८ वर्षको उमेरदेखि ५२ वर्षको उमेरसम्म कैयौंपटक मुनामदनको मदन भएर नाटक मञ्चन गरेँ। जब मदनको भूमिकामा म डुब्थेँ म वरिपरि मदन नै मदनहरू देख्थेँ। म थोरै समय रंगमञ्चमा मदनको चरित्र बाँच्दा पनि मलाई एकदमै कठिन हुन्थ्यो, मदन भएर बाँच्न एकदमै गाह्रो छ। तर देशको परिस्थिति यस्तो छ कि, मदन बन्नै पर्ने बाध्यता छ।

हिजो राणाका कारण देश विकास हुन सकेन, कति नेपालीहरू दरबान(पाले) भएर भारतमा गएर बस्नुपरेको थियो। देशमा विदेशिने चलन गणतन्त्रपछि आयो भन्ने भ्रम पनि धेरैमा छ। एक महीनाअघि ‘गंगालालको चिता’ नाटकमा अभिनय गरेको थिएँ, त्यसमा पनि राणाहरूको पालामा कसरी नेपाली युवा मदन बन्न बाध्य भए भन्ने देखाइएको छ। राणा, राजा हुँदै देशमा गणतन्त्र आइसक्दा पनि निरन्तर मदन उत्पादनको क्रम चल्दै आएको छ।

यसको कारण देशको राजनीति नै हो। राजनीतिक संस्कारले युवाहरूलाई हेर्न सकेको छैन। यो देशमा आज पनि मदन ‘ल्हासा’  जान्छ। हामीभन्दा पछि रहेका देश कहाँ पुगिसके, हामी आज पनि त्यही ठाउँमा छौँ, जहाँ थियौँ।

यो नाटक गर्दा हेर्न नसकेर महिलाहरू भर्‍याङमा गएर ग्वाँग्वाँती रोएको देखेको छु मैले। नेपालको वास्तविक चित्र त्यो भर्‍याङमा देखिन्थ्यो। आज हरेक घरमा मदन जन्मिरहेका छन्। मदनको चरित्र निभाउँदा रुनका लागि ग्लिसरिन हाल्न पर्थेन, त्यसै आँसु आउँथे।

सिंगो देशको अवस्था यसले बोकेको छ। मैले सयौँ नाटक गरेँ, सबैभन्दा मन परेको र मन छोएको नाटक नै मुनामदन हो। मैले मदनकै भूमिका निभाएर अमेरिकाको ग्रिन कार्ड त्यागेँ। जे गर्छु नेपालमै गर्छु भनेर बसेँ। कहिल्यै बाहिर गइनँ। तर मेरा छोराछोरी अमेरिकामा छन्, म विदेशिनु हुन्न भन्ने प्रभाव मुनामदनकै हो।

यसैगरी मलाई मन पर्ने अर्को पात्र मुनामदनकै भोटे हो। त्यहाँ एउटा मानवता छ। साथीहरूले छाडेको बिरामी मदनलाई उसले स्याहारेर निको बनाउँछ। मदन निको भएपछि दुई मध्ये एक थैलो सुनको दिन्छु भन्दा तेरो बूढी आमाको मेरा छोराछोरीलाई पठाइदिएस् यिनकी आमा छैन भनेर भन्छ। नारायण गोपालले गाएका यी पद्य सुनेर आज पनि मेरो हृदय चिरिन्छ।

(कलाकार प्रभाकर देव शर्मासँग नेपालभ्यूजकर्मी काशीराम बजगाईले गरेको कुराकानीमा आधारित। शर्मा  राष्ट्रिय नाचघरका वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved