बहुदलमा पञ्चायतकालीन झल्को: सर्वसम्मतको नाममा ‘टीके प्रथा’

चुनाव जितेर कहिले लगाउलान् अबिर ?

टीके प्रवृत्तिले पार्टीका विभिन्न संगठन तथा पार्टीप्रति इमानदार नेता जन्मिने भन्दा व्यक्तिप्रति बफादारको समूह तथा गुट जम्मा हुने राजनीति विश्लेषक मुमाराम खनाल बताउँछन्।

बहुदलमा पञ्चायतकालीन झल्को: सर्वसम्मतको नाममा ‘टीके प्रथा’

काठमाडौं। आफूले लोकतन्त्रको ल्याएको र संस्थागत गर्ने भूमिकामा आफ्नो भूमिको चर्चा गरेर नथाक्ने ठूला राजनीतिक दलहरूमा ‘टिकेप्रथा’ मौलाएको छ। महाधिवेशनको चटारोमा रहेका सबैजसो ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले सबैजसो तहमा सर्वसम्मतका नाममा पदाधिकारी माथिबाटै टीका लगाएर घोषणा गर्न थालेका छन्।

एमाले, कांग्रेस र माओवादीलगायत दलमा नेतृत्वप्रति असहमति राख्नेको संख्या सानो छैन। तर दलहरूको वडा, स्थानीय तह, भातृसंगठन तथा शुभेच्छुक सङ्गठनलगायतका संरचनामा सर्वसम्मति नेतृत्व चयन गर्ने नाममा दलका शीर्ष तहबाट हस्तक्षेप हुन थालेका छ।

तल्ला तहमा समेत पार्टीको माथिल्लो निकायबाटै संयोजक तथा पदाधिकारी घोषणा गरिएपछि कार्यकर्ताहरू फरक मत राख्ने नेता कार्यकर्ता असन्तुष्ट छन्। आफ्नो गाउँ, नगर, जिल्ला तथा विभिन्न संगठनको संयोजक तथा पदाधिकारी आफूहरूले नै छान्ने सोचेर भेलामा आएका कार्यकर्ताहरू टिकेप्रथाकै कारण आक्रोशित छन्। यसरी आक्रोशित हुनेहरूमा ठूला दलका नेता कार्यकर्ता छन्।

कांग्रेस: कतै निर्विरोध, कतै चुनाव

पटक पटक महाधिवेशनको मिति सार्दै अन्योलको भूमरीमा परेको सत्तारुढ नेपाली कांग्रेसले हालसम्म ५० बढी जिल्लामा वडा अधिवेशन सकेको छ। क्रियाशील सदस्यता विवादको कारणले केही जिल्लामा अधिवेशन गर्न बाँकी छ। तर, भदौ १८ यता शुरु उसको अधिकांश वडा अधिवेशनबाट नेतृत्व निर्विरोध चयन भएको भनियो। कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ।

धेरैजसो वडाहरूमा निर्विरोध अध्यक्ष तथा पदाधिकारी चयन भएको छ। स्थानीय तहमा भने प्यानल बनाएर प्रतिस्पर्धा भएको देखियो। हुन बाँकी अधिवेशनमा पनि आधाआधी ठाउँमा निर्विरोध निर्वाचित हुन सक्ने सभापति शेरबहादुर देउवा निकट एक केन्द्रीय सदस्यले नेपाल भ्यूजलाई बताए।

उनले भने ‘‘रोकिएका महाधिवेशन कात्तिक मसान्तदेखि शुरु गर्ने र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन हुन्छ। यसैले महाधिवेशन हतार हतारमा गर्नुपर्ने छ। प्यानल बनाएर निर्वाचन गर्दा धेरै विवाद हुने र तयारी धेरै गर्नुपर्ने हुन्छ। यस कारण नेतृत्व तहबाटै तोकिएको सदस्यलाई निर्विरोध निर्वाचन गर्न निर्देशन दिनुपर्ने हुन्छ।’’

कांग्रेसको विधानअनुसार टोल, वडा, गाउँपालिका-नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय समिति गरी ८ तहको पार्टी संरचनाको छ । केन्द्रीय समितिमा भने प्यानलै बनाएर महाधिवेशन गर्ने तयारी देखिन्छ।

एमालेमा सबैजसो निर्विरोध

आउँदो मंसिर मंसिर १०-१२ मा चितवनमा दशौँ महाधिवेशन गर्ने तयारीमा जुटेको प्रतिपक्षी दल एमालेले पनि वडा अधिवेशन र स्थानीय तहको अधिवेशन सकेको छ। आधारभूत तहको कमिटीका वडामा र स्थानीय तहमा अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको भनेको उसले अधिंकाशं स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

देशभरका ६ हजार ७४३ वडामध्ये बाढी पहिरो प्रभावित जिल्लामा बाहेक सबै ठाउँमा वडा र स्थानीय तहमा अधिवेशन सकिएको छ। ७५३ पालिकामध्ये अधिकांशमा अधिवेशन सकिएको छ। ती संरचनामा अध्यक्ष, उपाध्यक्ष र सचिव एक-एक तथा दुई उपसचिव रहेको कमिटी रहे पनि अध्यक्ष तथा सचिव भने केन्द्र तथा शीर्ष नेताबाटै चयन गरिएपछि कार्यकर्ताबाट मत लिएर नेतृत्व लिन आकांक्षा राखेकाहरू निराश छन्।

फाइल तस्वीर

एमालेबाट तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएर नेकपा एकीकृत समाजवादी (एस) गठन गरेका छन्। पार्टी विभाजनले संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माणलाई पहिलो कार्यसूची बनाएर पनि तल्ला कमिटीमा माथिबाटै नेतृत्व चयन गरेर पठाएपछि लोकतान्त्रिक पक्रिया चाहने कार्यकर्ता सन्तुष्ट छैनन्। यसअघि भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराललाई चयन गर्दासमेत टीका नै लगाइयो। अध्यक्षका अर्का दाबेदार आरसी लामिछानेलाई भने वरिष्ठ उपाध्यक्ष बनाइयो।

विगतको दुई केन्द्रीय महाधिवेशनमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेको एमालेले यस पटक भने प्यानल बनाउन नपाउने भनेको छ। प्यानल बनाउँदा गुटउपगुट जन्मने र सक्रिय हुने भनेको उसले दशौँ महाधिवेशनमा कसरी नेतृत्व चयन गर्ला हेर्न बाँकी छ।

माओवादीमा झन् बढी ‘टीके प्रथा’

उता, ३० वर्षदेखि एउटै नेतृत्व रहेको नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ। अहिलेसम्म अधिकांश महाधिवेशनमा उसले सर्वसम्मत एकै नेतृत्व चयन गर्दै आएको छ। माओवादीमा अध्यक्ष प्रचण्डको उत्तराधिकारी को बन्ने ? भन्ने विषयमा बहससमेत भएको छैन।
माओवादीमा पनि विभिन्न निकाय तथा संगठनको नेतृत्व चयन प्रक्रिया कांग्रेस र एमालेको भन्दा भिन्न छैन।

यसअघि विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्षमा पञ्चा सिंहलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारबाट चयन गरिएको थियो। माओवादीको स्थायी कमिटी नै अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा बसेर औपचारिक रूपमा अध्यक्ष दाहाललाई दिइएको थियो।

त्यसअघि युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को राष्ट्रिय सम्मेलनमा समेत अध्यक्ष तथा पदाधिकारीलाई टीका लगाइएको थियो। सुमन देवकोटा वाईसीएलको संयोजक र अध्यक्षका अर्का दाबेदार सुबोध श्रीपालीलाई सहसंयोजक बनाइयो। सम्मेलनमा उनीहरू लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जान तयार थिए। तर चुनाव रोकेर पार्टीले टीका लगाइदियो।

भिन्न रहन सकेन नेकपा (एस)

टीके प्रवृत्तिबाट नेकपा (एकीकृत समाजवादी) पनि अछुतो छैन। एमालेमा अध्यक्ष केपी शर्मा ओलीले तानाशाही तथा एकलौटी तरिकाले पार्टी चलाएको भन्दै अलग भएका नेताहरूले बनाएको दलनै टीके शैलीमा चलिरहेको छ। नयाँ पार्टीको संगठनात्मक संरचना धमाधम बनिरहेको छ। ७३ जिल्ला कमिटीको नेतृत्व तथा पदाधिकारी सर्वसम्मत नै चयन भयो। जम्बो केन्द्रीय संरचनासमेत निर्विरोध चयन गरियो।

लोकतान्त्रीकरण प्रक्रियाबिनै माथिबाटै नेतृत्व चयन गरेर सम्पूर्ण प्रदेश तथा प्रदेश स्तरका कमिटीका इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन्। पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसङ्गठनसहित विविध पेशागत तथा सामुदायिक सङ्गठनका इन्चार्ज तथा सहइञ्चार्ज केन्द्रले नै तोकिरहेको छ।

यसअघि विद्यार्थी संगठनको अध्यक्षमा सुदेश पराजुलीलाई राष्ट्रिय सम्मेलन र अधिवेशनबिनै अध्यक्ष चयन गरियो। विभिन्न भातृसंगठनमा यही शैली दोहोरिइरहेको छ। नेताहरु भन्छन्, ‘‘अहिले संंघीय तथा प्रदेश स्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ सबैमा निर्विरोध चयन भइरहेका छन्।’’

जनताभन्दा नेताप्रति बफादारको गुट जन्मन्छ

मुमाराम खनाल, विश्लेषक

पार्टीसँग जोडिएका संगठनहरूको नेतृत्वमा पार्टी नेताले टीका लगाइदिँदा संगठनभित्रको आन्तरिक लोकतन्त्र साँघुरिने विश्लेषकहरू बताउँछन्। टीके प्रवृत्तिले पार्टीका विभिन्न संगठन तथा पार्टीप्रति इमानदार नेता जन्मिने भन्दा व्यक्तिप्रति बफादारको समूह तथा गुट जम्मा हुने राजनीति विश्लेषक मुमाराम खनाल बताउँछन्।

 

उनी भन्छन्, ‘‘पार्टीका क्रियाशील सदस्यको भोटबाट नेतृत्व चयन हुने हो भने नेतृत्व कार्यकर्ताप्रति बफादार हुन्छन्। आम जनता तथा कार्यकर्ताको माग चाहनाअनुसार उनीहरु चल्छन्। तर पार्टीका नेतृत्वले गुटका लगाएर नेतृत्व चयन गर्दा उनीहरु आफूलाई पद दिने नेताप्रति बफादार हुन्छन्। जसलेगर्दा पार्टी आम जनता र कार्यकर्ताको भन्दा केही सीमित नेताको मात्र हुन्छ।’’

दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा पद र लाभ लिनेको लागि व्यक्ति पूजा गर्ने र चाकरीवाजले निरन्तरता पाउने प्रवृत्ति बढ्ने विश्लेषक खनालको तर्क छ। ‘‘संगठनमा योगदान गरेका र सक्षम ठहरिएकाहरू नेतृत्वबाट पाखा लाग्छन्। जनतामाझ काम नगर्ने तथा नेताको चाकरी गर्नेले नेतृत्व पाउँदा काम गर्ने नेता कार्यमताृमा वितृष्णा आउँछ। यसले सिङ्गो संगठन र पार्टी जीवनलाई अफ्ठेरो पार्न सक्छ’’, उनी भन्छन्।

एकताको सन्देश दिन निर्विरोध : एमाले

शेरबहादुर तामाङ, नेता, (नेकपा एमाले)

यता दलहरूले भने मतदान गर्नु मात्रै प्रजातान्त्रिक अभ्यास नहुने भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमले एमालेले आन्तरिक प्रतिस्पर्धा नगरेको पार्टी नेता तथा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ बताउँछन्।

उनी भन्छन्, ‘‘वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको छ। एमालेविरुद्ध धेरै सत्तागठनबन्धन र धेरै शक्ति लागेका छन्। यो अवस्थामा पार्टी कमजोर बनाउनु हुँदैन। देशैभरी पार्टी एक ढिक्का छ भनेर हामीले सहमतिमा नै देशैभर अधिवेशन गर्दै आएका हौँ। यसले आन्तरिक लोकतन्त्र बलियो नभएको होइन। यो अहिलेको देशको आवश्यकता हो।’’

अवसरवादी पार्टीमा नभएकाले असर गर्दैन : नेकपा एस

यता नेकपा एसले आफ्नो दलमा पाका इमानदार र युवा आकर्षण बढेको भन्दै आन्तरिक चुनाव गरेर नेतृत्व चयन गर्नुपर्ने अवस्था नरहेको बताएको छ।

जगन्नाथ खतिवडा, प्रवक्ता, नेकपा एकीकृत समाजवादी

प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, ‘‘आजको आजै नेतृत्वमा जान चाहने, टिकट लिएर चुनाव जित्न जान चाहने अवशरवादीहरु एमालेमै छन्, हामीकहाँ लामो समय कम्युनिस्ट राजनीतिमा लागेका पाका पुस्ता छन्। साथै नयाँ पुस्ताको आकर्षण छ। यसैले उनीहरूमा पार्टी बनाउनुपर्छ भन्ने चाहना छ। नेतृत्वमा कुनै लोभ छैन। यस कारण सर्वसम्मत नेतृत्व चयन हुँदैमा केही असर गर्दैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved