निष्कलंक न्यायाधीश भैरवप्रसाद लम्साल

२०५८ सालमा गठन भएको ‘सम्पत्ति जाँचबुझ आयोग’मा उहाँ अध्यक्ष हुनुभयो। त्यतिबेला उहाँले सार्वजनिक पद धारण गरेकाहरूको भ्रष्टाचारबारे प्रतिवेदन तयार पार्ने काम गर्नुभएको थियो। त्यो कहाँ छ, मलाई अहिले थाहा छैन। कतै अख्तियारतिर सुरक्षित होला कि !

निष्कलंक न्यायाधीश भैरवप्रसाद लम्साल

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज (११ कात्तिक) बिहान ८४ वर्षको उमेरमा निधन भयो। २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति  जाँचबुझआयोगका अध्यक्ष रहेका स्वच्छ छविका लम्साल आफ्नो निष्कलंक चरित्रका कारण स्मरणिय छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले उनीसँग जोडिएको आफ्नो स्मृति नेपाल भ्यूजकर्मी सुनिता साखकर्मीलाई यसरी सुनाएः

प्रकाश वस्ती

२०३२ साल। म त्यतिबेला बीएल तहमा अध्ययनरत थिएँ। डिजर्टेसन (शोधपत्र) लेख्नुपर्थ्यो। मेरो शोधपत्रको गाइड भैरवप्रसाद लम्साल हुनुहुन्थ्यो। त्यतिबेला नै हो, उहाँलाई पहिलोपटक भेटेको। त्यतिबेला सरकारी वकिल हुनुहुन्थ्यो उहाँ।

शोधपत्र राम्रो होस् भन्ने चाहन्थेँ म। शोधपत्र लेख्न उहाँले मलाई धेरै सहयोग गर्नुभयो। उहाँको निर्देशनमा मैले शोधपत्रको काम सकाएँ। उहाँको सिकाउने तरिका पनि राम्रो थियो। मेहनत गर्न हौस्याउनुहुन्थ्यो। सही र सत्य तथ्य लेख्न प्रेरित गर्नुहुन्थ्यो। मैले उहाँमा आफ्नोपन पाएँ।

उहाँलाई म ‘सर’ भनेर सम्बोधन गर्थेँ। उहाँले मेरो जीवनमा धेरै गुण लगाउनुभएको छ। शोधपत्र तयार पार्दै गर्दा उहाँले म भित्र केही क्षमता देख्नुभएछ। त्यसैले उहाँले कुसुम श्रेष्ठलाई मेराबारे कुरा गर्नुभएछ। कुसुम श्रेष्ठको ‘नेपाल ल फर्म’मा मैले सहयोग गर्ने र सिक्ने अवसर पाएँ। व्यावहारिक ज्ञान मैले त्यहाँबाट पाएँ।

लामो समय लम्साल सरकारी वकिलको रुपमा रहनुभयो। उहाँले मलाई बहस कला पनि सिकाउनुभयो। पक्ष विपक्षमा रहेर कसरी बहस गर्ने भनेर सिकाउनुभयो। सँधै न्यायको पक्षमा रहेर वकालत गर्न प्रोत्साहित गरिरहनुभयो।

सर्वाेच्चको न्यायाधीश हुँदा पनि बेलाबेलामा भेट हुन्थ्यो। सर्वाेच्चमा कुनै न्यायाधीश निष्कलंक भएर बाहिर निस्किएका छन् भने भैरवप्रसाद लम्साल नै हुनहुन्छ। उहाँ न्यायाधीश पदमा जाँदा पनि त्यति नै निष्कलंक हुनुहुन्थ्यो, बाहिर निस्कँदा पनि त्यति नै निष्कलंक हुनुहुन्थ्यो। कुनै मुद्दामा बदमासी गरेको भनेर सुनिएन। न्यायिक प्रणालीमा स्वच्छ छवी राखेर जानुभएको थियो उहाँले।

२०५८ सालमा गठन भएको ‘सम्पत्ति जाँचबुझ आयोग’मा उहाँ अध्यक्ष हुनुभयो। त्यतिबेला पनि बेलाबखतमा भेट भयो। उहाँको अफिस अहिले कानुन आयोग भएको ठाउँमा नै थियो। उहाँले आयोगका केही कामहरूमा मलाई पनि लगाउनुभएको थियो। त्यतिबेला उहाँले सार्वजनिक पद धारण गरेकाहरूको भ्रष्टाचारबारे प्रतिवेदन तयार पार्ने काम गर्नुभएको थियो। उक्त प्रतिवदेन तयार पार्ने समयावधि ६ महिनाको थियो। तर पछि म्याद थपेर करीब ८/९ महिना लगाएर उहाँले एउटा प्रतिवेदन तयार पार्नुभएको थियो। त्यसमा विभिन्न सूची राखिएको थियो। जसमा नाम सहित उल्लेख थियो। त्यसमा न्याय क्षेत्रका अदालतका २३ जना न्यायाधीशको पनि नाम थियो। पछि तिनै मानिस प्रधानन्यायाधीश समेत बन्न भ्याए। तर त्यो प्रतिवेदन प्रकाशन भएन। त्यो कहाँ छ, मलाई अहिले थाहा छैन। कतै अख्तियारतिर सुरक्षित होला कि !
उहाँले ममाथि विश्वास गर्नुहुन्थ्यो। त्यसैले उहाँको पारिवारिक समस्यामा पनि मलाई वकालत गर्ने मौका दिनुभएको थियो।

म सर्वाेच्चको न्यायाधीश भएपछि उहाँले मलाई फोन गरेर बधाइ पनि दिनुभएको थियो। तर न्यायाधीश भएपछि सम्पर्क अलि कम हुन पुग्यो। हामीले त्यो दुरी कायम गर्नुपर्थ्यो। पछि राष्ट्रिय मानव अधिकार आयोगमा गएपछि भने बेलाबेलामा उहाँसँग कुराकानी हुन्थ्यो।

मेरो गुरूको देहवासनले निकै दुखी छु।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved