अनुमति पाएर पनि पूर्ण रूपमा खुल्न सकेनन् उपत्यकाका विद्यालय

निर्देशिकाअनुसार अधिकांश विद्यालयले वैकल्पिक व्यवस्थाको माध्यमबाट पठनपाठन गराउन सकेनन्। फलस्वरूप विद्यार्थीको सिकाइ गुणस्तरीय हुन सकेन। विद्यालय खुलाउन अनुमति दिए पनि अधिकांश स्कूलले विद्यालय खुलाएका छैनन्।

अनुमति पाएर पनि पूर्ण रूपमा खुल्न सकेनन् उपत्यकाका विद्यालय

काठमाडौं। देशभरका विद्यालयको पठनपाठन कोरोना संक्रमणको महामारीका कारण ठप्पप्रायः छ। शहरबजारका निजी तथा आंशिक रूपमा सरकारी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि त्यो सबैतिर प्रभावकारी देखिएको छैन।

इन्टरनेट र प्रविधिको पहुँचबाहिर रहेका कारण कोरोना संक्रमण अवधिभर यस्ता विद्यालय न खुल्न सके न विद्यार्थी सिकाइको अन्य वैकल्पिक व्यवस्था नै गर्न सके।

सरकारले कोभिड-१९ संक्रमणको कारण अवरुद्ध सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्न सरकारले दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्न वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरेको थियो।

तर निर्देशिकाअनुसार अधिकांश विद्यालयले वैकल्पिक व्यवस्थाको माध्यमबाट पठनपाठन गराउन सकेनन्। फलस्वरूप विद्यार्थीको सिकाइ गुणस्तरीय हुन सकेन।

विस्तारै कोरोना संक्रमण ‘मत्थर’ हुँदै गएपछि भने काठमाडौं उपत्यकाका स्थानीय तहले निश्चित मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने वातावरण बनायो। १० असोजमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्न अनुमति दिएको थियो।

लामो समयसम्म अनलाइनबाट पढिरहेका र विद्यालय नदेखेका विद्यार्थी विद्यालय जान पाउने भएका हुन्। कोरोनाबाट भौतिक रूपमा पठनपाठन बन्दा हुँदा अनलाइन कक्षा नै विद्यार्थी सिकाइको विकल्प थियो। तर काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयले यो बीचमा अनलाइन कक्षा पनि चलाउन सकेन। जसका कारण विद्यार्थी स्वयं पढ्न बाध्य भए। कोरोना संक्रमणको पहिलो लहर र त्यसपछि लगाइएको लकडाउनका बेला यस विद्यालयले अनलाइन पठनपाठन शुरु गरेको थियो।

तर त्यसमा आधाभन्दा कम विद्यार्थी सहभागी भएका विद्यालयले जनाएको छ। प्रभावकारी नभएको भन्दै विद्यालयले दोस्रो पटकको कोरोना संक्रमणको लहरमा  अनलाइन कक्षा सञ्चालन नै नगरेको विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले जानकारी दिए।

यस विद्यालयमा कक्षा १० मा ६४० विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक शर्मा  भन्छन्, “कोभिड १९ का कारण विद्यार्थी संख्या घट्यो।“ उनका अनुसार अघिल्लो शैक्षिक सत्रमा कक्षा १० मा ७४९ जना विद्यार्थी भर्ना भएका थिए।

ब्रह्म टोलस्थित सरस्वती निकेतन माविले भने काठमाडौं महानगरपालिकाले विद्यालय खोल्न निर्देशन दिएपछि नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्‍यो। अनलाइनको पहुचँमा नभएका विद्यार्थी विद्यालय सञ्चालन भएपछि उत्साहित भएर पढ्न आएका सरस्वती निकेतन माविकी प्रध्यानाध्यापक रविना महर्जनले बताइन्।

उक्त विद्यालयमा कक्षा १० मा ६०० विद्यार्थी रहेका उनले जानकारी दिइन्। यस्तै लतिलपुरको सैंबुस्थित महांकाल प्राविले पनि भौतिक रुपमा कक्षा सञ्चालन गरेको छ। उक्त विद्यालयमा कक्षा ५ सम्म ७५ जना विद्यार्थी रहेका प्रध्यानाध्यापक राजेश महर्जनले जानकारी दिए।

डिल्लीबजारस्थित पद्मकन्या माध्यामिक विद्यालय र प्रदशनीमार्गस्थित पद्मोदय माविले भने अहिले पनि अनलाइन कक्षा नै चलाइरहेका छन्। उनीहरूले छठ पर्वपछि मात्र विद्यालय सञ्चालन गर्ने बताएका छन्।

ललितपुर जिल्लाले विद्यालय सञ्चालनसम्बन्धी मापदण्ड, २०६८ अनुसार भौतिक रूपमा दशैंअघि नै विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो। अनुमति पाएपछि विद्यालय खोलेको पाटन माविले दशैंपछि कक्षा सञ्चालन गरेको छैन। उक्त विद्यालयले पनि छठपछि मात्र कक्षा सञ्चालन गर्ने जनाएको छ।

काठमाडौंका विद्यालय खुलेनन्

काठमाडौं महानगरपालिकाले १० असोजदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा विद्यालय सञ्चालन भएका छैनन्। महानगरले भौतिक दूरी र जनस्वास्थ्य मापदण्ड पालना गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ सञ्चालन गर्ने अनुमति दिएको थियो।

अहिले ७० प्रतिशत विद्यालय मात्र सञ्चालनमा आएका महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। काठमाडौंमै विद्यार्थी नभएपछि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरेको उनको भनाइ छ।

विद्यार्थी अनलाइनको पहुँचमा नभएकाले केही विद्यालयले भने छठपछि सञ्चालन गर्न लागेका उनले जानकारी दिए। काठमाडौं महानगरभित्रका कतिपय विद्यालयले अनलाइन कक्षासमेत सञ्चालन गर्न सकेका छैनन्।

ललितपुरमा पनि खुलेनन् सबै विद्यालय

त्यस्तै लतिपुरमा पनि १ असोजमा विद्यालय खोल्ने अनुमति दिइए पनि यस महानगरका सबै विद्यालय खुलेका छैनन्। यहाँका केही विद्यालय आंशिक रुपमा सञ्चालन भइरहेका ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र केसीले जानकारी दिए।

केसीले भने, “नगरपालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू चाडपर्व मनाउन अन्य जिल्ला गएकाले केही विद्यालयले छठपछि मात्र विद्यालय खोल्ने निर्णय गरेका छन्।”

दशैंअघि सञ्चालनमा आएका केही विद्यालयले पनि एकैपटक छठपछि मात्र विद्यालय खोल्ने निर्णय गरेका उनले जानकारी दिए। भक्तपुर नगरपालिकाले भने १० कात्तिकबाट विद्यालय खोल्ने निर्णय गरेको छ। नगरपालिकाले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाचाँ २०७७’ अनुसार बुधबारबाट भौतिक उपस्थितिमा प्रथम त्रौमासिक परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved