श्रम समस्या समाधानमा केन्द्रित रहेर आबुधाबीमा कुटनीतिक भेटघाट

भेटमा मन्त्री श्रेष्ठले यूएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा यूएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका छन्।

नेपालभ्युज

श्रम समस्या समाधानमा केन्द्रित रहेर आबुधाबीमा कुटनीतिक भेटघाट
फाइल तस्वीर

काठमाडौं। आबुधाबी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले यूएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा यूएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका छन्।

भेटमा नेपाल- यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना बिस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आबुधाबीमा अन्य कुटनीतिक भेटघाट
आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधाबीमा अन्य कूटनीतिक भेटवार्ता पनि गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेबिया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।

यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण तथा रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved