निर्यातमा विदेशी वस्तुकै भर

नेपालको बैदेशिक व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रुपैयाँ पुगेको देखिएको छ।

नेपालभ्युज

निर्यातमा विदेशी वस्तुकै भर

काठमाडौं। सरकारले बढ्दो वैदेशिक व्यापार घाटालाई कम गर्न आयातलाई निर्यातले प्रतिस्थापन गर्ने नीति लिएको छ। झिनो अंकले निरन्तर निर्यात बढ्दै गएको जस्तो पनि देखिन्छ, तर यथार्थमा स्वदेशी उत्पादनको निर्यात भने बढेको देखिन्न।

विदेशबाट कच्चा भटमास आयात गरेर त्यसैलाई प्रशोधन गरी निर्यात गर्दा थोरै निर्यात बढे जस्तो देखिन्छ। डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा उनले आयात रोक्न करमा ठूलो बृद्धि गरी निर्यातयोग्य बस्तुको कच्चा पदार्थमा भन्सार छूट दिने निर्णय गरे। व्यापारीले त्यसको फाइदा उठाउँदै कच्चा पाम आयात गरी भारतीय बजारमा निर्यात गर्न थाले। त्यसैको प्रभावस्वरुप बढ्दै गएको निर्यात त्यतिबेला खस्कियो जतिबेला भारतले पाममा प्रतिवन्ध लगायो।

भारतले २०७६ पुसमा पाम आयात गर्न बन्द गरेपछि उत्पादनमुखि भन्दा पनि प्रशोधनमुखि नेपालको व्यापार खस्कियो। तर केही समयपछि त्यसको स्थान भटमासको तेलले लियो। व्यापारीहरूले पामको सट्टा कच्चा भटमास आयात गरेर त्यसैगरी भारतमा निकाशी गर्न थाले। जसको परिणाम आज सुधारोन्मुख भनिएको नेपालको निर्यात व्यापारमा ३४ प्रतिशत हिस्सा भटमासको तेलको मात्रै छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कुल ६५ अर्ब ५ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा २२ अर्ब दुई करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । नेपालबाट निर्यात हुने वस्तुमा भटमासको तेल शीर्षस्थानमा छ।

यो अवधिमा निर्यातको दोस्रो नम्बरमा रहेको गलैंचाको निर्यात भने दुई अर्ब २४ करोड रुपैयाँ मात्र रहेको छ भने त्यसपछि जुटका कपडाको निर्यात एक अर्ब ८७ करोड रुपैयाँको भएको देखिएको छ।

सार्वजनिक तथ्यांक अनुसार चालू आवको पहिलो तीन महीनामा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको छ। अघिल्लो आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब रहेको वैदेशिक व्यापार बढेर पाँच खर्ब ४३ अर्ब रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाएको छ।

यस त्रैमासमा आयात ६४ प्रतिशतले बढेको देखिएको छ। साउन, भदौ र असोजमा मात्रै नेपालमा चार खर्ब ७८ अर्ब रुपैयाँको माल भित्रिएको तथ्यांकमा उल्लेख छ। यस अवधिमा सबैभन्दा बढी २३ अर्ब ३२ करोड रुपैयाँको डिजेल आयात भएको छ, जुन कुल आयातको करीब ३० प्रतिशत हो। यस्तै त्यसपछि  मोबाइल १७ अर्ब र पेट्रोल १२ अर्ब ८६ करोड रुपैयाँको भएको देखिएको छ।

यससँगै नेपालको बैदेशिक व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रुपैयाँ पुगेको देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved