पहिलो चरणमा ४८ कामदार कोरिया गए, मलेसियामा पनि रोजगारीको बाटो खुल्यो

नेपालभ्युज

पहिलो चरणमा ४८ कामदार कोरिया गए, मलेसियामा पनि रोजगारीको बाटो खुल्यो

काठमाडौं। कोरोना माहामारीका कारण २० महीनादेखि रोकिएको ईपीएस पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया शुरु भएको छ। बुधबार पहिलो चरणमा कोरियाबाट फर्किएर यतै रोकिएका ४८ जनालाई कोरिया पठाइएको छ।

ईपीएस प्रणालीबाट कामदार पठाउने रोकिएको प्रक्रिया पूरा गरी पुन: पठाउन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए।

यस चरणमा एकपटक कोरिया गएर बिदामा फर्किएका ११९ जनालाई पठाउन लागिएकोमा ईपीएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका सबै श्रमिकलाई विस्तारै पठाउँदै जाने उनले बताए।

‘‘पहिलो दिन ५० जनालाई पठाउने भनिएकोमा भिसा प्रक्रियामा समस्या आएपछि दुई जनालाई पछि पठाइनेछ,” उनले भने, ‘‘अन्य कामदारलाई पनि दुवै मुलुकबीच समन्वय गरेर अगाडि बढ्छौँ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ईपीएस परीक्षा पास गरेका १० हजार श्रमिक कोरिया जान पर्खेर बसेका छन्।

यस्तै नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियामा पनि रोजगारीको बाटो खुलेको छ। काडमाडौंस्थित मलेसियन राजदूतावासले विज्ञप्ति निकाल्दै महामारीका कारण लगाइएको प्रतिवन्ध हटाइएको जनाएको छ।

मलेसियामा सिन्डिकेट प्रकरणका कारण २०७५ जेठदेखि रोकिएको श्रम इजाजत २०७५ चैतदेखि खुलेको थियो। तर चीनको वुहानबाट २०१९ डिसेम्बरदेखि शुरु भएको कोभिड महामारी विश्वव्यापी बनेपछि श्रम इजाजत खुलेको एक वर्ष नपुग्दै पुन: बन्द भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved