बागमतीको नयाँ मुख्यमन्त्रीका लागि बिहीबार साँझ तीन बजेसम्म दाबी पेश गर्न आह्वान

नेपालभ्युज

बागमतीको नयाँ मुख्यमन्त्रीका लागि बिहीबार साँझ तीन बजेसम्म दाबी पेश गर्न आह्वान
फाइल तस्वीर

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नयाँ मुख्यमन्त्रीका लागि बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश मुख्यमन्त्रीको कार्यालयले कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा प्रतिनिधिलाई दावी पेशका लागि आह्वान गरेको हो।

नेकपा एमालेभित्रको विवादका कारण पार्टी विभाजनको स्थिति आएपछि एकाताका लागि डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन्। संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेमा उनी मुख्यमन्त्री बनेको १३ दिनमै अल्पमतमा परेकी थिइन्। उनले विश्वासको मत लिन गत २५ असोजमा प्रस्ताव दर्ता गरेकी थिइन्। प्रस्ताव दर्ता गराएसँगै कात्तिक ३ गतेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेकी थिइन्। प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुका कारण नै उनको सत्ता लम्ब्याउने प्रयास थियो।

विश्वासको मत नपाउने अवस्था आएपछि बुधबार बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको चौंथो बैठकमा विश्वासको मत लिनुअघि नै उनले पदबाट राजीनामा दिएकी हुन्। उनको राजीनामासँगै प्रदेश प्रमुखको कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावीका लागि आह्वान गरेको हो।

बागमती प्रदेशसभामा सभामुखसहित १०९ सांसद छन्। जसमध्ये एमालेसँग ४३, कांग्रेससँग २२, नेकपा माओवादीसँग २३ र एकीकृत समाजवादीको १३ मत छ। यसैगरी विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत रहेको छ।

विपक्षी गठबन्धनले यसअघि नै नेकपा(एस) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ। गठबन्धनमा ९ महीना पाण्डे र त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने गरी सहमति भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved