कार्यकाल उपलब्धिमूलक भएको दाबी गर्दै शाक्यले दिइन् राजीनामा

नेपालभ्युज

कार्यकाल उपलब्धिमूलक भएको दाबी गर्दै शाक्यले दिइन् राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्।

शाक्यले आज विश्वासको मत लिने कार्यक्रम थियो। उनले आज १ बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको चौंथो बैठकमा विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन्।

“हामीले संसदको गरिमा जोगाउन संघीयता आवश्यक छ। त्यसैले हामी एक ठाउँमा रहनुपर्छ,” राजीनामा दिने क्रममा लामो भूमिका राखेर प्रदेशसभालाई सम्बोधन गरेकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने यही माध्यम नै उपयुक्त लागेको तर्क गरिन्। उनले भनिन्, “मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेको छु। मलाई विश्वास छ, यही तरिकाबाट एकअर्कामा सहयोग गरौं। यही बाटोबाट यसरी जाँदा सबैभन्दा राम्रो हुन्छ, मैले मार्गप्रशस्त गरेको छु।”

शाक्यले सम्बोधनका क्रममा बागमती प्रदेश र यसको विकासका लागि सबैजना दलभन्दा माथि उठेर काम गर्नुपर्ने अहिले आवश्यकता भएको बताइन्। आफ्नो राजनीतिक यात्रा र लोकतन्त्रका लागि आफूले गरेको योगदानबारे पनि उनले बताइन्।

“२०३६ सालमा पढाइ छाडेर, घर छाडेर लोकतन्त्रका लागि परिवर्तनका लागि सबै छोडेर होमिएर अगाडि बढेको थिएँ। मलाई त्यो दिन झलझलती याद आउँछ। त्यो त्याग र बलिदान खेर गएको छैन। त्यसैले यो ठाउँमा आइपुगेका छौं,” उनले सम्बोधनका क्रममा भनिन्, “दुःख कष्टका दिन दन्त्यकथा जस्तो लाग्छ। कसरी पार गरेर आइयो होलाजस्तो लाग्छ। श्रमजीवी जनताको घरमा बसेर निरकुंश व्यवस्था हटायौं। त्यसैले आज हामी गर्व गरिरहेका छौं। अहिले पनि कतै कतै लाग्छ, दुःख गरेको त्याग गरेको खेर नजाओस्। यो हैसियतका लागि पदका लागि हैन।”

आफूले राजनीति गर्ने क्रममा कतिपय समकालीन साथीहरूले बलिदानी पाएका भन्दै उनले त्यो बलिदानको घडीमा चढेको भए अहिले यसरी भेट हुन नसक्ने बताएकी थिइन्। तर उनले अहिले देखिएको असमझदारीप्रति भने निराशा व्यक्त गरिन्। “जुन लक्ष्यका साथ अगाडि बढेको छौं, आज प्राप्त गर्ने दिशामा अगाडि बढेका छौं त?”, उनले प्रश्न गरिन्।

उनले भन्दै गइन्, “त्यसैले यसलाई चानचुने रूपमा नलिऔं। यो परिवर्तनलाई आत्मसात गर्नुपर्छ। पहिलोपटक यो भूमिका आएकाले बागमती प्रदेशलाई नमुना प्रदेश बनाएर हामीले नै देखाउनुपर्छ।

बागमती प्रदेशमा बेरुजु नभएको उनको दाबी थियो। सरकारले मितव्ययी काम गरेको उनले ठहर गरिन्। नमुना प्रदेशको रूपमा बागमतीलाई विकास गर्ने हो भने बागमतीमा सत्ता र प्रतिपक्ष एक भएर लाग्नुपर्ने उनले सुझाव पनि दिइन्। परम्परागत ढंगले सोचेर नपुग्ने भन्दै उनले सबै मिल्नुको विकल्प नभएको बताइन्। “यो पुरानो सोच र संस्कार त्याग्नै पर्छ। नत्र नयाँ नेपालको कन्सेप्ट दिनै पर्छ,” उनले बताइन्।

सबैले आफ्नो कार्यकालमा सघाएको भन्दै उनले अन्तिममा आफ्नो कार्यकाल उपलब्धिमूलक रहेको दाबी पनि गरिन्। साथै सबैले बागमतीलाई राम्रो प्रदेश बनाउनुपर्ने र आफ्नो कार्यकाललाई सघाउने सबैप्रति हृदयदेखि धन्यावाद दिइन्।

अब अर्को बैठक सूचना नभएसम्म स्थगित गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved