आबुधाबी डायलगमा श्रममन्त्रीको सम्बोधनः श्रमिकलाई आर्थिक सहयोगदेखि निशुल्क उपचारसम्म

आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्।

नेपाल भ्यूज

आबुधाबी डायलगमा श्रममन्त्रीको सम्बोधनः श्रमिकलाई आर्थिक सहयोगदेखि निशुल्क उपचारसम्म
फाइल तस्वीर

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन्।

१६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागी आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने प्रस्ताव गरेका छन्।

मन्त्री श्रेष्ठले आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान, बस्न व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्।

सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान बिन्दुमा निशुल्क पीसीआर परीक्षण, निशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका छन्।

आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो।

आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ। १२ कात्तिकसम्म संचालन हुने डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved