जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ

नेपालभ्युज

जुवातास खेलिरहेका पाँच युवा नगदसहित दिक्तेलबाट पक्राउ
सांकेतिक तस्वीर

खोटाङ।  जिल्ला प्रहरी कार्यालय खोटाङले जुवातास खेलिरहेको अवस्थामा दिक्तेलबजारबाट पाँच युवालाई पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा भाडा लिएर बसेका हीराधन राईसहित पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय वसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए। तासको खालबाटै रङ्गेहात पक्राउ परेका उनीहरूका साथबाट नगद ७१ हजार २० र एक बुङ ताससमेत बरामद गरिएको प्रनाउ लम्सालले जानकारी दिए।

पक्राउ परेका पाँचै जना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ। जुवातास खेलिरहेको भन्ने प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले हीराधनको कोठाबाट उनीहरूलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाड लक्षित सुरक्षा सतर्कतालाई कडाइका साथ पालना गरेको छ। चाडबाडको समयमा जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भीडभाड हुने स्थानहरूमा प्रहरी गस्ती टोली परिचालन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved