पौडीमा राष्ट्रिय कीर्तिमानसहित विश्व च्याम्पियनसिपमा छनोट भए नासिर

कीर्तिमानसँगै नासिर कुल ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भए। दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन एलेक्जेण्डर शाह पनि छनोट भएका छन्।

नेपाल भ्यूज

पौडीमा राष्ट्रिय कीर्तिमानसहित विश्व च्याम्पियनसिपमा छनोट भए नासिर

काठमाडौं। नासिर हुसेन पौडीमा नयाँ राष्ट्रिय कीर्तिमानसहित अबुधाबीमा आयोजना हुने १५ औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट भएका छन्।

नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टाइलमा १ मिनट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। यसअघि यो स्पर्धाको राष्ट्रिय कीर्तिमान ओलम्पियन एलेक्सजेण्डर शाहको नाममा थियो।

एलेक्सजेण्डरले २ मिनट ००.०४ सेकेण्डको कीर्तिमान २ वर्षअघि काठमाडौंमा आयोजना भएको १३ औँ दक्षिण एशियाली खेलकुद अन्गर्ततको पौडी प्रतियोगितामा बनाएका थिए, जसलाई नासिरले तोडेका हुन्।

कीर्तिमानसँगै नासिर कुल ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भए। दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन एलेक्जेण्डर शाह पनि छनोट भएका छन्।

नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पिकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका सिंहलाई निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागी भइरहेको तथा फिना अंकको निकट समयलाई कायम राखेको आधारमा विश्व च्याम्पियनसिपमा छनोट गर्ने निर्णय गरेको हो।

तर, गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा विदेशमा रहेका कारण विश्व च्याम्पियनसिपमा सहभागी हुन नसक्ने पौडी संघले जनाएको छ। महिलातर्फ भने अनुशिया तण्डुकार र उपास्ती महर्जन विश्व च्याम्पियनसिपको लागि छनोट भएका छन्।

अनुशिया १०० मिटर फ्रिस्टाइलमा १ मिनेट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्ती ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंक जोड्दै छनोट हुन सफल भएका हुन्।

छनोटको क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे। उनले उक्त दूरी ५९.१० सेकेण्डमा पूरा गर्दै नयाँ रेकर्ड बनाए।

यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो। शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान राखेका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved