नुवाकोट। नुवाकोटमा शनिबार कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन्। योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ। जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो चौबिस घण्टामा नयाँ सङ्क्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन÷तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन्।
नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्ने क्रममा रहेको र १२ मध्ये पाँच वटा पालिका सङ्क्रमणमुक्त भएको तथा सङ्क्रमित पहिचान १० प्रतिशतको हाराहारीमा रहेको थियो। आज एकै दिन धेरै सङ्ख्यामा कोरोनाको नयाँ सङ्क्रमित पहिचान भएको हो।
प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँच जनामा तीन जनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ। धेरै सङ्ख्यामा कोरोनाको भाइरस देखिएसँगै दोहोर्याएर गरिएको जाँचमा समेत सोहीअनुसारको नतिजा आएसँगै रोगको सङ्क्रमण पुनः समुदायमा व्यापकरुपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ।