कांग्रेसमा शीर्ष नेताहरूको ‘काउन्टर’ दौडधुप

कांग्रेसमा पछिल्ला दिन पार्टीभित्रै काउन्टर दिने गरी गतिविधिहरू भइरहेका छन्। एक पक्षले गरेको क्रियाकलाप पार्टीभित्रकै अर्को पक्षले पनि दोहोर्‍याएको देखिन्छ।

कांग्रेसमा शीर्ष नेताहरूको ‘काउन्टर’ दौडधुप

काठमाडौं। शनिबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिममा आएको बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न पुगेका छन्।

पौडेल शनिबार बिहान धनगढी पुगेका हुन्। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारै सुदूरपश्चिमबाट फर्किएका थिए। बिहीबार देउवा सुदूरपश्चिम पुगेका हुन्।

दुई दिन त्यहाँ रहँदा देउवाले विभिन्न जिल्लामा बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुका साथै सरकारी अधिकारीहरू र स्थानीय तहका जनप्रतिनिधिसँग क्षतिबारे जानकारी लिएका थिए।

देउवाकै निर्वाचन क्षेत्र भएकाले उनी एक रात सुदूरपश्चिममै बसे। उनीसँग त्यही क्षेत्रका कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद, वीरवहादुर वलायरलगायत नेता थिए। यी सबै नेताहरू देउवा पक्षका हुन्।

देउवा त्यहाँबाट फर्केको २४ घन्टा पनि नबित्दै वरिष्ठ नेता पौडेल शनिबार त्यहाँ पुगेका थिए।

त्यसैगरी सभापति तथा प्रधानमन्त्री देउवाले आफूनिकट पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा तीन सदस्यीय टोली भारत पठाएका थिए। २१ असोजदेखि २४ असोजसम्म महत नेतृत्वको टोली सतारुढ भारतीय जनता पार्टी(भाजपा)को निमन्त्रणमा दिल्ली, लखनउ र बनारस पुगेको थियो।

उक्त भ्रमणलाई काउन्टर दिनेगरी कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि आफूनिकटसहित शनिबार भारत गएका छन्। उनीसँग तीन जना नेता छन्। भैरहवाबाट मुम्बई पुगेका महामन्त्री कोइराला दिल्ली हुँदै फर्कने कार्यक्रा छ।

महामन्त्री कोइरालाको टिमले त्यहाँ उपचारार्थ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने जनाइएको छ। कांग्रेसको १४ औं महाधिवेशनको रस्साकस्सी चलिरहँदा महामन्त्री कोइरालाले आफूनिकट केही नेतासहित भारत जानुलाई अर्थपूर्ण मानिन्छ।

कांग्रेसमा पछिल्ला दिन पार्टीभित्रै काउन्टर दिने गरी गतिविधिहरू भइरहेका छन्। एक पक्षले गरेको क्रियाकलाप पार्टीभित्रकै अर्को पक्षले पनि दोहोर्‍याएको देखिन्छ।

दशैंको घटस्थापनाको पूर्वसन्धयामा कांग्रेस उपसभाति विमलेन्द्र निधि गृहनगर जनकपुर पुगेका थिए। दशैंभर जनकपुर बसेका निधिले धनुषा र महोत्तरीमा क्षेत्रगत रूपमै आफ्ना पक्षका नेताहरू भेला पारेर कार्यक्रम गरेका थिए।

दशैंको टीका सकिएपछि जनकपुरबाट काठमाडौं निधि फर्किए। निधि फर्किएलगत्तै गृहमन्त्री तथा देउवानिकट बालकृष्ण खाँडको जनकपुर जाने कार्यक्रम सार्वजनिक भयो। खाँडबाहेक अर्का कांग्रेस नेता प्रकाशमान सिंह पनि जनकपुर जाने कार्यक्रम आयो।

तर अघिल्लो हप्ता अचानक आएको बाढीपहिरोले सुदूरपश्चिमसहित देशभर व्यापक क्षति पुर्‍यायो। गृहमन्त्री खाँडले जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम पछि सारे।  उनले जनकपुर पुगेर केही दिन त्यस क्षेत्रमा बिताउने योजना बनाएका थिए।

यसरी नेताहरूले एकले अर्कालाई काउन्टर भ्रमणको योजना बनाउनु र भ्रमण गर्न थाल्नुलाई कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ दलहरूमा राजनीतिक संस्कार ह्रास हुँदै गएको बताउँछन्। यसले राजनीतिक सदभाव नै समाप्त हुन लागेको उनको टिप्पणी छ।

“शीर्ष तहका नेताहरू जिल्ला भ्रमणमा जानु हुँदैन भन्ने हुँदै होइन, तर यसले पार्टीमा राजनीति सदभाव रहेको अनुभूति हुँदैन,” गुरुङले नेपालभ्यूजसँग भने, “संगठन बलियो बनाउने ध्येय कसैको छैन”, उनी भन्छन्, “आफू कसरी बलियो हुनेमा सबै दोडिरहेका छन्।”

पार्टीका शीर्ष नेताहरूको यसरी जिल्ला दौडाहा गर्दा पार्टीले भने उनीहरूको कुनै किसिमको जानकारीसमेत राख्ने गरेको छैन। सभापतिदेखि अन्य पदाधिकारी होस् वा केन्द्रीय नेताहरू, सबै आआफ्नै गुट बोकेर लावालस्करसहित जिल्ला जिल्ला भ्रमण गरिरहेका छन्।

बिहीबार आफ्ना समूह प्रधानन्त्री देउवा बाढी पहिरोको निरीक्षणमा सुदूरपश्चिम जाँदा पौडेल खेमाका कानुनमन्त्री दिलेन्द्र बडू त्यहाँ थिएनन्। बडू छुट्टै भ्रमणमा निस्किएका थिए। दुई दिनसम्म सुदूरपश्चिममा देउवा रहँदा उनी त्यहाँ थिएनन्। शनिबार उनले कञ्चनपुरमा छुट्टै पत्रकार सम्मेलन गरी बाढीपहिरोबाट पीडितहरूका लागि राहत घोषणा हुने बताएका छन्।

कांग्रेसमा १४ औं महाधिवेशनको रन्कोले छोएसँगै शीर्षदेखि अन्य केन्द्रीय नेताहरूको बाक्लै दौडधूप देखिन थालेको छ। तर उनीहरूले यसरी जिल्ला जिल्ला भ्रमण गर्दा एकले अर्कालाई काउन्टर दिन छाडेका छैनन्।

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा भएको क्रियाशील सदस्यता विवादमा पनि वरिष्ठ नेता पौडेलदेखि केन्द्रीय सदस्यहरू शेखर कोइराला त्यहाँ पुगेर देउवालाई काउन्टर दिएका थिए। देउवाले त्यसको बदला २४ असोजमा पोखरा गएर वरिष्ठ नेता पौडेलसँग लिएका कांग्रेस वृतमा चर्चा छ।

केही दिनअघि प्रदेश साक्षर अभियानमा पोखरा गएका देउवाले त्यहाँ पार्टीका स्थानीय नेता कार्यकर्तासँग छलफल र संवाद गरेका थिए। देउवाले पोखरामा एक रात बिताएका थिए। त्यही क्षेत्रका पौडेललाई उनले कार्यक्रममा सहभागी गराएनन्।

अर्का कांग्रेस केन्द्रीय सदस्य गोविन्द भटराई पनि शीर्ष तहमा पार्टीको आन्तरिक कुरालाई लिएर भइरहेको सार्वजनिक टीकाटिप्पणी राजनीतिक संस्कारभन्दा बाहिर हुँदै गएको बताउँछन्।

“पार्टीमा पहिला पनि आन्तरिक द्वन्द्व नभएको होइन”, भटराईले भने, “तर पछिल्ला केही समय यता भइरहेका गतिविधि सकारात्मक छैनन्।” शीर्ष नेताहरूको जिल्ला भ्रमणभन्दा पनि सार्वजनिक रूपमा उनीहरूले दिइरहेका अभिव्यक्तिले पार्टीले गम्भीर क्षति पुर्‍याइरहेको भट्टराईको विश्लेषण छ।

“महाधिवेशनका बेला जिल्ला भ्रमणमा शीर्ष नेताहरू जाने कुरा सामान्य नै हो”, भटराई थप्छन्, “तर उहाँहरूले पार्टीको आन्तरिक बैठकमा उठाउनुपर्ने कुराहरू पनि सार्वजनिक रुपमा दिइरहनुभएको छ।”

कांग्रेस आन्तरिक द्वन्द्वमा सधैं रहे पनि नेताहरूको पछिल्लो समय विकसित व्यवहारले पार्टीलाई लागातार क्षति पुर्‍याइरहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved