धूम्रपान नगर्नेलाई पनि हुन्छ फोक्सोको क्यान्सर

हालको विश्वव्यापी तथ्यांक हेर्ने हो भने महिलाभन्दा पुरुषले सूर्तिजन्य पदार्थको सेवन बढी गरेको पाइन्छ। त्यसैले महिलाभन्दा धेरै पुरुषमा फोक्सो क्यान्सर देखिएको छ।

नेपालभ्युज

धूम्रपान नगर्नेलाई पनि हुन्छ फोक्सोको क्यान्सर
सांकेतिक तस्वीर

फोक्सोको कोषिकाहरू अनियन्त्रित वृद्धि भई अन्य अंग मुटु, कलेजोलगायत अन्य भागमा फैलिनुलाई फोक्सो क्यान्सर भनिन्छ।

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांकअनुसार विश्वमा फोक्सोको क्यान्सरबाट प्रत्येक वर्ष १८ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये १४.५ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला छन्।

फोक्सो क्यान्सर हुनुको मुख्य कारण धुम्रपान अर्थात सूर्तीजन्य पदार्थको सेवन गर्नु हो। ८० प्रतिशत फोक्सो क्यान्सर धूम्रपानले हुने गरेको अनुसन्धानले देखाएको छ ।

कुनै व्यक्तिले आफैँ धुम्रपान नगरे पनि धूम्रपान गर्ने व्यक्तिको नजिकै बस्नाले पनि क्यान्सरको जोखिम बढाउँछ। त्यस्तै दाउरा बाल्दा आउने धुवाँले पनि फोक्सो क्यान्सर गराउन सक्छ। इँट्टाभट्टामा काम गर्ने व्यक्तिमा पनि फोक्सो क्यान्सरको जोखिम हुन्छ।

फोक्सो क्यान्सरले महिला र पुरुषलाई भेदभाव गर्दैन। सूर्तीजन्य पदार्थ सेवन गर्ने सबैलाई क्यान्सरको सम्भावना बढी हुने गर्छ। हालको विश्वव्यापी तथ्यांक हेर्ने हो भने महिलाभन्दा पुरुषले सूर्तिजन्य पदार्थको सेवन बढी गरेको पाइन्छ। त्यसैले महिलाभन्दा धेरै पुरुषमा फोक्सो क्यान्सर देखिएको छ।

धूम्रपान नगर्ने व्यक्तिमा फोक्सो क्यान्सर हुँदैन भन्ने होइन। सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा भन्दा सूर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिमा हुने क्यान्सरको प्रकृति फरक हुन्छ। सूर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिलाई क्यान्सर भए उपचार गर्न सहज हुन्छ।

सूर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिमा हुने क्यान्सरलाई एड्रेनल कार्सिनोमा भन्ने गरिन्छ। यस्तो अवस्थामा किमोथेरापी नदिएर ट्याबलेट दिएर उपचार गर्न सकिन्छ।

लक्षण

लामो समयसम्म खोकी लागिरहनु

खकारमा रगत देखापर्नु

तौल घट्ने

स्वर सुक्ने

घोक्रो सुक्ने

उपचार

क्यान्सर उपचारमा तीन तरिका शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी अपनाइन्छ। शुरुको अवस्थामा क्यान्सर थाहा पाए शल्यक्रिया गरे निको हुन्छ।

चरणअनुसार बढ्दै गएमा रेडियोथेरापी दिइन्छ। त्योभन्दा माथिल्लो चरण अर्थात् शरीरको अन्य भागमा फैलिएको छ भने शल्यक्रिया र रेडियोथेरापी दिन नमिल्ने अवस्थामा किमोथेरापी दिने गरिन्छ।

जोखिम न्यूनीकरणका उपाय

सूर्तीजन्य पदार्थको सेवन नगर्ने

धुवाँ आउने स्थानमा भेन्टिलेसन प्रयोग गर्ने

धुलो आउने स्थानमा जाँदा मास्क प्रयोग गर्ने

                                                                                  (क्यान्सर रोग विशेषज्ञ अरुण शाहीसँग गरिएको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved