भारतद्वारा जयनगर-कुर्था सीमापार रेल खण्ड हस्तान्तरण

नेपालभ्युज

भारतद्वारा जयनगर-कुर्था सीमापार रेल खण्ड हस्तान्तरण

काठमाडौं। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर-कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेनुकुमारी यादवले सहभागिता जनाएका थिए।

समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो।

कार्यक्रममा भौतिक मन्त्री यादवले यही अङ्ग्रेजी वर्ष भित्र रेल सञ्चालनमा आउने बताइन्।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ दशमलव ९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ।

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ दशमलव ७७ अर्ब रुपैयाँमा निर्माण भएको ३४ दशमलव ९ किलोमिटर जयनगर-कुर्था खण्ड ६८ दशमलव ७२ किलोमिटर जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्गकै एक हिस्सा हो।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो। जयनगर-कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ।

एकपटक सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुने जनाइएको छ। यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरूलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ।

सीमापार रेल सञ्जाल भारत-नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष भएको र जसमा जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्ग र १८ दशमलव ६ किलोमिटर जोगबनी-विराटनगर रेलमार्ग समाविष्ट छन्। यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायता अन्तर्गत निर्माण भएका विज्ञप्तिमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved