लालबन्दीमा निर्मित सबस्टेशनबाट सेवा शुरु, बिजुली समस्या अन्त्य!

लालबन्दीमा निर्मित सबस्टेशनबाट सेवा शुरु, बिजुली समस्या अन्त्य!

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका-१ मा निर्माण गरिएको १३२/३३ केभीए सबस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह शुरु गरेको छ। आयोजना करिब ४७ करोडको लागतमा निर्माण गरिएको हो।

लालबन्दी नगरपालिका-१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सबस्टेशन निर्माण गरिएको जनाइएको छ।

सबस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरूलाई खुशी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताए। कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरूले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताए।

ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न शुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह शुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताए। उनका अनुसार समयमै काम सकेर दशैंदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकामा लकडाउनका कारण समस्या परेको र अबको एक महीनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि विद्युत् प्रवाह भने आजैबाट शुरु भएको छ।

सबस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलंगवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ थियो। जिल्लाका तीन वटै सबस्टेशन ३३/११ केभीएका मात्र रहेका कारण समस्या हुँदै आएको थियो। अब यो सबस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ।

अहिले तीनवटै सबस्टेशनलाई धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सबस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सीधै र हरिपुर र मलंगवाका सबस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ।

बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो। त्यही समस्या समाधान गर्न जिल्लामै सबस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताए। यो सबस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ। उनका अनुसार हरिपुर र मलंगवा सबस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ देखि सबस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो।

कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम आव २०७८/०७९ भित्रै सम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताए।

जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्‍याउन सबस्टेशन निर्माणको काम गरिएको र अबको करीब एक महीनामा निर्माण सम्पन्न हुने उनको भनाइ थियो। सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved