प्रचण्डको सुकुटे साइनो

खुला राजनीतिमा आएपछि दर्जनौँ पटक उनी सुकुटे पुगेका छन्। राजनीतिक प्रतिवेदन लेख्न होस् अथवा कुनै विशेष महत्वको निर्णय लिन दुविधा हुँदा होस्, उनी सुकुटे पुग्ने गर्छन्।

नेपालभ्युज

प्रचण्डको सुकुटे साइनो

काठमाडौं। जब-जब पुष्पकमल दाहाल (प्रचण्ड) मानसिक रुपमा अत्यधिक थकित हुन्छन्, उनी सोझै सिन्धुपाल्चोकको सुकुटे पुग्छन्। सुकुटेले चर्चा प्रचण्डकै कारण पाएको हो। खुला राजनीतिमा आएपछि दर्जनौँ पटक उनी सुकुटे पुगेका छन्। राजनीतिक प्रतिवेदन लेख्न होस् अथवा कुनै विशेष महत्वको निर्णय लिन दुविधा हुँदा होस्, उनी सुकुटे पुग्ने गर्छन्।

सभामुख अग्नि सापकोटा मानसिक थकान मेट्न प्रचण्ड सुकुटे गएको हुनसक्ने बताउँछन्। सापकोटा सिन्धुपाल्चोकबासी हुन्। उनको घरमै पनि प्रचण्ड पुगेका छन्। २०६३ को दशैं मनाउन प्रचण्ड सापकोटाको घर गएका थिए। जुरेमा पहिरो जाँदा वा भुकम्पले सिन्धुपाल्चोकलाई थिलथिलो पार्दा उनी स्थलगत अवलोकनमा पुगेका थिए। यसबाहेक थुप्रै पटक उनी सिन्धुपाल्चोकको सुकुटे पुग्छन्।

“अध्यक्ष मानसिक रुपमा थकित भएको बेला सुकुटे आउने गर्नुहुन्छ”, सभामाुख सापकोटा भन्छन्, “प्रचण्डको अहिलेको सुकुटे यात्रा राजनीतिकभन्दा पनि पारिवारिक मुडफ्रेसका लागि मात्र जस्तो देखिन्छ।”

सिन्धुपाल्चोक जिल्ला पूर्वइन्चार्ज तथा विशेष समिति सह-इन्चार्ज केशव नेपाल प्रचण्ड र सिन्धुपाल्चक बीचको सम्बन्ध पुरानो भएको बताउँछन्। उनका अनुसार प्रचण्ड भौगोलिक रुपमा सिन्धुपाल्चोक जिल्लालाई माया गर्ने कारण पनि सुकुटे पुगिरहने गर्छन्। जनयुद्ध थाल्दा होस् या शान्ति प्रक्रियामा आएपछि पनि प्रचण्ड प्राय सिन्धुपाल्चोक जाने गरेका छन्। राजधानीबाट धैरै टाढापनि नभएको, वातावरणीय सुन्दरता र ट्रेकिङ, र्‍याफ्टिङ, स्विमीङ जस्ता सुविधाका कारण सुकुटे प्रचण्डको रोजाइ हुने गरेको छ।

कहिले चितवन, कहिले सुकुटे

पार्टीभित्र उत्तरचढाव आएका बेला कहिले सुकुटे त कहिले चितवन जाने र त्यहाँ पुगेर केही न केही नयाँ कुरा भन्ने प्रचण्डको शैली जस्तै बनेको छ। यसपटककाे प्रचण्डको सुकुटे यात्रा सम्भवत नेकपा विभाजन भएपछिको पहिलो हो।

नेकपामा रहँदा केपी ओलीसँग राजनीतिक रुपमा टकराव बढिरहेका बेला प्रचण्ड र ओलीबीच वार्ता हुन सकेको थिएन। ओली प्रचण्डबीच भएका ‘वान टू वान’ वार्ताले सहमतिको बिन्दुमा पहिल्याउन नसकेका बेला बोलाइएको स्थायी समितिको बैठक स्थगित गरेर प्रचण्ड चितवन पुगेका थिए। चितवनबाट सिधै हेलिकप्टरमार्फत सुकुटे झरेका थिए। सुकुटेबाट प्रचण्ड सिधै तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग वार्ताका लागि बालुवाटार पुगेका थिए। तर वार्ताबाट कुनै सहमति भने जुट्न सकेको थिएन।

त्यसअघि तत्कालीन नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा उम्मेद्वार बनाउने कि नबनाउने भन्ने विवाद चलिरहँदा पनि प्रचण्ड सुकुटे पुगेका थिए। त्यसबेला पूर्वअर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहने ओली र गौतमलाई राष्ट्रियसभामा लैजाने पक्षमा प्रचण्ड, माधब नेपाल र झलनाथ खनालबीच विवाद थियो।

यी केही उदाहरण मात्र हुन्। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा होस् या एकतापछि पार्टी भित्र आएका सामान्य विवादमा पनि प्रचण्ड सुकुटे पुग्ने गरेका थिए।

माओवादीबाट मोहन बैद्य वा बाबुराम भट्टराई छुट्टिनु अघि पनि प्रचण्ड सुकुटेमा रात बिताउने गर्थे। त्यति मात्र नभएर पार्टीको बैठकमा पेश गर्ने महत्वपूर्ण राजनीतिक प्रतिवेदन लेख्न पनि प्रचण्ड सुकुटे पुग्ने गरेका थिए।

परिवारसहित सुकुटे

प्रचण्ड हिजाे परिवारसहित सिन्धुपाल्चोकस्थित सुकेटे पुगेका छन्। हिजाे बिहान पार्टीको स्थायी समितिको बैठक बस्यो। बैठकले ३२ वटा विभागको नेतृत्व चयन गरेको थियो। बैठक सकिएपछि प्रचण्ड सुकुटेतर्फ हानिएका थिए। अपरान्ह ४ बजेतिर प्रचण्ड परिवारसहित सुकुटे पुगेका माओवादीका सिन्धुपाल्चोक जिल्ला पूर्वइन्चार्ज तथा विशेष समिति सह-इन्चार्ज केशव नेपालले जानकारी दिए।

यसपटक प्रचण्डको सुकुटे यात्रा राजनीतिक रुपमा कुनै महत्वपूर्ण निर्णय लिनका लागि भन्दा पनि पारिवारिक तनाव हटाउन अर्थात रिफ्रेस हुनका लागि केन्द्रित देखिन्छ। कारण दशैंको अवधिमा पत्नी सिता दाहालको स्वास्थ्यमा समस्या बढेको थियो। सीता दाहाल लामो समयदेखि बिरामी छिन्। साेही कारण पनि प्रचण्ड यो अवधिमा पारिवारिक रुपमा रिफ्रेस हुन सुकुटे पुगेका हुन्।

सुकुटे पुगेर प्रचण्डसहितको टोली भोटेकोशी बीच रिसाेर्टमा बसेको छ। प्रचण्डले भोटेकोशीमा र्‍याफ्टिङ समेत गरेका थिए। उनको साथमा माओवादीका नेता कृष्णप्रसाद सापकोटा र माधव सापकोटा ‘सुवोध’ तथा वाईसीएल पूर्वअध्यक्ष दीपशिखासमेत रहेका छन्।

राजनीतिक व्यस्थता जति नै रहेपनि पत्नीको स्वास्थ्यका कारण प्रचण्डले विगतमा भन्दा पछिल्लो समय प्रयाप्त समय दिने गरेको पारिवारिक श्रोतले जनाएको छ। नेता नेपालका अनुसार प्रचण्ड शुक्रबार अपरान्ह काठमाडौ फर्कने कार्यक्रम छ।


Comment

One thought on “प्रचण्डको सुकुटे साइनो

  1. प्रचण्ड र माधव नेपाल जस्ता कुमती,कुसंस्कारीहरुको तातो न छारोका गतिविधिहरु मात्र छाप्ने हो भने No Views Will be चेतना भया—

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved