हात्ती आतंकले सर्लाहीबासी हैरान

पछिल्लो केही महिनायता हात्तीले सर्लाहीका उत्तरी भेगमा जंगली हात्तीले आतंक फैलाइरहेको छ। बालीनाली मात्र नोक्सान गर्दै आएको हात्ती अहिले स्थानीयको घरघरमा पसेर अन्नबाली खानेदेखि घरै भत्काउनेसम्म गरिरहेको छ।

हात्ती आतंकले सर्लाहीबासी हैरान
फाइल तस्वीर

काठमाडौं । न त कुनै राष्ट्रिय निकुञ्जसँग जोडिएको जिल्ला, न कुनै आरक्ष क्षेत्रजस्ता घना जंगलको भएको क्षेत्र। र पनि सर्लाहीमा अघिल्लो वर्षदेखि जंगली हात्तीको आतंकले स्थानीयलाई दुःख दिन छाडेको छैन। पछिल्ला चार दिनयता जंगली हात्तीले सर्लाहीका उत्तरी भेगका स्थानीय तहमा आतंक नै मच्चाइरहेको छ।

जिल्लाको बागमती नगरपालिकाको शंकरपुर र राजघाट जंगल आसपासमा हात्ती पसेको र स्थानीयको घर भत्काउने, घरमा राखेको अन्न र खेतबारीमा लगाइएको बालीनाली नष्ट गरिरहेको छ।

हिजो बुधबार राति तीन वटा जंगली हात्तीले बागमती नगरपालिका–१० नयाँबस्तीमा एउटा घर भत्कायो। जंगली हात्तीले स्थानीय राजकिशोर मुखियाको घरमा क्षति पुर्‍यायो। हात्तीले घरभित्रै पसेर दुःख दिएपछि स्थानीयमा यतिबेला त्रास फैलिएको छ।

यस्तै नगरकै वडा नम्बर–५ राजघाट पुरानो सोल्टीमा स्थानीय रामु कार्की र मोहन कार्कीले ३० बिगाह क्षेत्रफलमा लगाइएको केराखेतीमा पनि जंगली हात्ती पसेर क्षति पुर्‍यायो।

बागमती नगरपालिका मात्र होइन, जिल्लाका उत्तरी भेगमा पर्ने लालबन्दी, हरिवन, ईश्वरपुर जस्ता क्षेत्रमा हात्तीले केही महिनायता निकै दुःख दिइरहेको छ।

गत जेठमा पनि सर्लाहीको चुरे क्षेत्रमा हात्तीको एक समूहले ठूलै आतंक मच्चाएको थियो। पूर्वी चुरे क्षेत्रमा देखिएको हात्तीको समूह हरिवन र लालबन्दी नगरपालिकाका जंगल क्षेत्रमा रहेका स्थानीय घरसम्म आएर अवरोध पुर्‍याएको थियो। प्रशासनका अनुसार हात्तीलाई स्थानीयले जिस्काउने र भगाउने गर्दा हात्ती रिसाएर झनै क्षति गरेको थियो।

चुरेमा देखिएको हात्तीको समूह अहिले राजमार्ग छेउछाउ पनि आइपुग्न थालेका छन्।

जिल्लाको पूर्वी नगरपालिका ईश्वरपुरमा जंगली हात्तीको आक्रमणबाट गत असारमा एक जनाको त मृत्यु नै भएको थियो। श्रीनगरका ५५ वर्षीया रामआशीष महतोलाई हात्तीले हात्तीले आक्रमण गरेपछि उनलाई उपचारका लागि लालबन्दी लगिए पनि उनको उपचार क्रममा मृत्यु भएको थियो।

राति अबेर जंगलबाट आएको हात्तीको समूहले महतोका छोराबुहारी बसेको घरको घेराबेरा भत्काउन थालेपछि टर्च बालेर हेर्न आउने क्रममा हात्तीसँग आमुनेसामुने  हुँदा उनलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीले गत महिना पनि हरिवन, लालबन्दी-१७ (रानिगन्ज) र वडा नम्बर १६ परवानीपुरलगायत ठाउँका स्थानीयका घर भत्काउनुका साथै बालिनाली खाएर नोक्सान गरेको थियो। हात्तीको डर बढ्दै जान थालेपछि स्थानीयबासी रातभर जाग्राम बसेका थिए।

किन आउँछ बस्तीमा जंगली हात्ती?

जंगलसँग जोडिएका बस्तीमा जंगली हात्तीले दुःख दिनु समान्य विषय भए पनि जिल्लामा जंगलबाट पर बजार क्षेत्र आसपासमा पनि हात्तीले आतंक मच्चाइरहेको छ।

मानिसहरूले हात्तीलाई जिस्क्याएर आतंकित बनाइरहेकाले बेला-बेलामा मानव बस्तीमा पसेर क्षति गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देव बताउँछन्। “जंगल मासेर बस्ती बसाउन थालियो, उनीहरूको बासस्थानमा मानिसले अतिक्रमण गरेपछि हात्तीले आक्रमण गर्छ,” देवले नेपाभ्यूजसँग भने, “हात्तीको हिँड्ने बाटो हुन्छ, मानिसहरूले बाध्यताले जंगल अतिक्रमण गरेर बसे, हात्तीहरू आफ्नो बाटो भएर हिँड्दा कहिले जानीजानी त कहिले नजानेर क्षति भएको हुन्छ।”

चितवनदेखि पर्सा राष्ट्रिय निकुञ्जसम्म हात्ती करिडोर रहेको र त्यस क्षेत्रबाट विस्तारै अन्य जिल्लामा पनि गएका प्रमुख देव बताउँछन्। साथै हात्तीले घरमा भण्डारण गरेर राखिएको अन्न र मादक पदार्थको गन्ध चाँडै थाहा पाउने भएकाले घरघरमा पस्ने गरेको पनि बताए।

जंगली हात्ती बस्ती पसेर पछिल्लो तीन महिनायता जिल्लामा दुई जनाको मृत्यु पनि भइसकेको छ। हात्ती आक्रमणबाट मृत्यु भएकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ दिनेगरी आफूहरूले सिफारिससमेत गरेको उनले जानकारी दिए।

यता सर्लाही सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले भने जिल्ला जंगली हात्तीबाट मानवीय क्षति भएको आफूलाई थाहा नभएको बताउँछन्। जिल्लाका विभिन्न क्षेत्रमा किसानले लगाएका बालीनालीमा क्षति पुर्‍याए पनि मानवीय क्षति नभएको उनले दाबी गरे।

“हात्तीको सुरक्षित स्थल मासिँदै गयो, जसकारण जंगली हात्ती गाउँ पस्न थाले, उनीहरूको (हात्ती) को ट्रयाकमा अलिकति विचलन आउनेबित्तिकै घरघर छिर्छन्,” पोख्रेलले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved