सरकारका सय दिन : ५८ लाख बढी खोपको पहुँचमा

नेपालभ्युज

सरकारका सय दिन : ५८ लाख बढी खोपको पहुँचमा

काठमाडौं। सरकार गठन भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड १९ बिरुद्धको खोप रहेको बताएका थिए।

सोही अनुसार सरकार गठन भएको सय दिनमा कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ५८ लाख ३ हजार २६० र दुवै मात्रा लगाउनेको संख्या ५३ लाख ६७ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

तीन जिल्ला मनाङ, मुस्ताङ र पूर्व रुकुममा १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप उपलब्ध गराइएको छ। थप १० जिल्लामा पनि पूर्ण खोपको तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए।

एक सय दिनमा खोप लगाउने लक्षित समूहका १ करोड ९९ लाख २२ हजार १६४ नागरिकमध्ये ३२.६ प्रतिशत र कूल जनसंख्याको २१.४ प्रतिशतले पूर्ण मात्राको खोप प्राप्त गरेको जानकारी उनले दिए।

प्रवक्ता डा. पौडेलका अनुसार नेपालमा खोप अभियान शुरु भएदेखि सरकारले खरीदमार्फत चीनबाट १ करोड २० लाख र भारतबाट क्रमशः १ करोड र २० लाख मात्रा प्राप्त गरेको हो।

त्यस्तै अनुदान स्वरुप भारतबाट ११ लाख , कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार, चीन सरकारबाट २८ लाख, अमेरिका सरकारबाट १५ लाख ३४ हजार, जापान सरकारबाट १५ लाख, वेलायत सरकारबाट १ लाख ५० हजार, भूटान सरकारबाट २ लाख ७० हजार मात्रा गरी कुल ७७ लाख २ हजार मात्रा खोप प्राप्त भएको उनले जानकारी दिए।

सरकारले १२ देखि १८ बर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउँदैछ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने प्रक्रिया अघि बढेको प्रवक्ता पौडेलले बताए।

मोडर्ना र फाइजर र अन्य खोप गरी करीब १ करोड २९ लाख मात्रा खोप प्राप्तिको प्रक्रियामा रहेको जानकारी मन्त्रालयले दिएको छ।

खोप अभियान शुरु भएयता हालसम्म नेपालमा ८५ लाख ८८ हजारले पहिलो र ६४ लाख ८९ हजारले पूर्ण मात्रा गरी १ करोड ५० लाख जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved