बेइजिङ डायरी

बेइजिङमा बल्छी हान्दा

आफूले जम्मा तीनवटा मात्र माछा बल्छीमा पार्न सफल भए पनि आफ्नो मन देशको पिरमा सधैँ बल्छीमै उनिएको छ। दशैँमा परिवार सम्झँदै न्यास्रो मेट्नका लागि युट्युब खोल्छु। बिधान श्रेष्ठ गाउँदैछन् – ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा, छेकीबारी दुवाली महाकालीमा।’

बेइजिङमा बल्छी हान्दा

‘भोलि माछा मार्न जाँदा निकै चिसो हुन्छ, अलिक बाक्ला लुगा लगाउनु होला है’, अघिल्लै दिन वीच्याटमा सूचना आएको थियो।

यसपटक बेइजिङमा समय अगाडि नै चिसो बढ्यो। सेप्टेम्बरको मध्यदेखि नै शुरु भएको चिसो अक्टोबर लाग्दा त ज्याकेट नै लगाउनु पर्ने भइसकेको थियो। पोहोरोपरारतिर त मध्य अक्टोबरसम्म टिसर्ट लगाएरै हिँडिन्थ्यो। अचानक बढेको चिसो त्यसमाथि माछा मार्न जाने स्थान झनै चिसो हुने भएकाले वीच्याटमा सचेत गराइएको रहेछ।

अक्टोबर १६ तारिख (असोज ३० गते) शनिबार बिहान ६ बजे नै बोलाइएको थियो। बसोबास क्षेत्रबाट पुग्नुपर्ने स्थान १२ किलोमिटरभन्दा बढीको दूरीमा भएकाले सवा पाँचमै यात्रा शुरु भयो। विदेशीहरु भेला गराएर बल्छी हान्दै माछा मार्ने प्रतियोगितामा भाग लिन पाउँदा कौतुहल र जिज्ञासाले मन उरालिएको थियो।

माछा मार्ने मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको थियो ‘विदेशी राष्ट्रसँग मित्रताका लागि बेइजिङ जन संगठन’ले। यही संगठनले बेइजिङमा बसोबास गर्ने विदेशीहरु बीचमा फोटो प्रतियोगिता र चङ्गा उडाउने प्रतियोगिता पनि गराउँदै आएको छ।

त्यतिमात्र होइन पहाडमा दौड प्रतियोगिता पनि हरेक वर्ष आयोजना हुन्छ। बाल्यकालमा कहिल्यै चङ्गा नउडाएकाले प्रतियोगीभन्दा पनि पर्यवेक्षकका रुपमा भाग लिँदै आए पनि फोटो प्रतियोगितामा चाहिँ दुईपटक त पुरस्कार पनि हात पारिसकेको छु।

बल्छी हानेर माछा मार्ने भएकाले मेरा लागि निकै नौलो काम थियो। बाल्यकालमा छिमेकी फुर्केली राईहरुले मलुखोलामा बल्छी हानेर माछा मारेको देखेको थिएँ। तर आफैँले चाहीँ कहिल्यै बल्छी चलाउने अवसर प्राप्त गर्न पाइँन। जीवनको आधा उमेर बित्न लाग्दा बल्छी हानेर माछा मार्ने प्रतियोगितामा भाग लिँदै थिएँ, त्यसमाथि विदेशमा।

बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रभन्दा लगभग ५ सय मिटर पूर्वमा रहेको स्थानमा बिहान ६ बजे बोलाइएको थियो। त्यो ठाउँ ‘विदेशी राष्ट्रसँग मित्रताका लागि बेइजिङ जन संगठन’को कार्यालय भएको स्थान हो।

म समयमै पुगेँ। मलाई कुरेर बसेका रहेछन् स्याओ वन र लु याननिङ। स्याओ वन विदेशी नीति विषयमा भर्खरै स्नातक रहिछन् भने लु याननिङ पाको उमेरका। दुवैजना सोही संगठनमा काम गर्ने कर्मचारीहरु। स्याओ अंग्रेजी बोल्न पोख्त थिइन्। लु अलिअलि अंग्रेजी बोल्थे। अप्ठ्यारो परेको बेला उनी चिनियाँमा बोल्थे र स्याओले अनुवाद गरेर मलाई सुनाउँथिन्। लुले ‘नेपाली साथी’ भन्दै मसँग दरिलो हात मिलाए।

हामी तीनैजना एउटा कारमा चढ्यौँ। त्यहाँबाट माछा मार्ने ठाउँ जानलाई एक सय किलोमिटरको दूरी पार गर्नु पर्ने रहेछ। शनिबारको दिन बिहानै भएकाले बेइजिङका सडकहरु खुल्ला थिए। कार तीव्र गतिमा बेइजिङबाट उत्तरी दिशातिर लाग्यो। पाँचौँ चक्रपथ पार गरेपछि हाम्रो कार टोलगेटबाट एक्सप्रेस राजमार्गमा प्रवेश गर्‍यो।

अगाडि देखाउँदै लुले भने ‘मिस्टर आचार्य यो एक्स्प्रेस राजमार्ग तपाईंको घर जाने बाटो हो नि।’

उनको कुराले म अलमलिएँ। बेइजिङबाट उत्तरतर्फ लाग्दै थियौँ हामी। त्यही एक्स्प्रेस रोड प्रयोग गरेर म धेरैपटक पातालिङ ग्रेटवालमा गएको थिएँ। बेइजिङको वरिपरि  हपेई प्रान्त पर्छ। उत्तरी भगेको हपेई प्रान्तपछि चीनको भित्री मंगोलिया आउँछ।

भित्री मंगोलिया छिचोलेपछि पुगिन्छ मंगोलिया। केहीबेर अगाडि मात्र ‘नेपाली साथी’ भन्दै हात मिलाएका उनले मलाई मंगोलियाली ठानेछन् कि के हो भनेर स्पष्ट पारेँ, ‘मिस्टर लु म नेपाली हुँ अनि नेपाल बेइजिङबाट पश्चिममा पर्छ।’

‘हो त नि, तब न भन्दै छु। यो चीनको ६ नम्बर एक्स्प्रेस राजमार्ग सिधै ल्हासा जान्छ।’ उनले मेरो अनुहारतिर हेर्दै भने। उनको भनाइले म रातोपिरो भएँ। ‘किताबको गाता हेरेर त्यसको मूल्याङ्कन गर्नु हुँदैन’ भन्ने कतै पढेको थिएँ। उनको बारेमा मैले बनाएको धारणा पूर्ण रुपमा गलत साबित भएको थियो। बेइजिङबाट शुरु भएर ल्हासा पुग्ने चीनको ६ नम्बर एक्स्प्रेस राजमार्ग ३ हजार ७ सय १० किलोमिटर लामो रहेछ।

उनी दुई पटक ल्हासा पुगेका रहेछन्। नेपाल कहिल्यै नपुगे पनि नेपालका बारेमा राम्रो जानकारी राखेको कुरा उनका बोलीमा स्पष्ट झल्किन्थ्यो। ल्हासा जाँदा राहदानी नबोकेकोमा उनी अझै पनि थकथकाइरहेका थिए। कारण ल्हासा पुगेपछि उनमा नेपाल जाने हुटहुटी जागेको रहेछ। भविष्यमा नेपाल भ्रमण गर्ने इच्छा पनि उनले जाहेर गरे।

पातालिङ ग्रेटवाल पुग्न लाग्दा हामी देब्रे मोडियौँ र पुगियो बेइजिङको यानछिङ जिल्लाको चिउसियान टाउनस्थित फङयाओ गाउँमा। माछा पोखरी भएको छिङक्वाङ कृषि क्षेत्र रमणीय थियो। भरखरै मकै भाँचेर सुकेका ढोडहरुका फाँटका बीचमा थियो पोखरी।

माछा मार्ने प्रतियोगिता शुरु हुनुभन्दा अगाडि हामीलाई ज्याकेट र टोपीसँगै बल्छी थमाइयो। अनि एकजना चिनियाँ र एकजना विदेशी जोडी बाँधेर ४० वटा समूहमा विभाजन गरियो। प्रतियोगितामा २५ देशका ४० जना विदेशीहरु सहभागी थिए।

कसरी माछा मार्ने होला भनेर मन डराइरहेको थियो। मञ्चबाट जानकारी दिइएपछि मेरो मन ढुक्क भयो। माइकबाट भनिएको थियो ‘विदेशीहरुसँग जोडी बाँधिएका चिनियाँ व्यक्तिहरु पेशागत रुपमा माछा मार्ने व्यक्ति हुन्।’

सूचना सुनेपछि कमसेकम अब प्रतियोगिता जित्नका लागि विदेशीको भूमिका होइन चिनियाँको भूमिका मुख्य हुने निश्चित थियो। हामी बल्छी लिएर बिहानको कलिलो घाममा पोखरीको डिलमा बस्यौँ। बस्नका लागि हरेक व्यक्तिलाई आरामदायी कुर्सीको व्यवस्था थियो।

माछालाई खुवाउने चारो बल्छीमा कसरी राख्ने र पोखरीतिर कसरी हुत्याउने भन्ने कुरा मेरा जोडी अधबैँसे चिनियाँले सिकाए। बल्छीमा चारो राख्न पनि सिकाउनुपर्छ भन्नु होला तर सबभन्दा कठीन काम नै यही रहेछ। चारो चाहिँ गिलो पिठोबाट बनाइएको थियो। जसलाई बल्छीमा अल्झाएर पोखरीतिर बल्छी फाल्दा चारो कता उछिटिन्थ्यो कता! अनि किन उनियोस् बल्छीमा माछा!

चिनियाँ साथीको बल्छीमा भटाभट माछा पर्छ तर आफ्नोमा छैन। हरेकपटक बल्छीमा चारो उनेर पोखरीमा फाल्यो अनि केहीबेर पर्खिएर यसो तान्यो माछा परे पो। तैपनि तीनवटा त कसो कसो पारेरै छोडेँ मैले। छेउछाउ बसेका अन्य विदेशीले त एउटा पनि पार्न सकेनन्।

छेउमै बसेकी स्याओ वनले भनिन् ‘तीनवटा पारेपछि पहिलो पुरस्कार पक्कै हाम्रै हुन्छ। अरुले त एउटा पनि पार्न सकेका छैनन्।’ स्याओ चाहिँ माछा मार्ने काममा सहभागी भएकी थिइनन्। उनी मेरा छेउमा बसेर फोटो र भिडियो खिच्ने कामसँगै मलाई भाषा अनुवाद गर्न सघाइरहेकी थिइन्।

प्रतियोगिता सकियो। प्रथम पुरस्कारको त के कुरा आफ्नो समूह त छैटौँसम्म पनि परेन। हाम्रो समूहले जम्मा १८ किलो माछा बल्छीमा उनेछौँ। सबैभन्दा धेरै उन्नेले ४१ किलोसम्म पुर्‍याएछन्। त्यसो त तीन चार किलो मात्र पुर्‍याउने समूह पनि थिए। छैटौँ सम्मलाई पुरस्कारको व्यवस्था रहेछ। दिउँसोको खाना खाएर हामी फर्कियौँ।

चीनले बेइजिङमा कार्यरत विदेशीहरुलाई भेला गराएर किन माछा मार्ने प्रतियोगिता गर्‍यो भन्ने कुराभित्र चाहिँ निकै गहकिलो सन्देश लुकेको छ।

चीनमा बसेर काम गरिरहेका विदेशीलाई हरेक वर्ष चङ्गा उडाउने महोत्सवमा सहभागी गराउनु, फोटो प्रतियोगिता गराउनु, आफ्नो देशको परिकार बनाउने प्रतियोगिता गराउनु, विभिन्न देशको सांस्कृतिक पहिरनको प्रतियोगिता गराउनु, दौडाउनु सबैको पछाडि सांस्कृतिक आदानप्रदानमा चिनियाँ चासो रहेको बुझ्न कठीन छैन। चीनलाई कर्मभूमि बनाएर बसेका विदेशीहरुमा मैत्रीभाव, सद्भावना, घुलमिल र सदाचार विकास गराउने भैहाल्यो यस्ता कार्यले। सँगसँगै चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउन पनि सहयोग पुग्ने नै भयो।

यस्ता मैत्रीपूर्ण प्रतियोगिताले विश्वका कुनाकाप्चामा चिनियाँ संस्कृति छर्ने काम गर्छ। चिनियाँ समाज, परिपाटी, रहनसहन, चालचलन, अर्थतन्त्र, राजनीति र चिनियाँ प्रणालीको जानकारी पनि यस्ता गतिविधिमार्फत सर्वत्र छरिने मौका पाउँछ।

चीनले आयोजना गर्ने यस्ता अभ्यासबाट नेपालले पनि थुप्रै कुरा सिक्ने रहेछ भन्ने मलाई लागिरहेको छ। कुनैबेला नेपाली गाउँ र जापानी गाउँको मितेरी कथालाई समेटेर बनाइएको टोगादेखि टुकुचेसम्म चलचित्र हेरेको थिएँ। नेपालमा मित लगाउने चलन पुरानो र मौलिक हो। नेपालमा काम गर्ने तथा घुम्न आएका विदेशी पाहुनालाई सहभागी गराएर हामी पनि विभिन्न प्रतियोगिता किन नचलाउने?

जस्तो सारङ्गी बजाउने, नृत्य गर्ने, र्‍याफ्टिङ गर्ने आदि। गाईजात्रा, दशैँ, तिहार, लाखे नाच, असार १५ तथा फागू जस्ता नेपाली संस्कृतिमा विदेशी पर्यटक झुमिरहेका हुन्छन्। यस्ता सांस्कृतिक गतिविधिमा विदेशी पर्यटकहरु स्वतःस्फुर्त रुपमा सहभागी भए पनि सरकारी तवरबाट कुनै संस्थागत पहल भए जस्तो लाग्दैन।

विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन सेवा हो। नेपाली संस्कृति र भौगोलिक सौन्दर्यको व्यवस्थित प्रचारप्रसार नगरेमा नेपालको पर्यटन विकास हुन सक्दैन। केही समय अगाडि त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा प्राध्यापनरत नेपाली आख्यान क्षेत्रका सिद्धहस्त व्यक्ति महेश पौड्यालले लेख्नु भएको घतलाग्दो कुरा स्मरण गर्न चाहन्छु। उहाँले लेख्नु भएको थियो – ‘बुद्धको जन्मस्थान लुम्बिनी। कति हो कति बौद्ध मार्गी आउँछन्। जाने बाटो हेर्छु – ओम्! पुगेर, गेटबाहिरको व्यवस्था हेर्छु – ओम्! मानौँ, त्यहाँ नेपालकै सबैभन्दा ठूलो प्रसूतिगृह बनायो कसैले। होटल पनि कम्तीमा ५०० बनायो। बाटोघाटो बनायो। रेल पुर्‍यायो। सोच्छु – बुद्ध जन्मेको ठाउँमा बच्चा जन्माउन पाइन्छ भन्ने हो भने कति आमा त्यहाँ आइपुग्लान्? तिनका साथमा कति आफन्त आउलान्? अनि त्यो बालक, जन्मस्थान हेर्न कतिपल्ट आइपुग्ला जीवनमा? माने, कति आउला पैसा?’

केही वर्ष अगाडि समाचारमा पढेको थिएँ, विकासोन्मुख मुलुकबाट बच्चा जन्माउने बेलामा गर्भवती महिलाहरु अमेरिका जान्छन्। किनभने बच्चा अमेरिकामा जन्मियो भने त्यहीँको नागरिक बन्छ। गरीब देशका महिलालाई अमेरिकामा बच्चा जन्माउने रहर भए जस्तै बौद्धमार्गी मुलुकका महिलालाई बुद्ध जन्मेकै ठाउँमा बच्चा जन्माउने रहर पनि होला नि।

जापान, कोरिया, चीन, थाइल्याण्ड वा अरु कुनै मुलुकका महिलाले लुम्बिनीमा बच्चा जन्माउन पुगे भने के हुन्छ? त्यहाँ जन्मिएको बच्चाले सधैँ लुम्बिनी सम्झन्छ र अरुलाई पनि सम्झाउँछ। कालखण्डमा ऊ आफ्ना साथीहरु र आफन्त लिएर जन्मोत्सव मनाउन फेरि लुम्बिनी आइपुग्छ। उसको भावना जोडिन्छ लुम्बिनीसँग। नेपालले बीबीसी र सीएनएनमा करोडौँ डलर तिरेर विज्ञापन गर्नै पर्दैन। बास, सुविधा सम्पन्न अस्पताल र राम्रो पूर्वाधार विकास गर्नु पर्‍यो लुम्बिनीमा।

नेपाल त प्राकृतिक साधन र स्रोतले भरिपूर्ण तर व्यवस्थापन गर्ने नेतृत्वको अभाव रहेको देश। विदेशको बसाइमा बढी नै देश दुख्ने रहेछ। आफूले जम्मा तीनवटा मात्र माछा बल्छीमा पार्न सफल भए पनि आफ्नो मन देशको पिरमा सधैँ बल्छीमै उनिएको छ। दशैँमा परिवार सम्झँदै न्यास्रो मेट्नका लागि युट्युब खोल्छु। बिधान श्रेष्ठ गाउँदैछन् – ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा, छेकीबारी दुवाली महाकालीमा।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved