सुदूरपश्चिमलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

सुदूरपश्चिमलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ।

सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी, सांसद शेरबहादुर कुवँर, पूर्वसांसद हर्कबहादुर सिंह, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी तथा नागरिक समाजका प्रतिनिधि सूर्य श्रेष्ठ, रमण श्रेष्ठ, वीरेन्द्र भण्डारी, धनबहादुर ओलीलगायतले भेट गरी सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले ठूलो क्षति गरेका कारण राहत तथा उद्वारका लागि तत्कालै राज्यका सबै निकायलाई परिचालन गर्न माग गरेका हुन्।

यसैगरी उक्त टोलीले बाढी पहिरोले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बाजुरा, बैतडी तथा डोटीमा अहिले पनि नागरिक अलपत्र परेका तथा कतिपयका घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेकाले स्थलमार्गबाट उद्धार हुन नसकेकाले हवाई मार्गबाट जतिसक्दो चाँडो उद्धारका लागि पहल गर्न माग गरेको छ। सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ र डोटीमा भएको उक्त टोलीका प्रमुख तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले गृहमन्त्री खाँणलाई जानकारी दिए। मन्त्री आलेले सुदूरपश्चिम बाढी पहिरोका कारण अहिले आहालमा डुबेकाले तत्कालै राज्यले आफ्नो उपस्थिति देखाउनुपर्ने माग राखेका छन्।

यसैगरी अछामबाट निर्वाचित सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमका पीडित नागरिकको आलो घाउमा मल्हम लगाउनलाई भए पनि राज्यले तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। गृहमन्त्री खाँणले सुदूरपश्चिमसहित पूर्वी नेपालका विभिन्न ठाउँमा बाढी र पहिराले निकै ठूलो मानवीय तथा जनधनको क्षति पुर्‍याएकाले पूर्वी नेपालका क्षति भएका ठाउँसहित सुदूरपश्चिम प्रदेशलाई बाढी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गरिने आश्वासन दिए।

सोही क्रममा मन्त्री खाँणले बाढी पहिरोमा परी मृत्यु भए प्रति परिवारलाई दुई लाख र एक जनाभन्दा बढी गुमाउनेलाई प्रतिमृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको जानकारी दिए। यस्तै बाढी, पहिरोमा परी घाइते भएकाहरूको निःशुल्क उपचार, बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई शुरु गर्न उपकरण र जनशक्ति परिचालन गरिने जानकारी दिए।

गृहमन्त्री खाँणले सरकारले बाढी, पहिरामा जमिन र घर गुमाएकालाई पनि राहत दिने र पहिराले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिने जानकारी दिए। घर निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख, पहाडमा चार लाख र तराईमा पाँच लाख रुपैयाँ सरकारी मापदण्डअनुसारको रकम दिने सरकारले निर्णय गरेको छ।

भोलि बिहीबार सुदूरपश्चिमको बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन तथा ती क्षेत्रका नागरिकलाई परेका समस्या र तत्काल गर्न सकिने सहयोगको अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोली सुदूरपश्चिम जाने तयारी भएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved