हेटौंडा। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छन्।
बिहीबार अपराह्न बस्ने प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
मुख्यमन्त्री शाक्यले गत २४ असोजमा बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन्। बैठक ४ कार्त्तिकमा बस्ने गरी स्थगित भएको थियो।
बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको जानकारी सचिवालय प्रमुख खड्काले जानकारी दिए।
तर नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश संसदीय दलले भने प्रदेशसभाको बैठकको मिति सार्न माग गरेको छ। एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ।
वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।