डुबानले राजापुर र गेरुवाका हजाराैँ घर परिवार विस्थापित

डुबानले राजापुर र गेरुवाका हजाराैँ घर परिवार विस्थापित

बर्दिया। विगत तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बस्ती डुबानमा परेका छन्।

शनिबारदेखि आएको लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीबाट सो क्षेत्रका एक हजार दुई सयभन्दा बढी घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

गेरुवा गाउँपालिकाको सन्कतिघाट वन्कत्तीबाट कर्णाली नदीको बाढी पस्दा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको एक दर्जन गाउँ डुबानमा परेका छन्। बाढीबाट भएको क्षतिको अद्यावधिक विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

हालसम्म प्राप्त प्रारम्भिक सूचनाअनुसार राजापुर नगरपालिका–१ मा ७४८, वडा नं ३ मा १२० र वडा नं ७ मा १५९ गरी जम्मा एक हजार २७ घरपरिवार र गेरुवा गाउँपालिका–२ मा १०० र वडा नं ३ मा ११० गरी जम्मा २१० घरपरिवार गरी कूल जम्मा एक हजार २३७ घरपरिवार प्रभावित भएका छन्।

प्रभावितलाई सुरक्षित स्थानमा

बाढी प्रभावितमध्ये चनौरामा ७०, मुगौहा उच्चस्थानमा ६०, मुगौहामा २५, दौलतपुर पशुपति स्कूलमा ६०, आरामिलमा २५, नङ्गापुर आश्रयस्थलमा १५, चख्खापुर आश्रयस्थलमा १२, भालुफाँटाको आश्रयस्थलमा १५९ र गेरुवा गाउँपालिकाअन्तर्गत सरस्वती मावि बनकट्टीमा २४ र अन्य घरपरिवारलाई छिमेकी तथा आफन्तको घरमा बस्ने व्यवस्था मिलाएको प्रजिअ सन्तबहादुर सुनारले बताए।

बाढीबाट प्रभावित भई आश्रयस्थलमा रहेकालाई स्थानीय तह, स्थानीय समुदाय समूह र बर्दिया अक्सिजन बैंकको सहयोगमा पिउने पानी, तयारी खाना र ११५ थान त्रिपाल वितरण गरिएको बताइएको छ।

यस अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जानेजस्ता असुरक्षित व्यवहार नगर्नु÷नगराउनु हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध छ। कर्णाली नदीमा बाढी आउँदा पानीको सतह बढेकाले भौराटप्पु अत्यन्तै जोखिममा परेको छ।

बाढीबाट गेरुवा गाउँपालिका–२, ३, राजापुर नगरपालिका–१ र ३ का राजीपुर, वन्कत्ती, पाताभर, सन्कत्ती वन्घुरा, तिउनी, तिक्लीगद, चनौरा, तिघ्रा, तिउनी सोनपुरका करिब एक हजार घर डुवानमा परेका छन्।

बाढी पिडीतलाई स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र गैरसरकारी सङ्घसंस्थाको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला समन्वय समितिका सभापति शङ्करप्रसाद थारूले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved