फिर्ता हुँदै राजदूत आचार्य, नयाँ राजदूत चयनमा अन्योल

आचार्यसहित अन्य २२ मुलुकका राजदूत स्वदेश फर्किने प्रक्रियामा रहँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया भने थाल्न सकेको छैन।

नेपालभ्युज

फिर्ता हुँदै राजदूत आचार्य, नयाँ राजदूत चयनमा अन्योल

काठमाडौं। भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्किदै छन्। ५ असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक आधारमा निर्वतमान सरकारले नियुक्त गरेका सबै राजदूतलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेसँगै राजदूत आचार्य बुधबार स्वदेश फर्किन लागेका हुन्।

२०७५ मा भारतका लागि नेपालका राजदूत नियुक्त भएका आचार्यले स्वदेश फर्किनुअघि भारतीय विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी, नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए। बिदाई भेटका लागि उनले अध्यक्ष गान्धी र कांग्रेस नेता गान्धीसँग भेट गर्दा सत्तापक्षीय नेतासँग भने भेट गर्न पाएनन्।

सत्तापक्षका शीर्ष नेतालाई बिदाई भेट गर्न नपाएका आचार्यले भारतका विदेश राज्यमन्त्री भी मुरलीधरणसँग भने भेट गरेका थिए। यस्तै विदेश सचिव हर्ष वर्धन श्रृंगलाले आचार्यको सम्मानमा दिवा भोजको आयोजना गरेका थिए।

नेपाल भारत प्रबुद्ध समूहमा नेपालतर्फका सदस्य रहेका आचार्यलाई ओली सरकारले भारतका लागि नेपालको राजदूतका रुपमा नियुक्त गरेको थियो। तत्कालीन राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउने निर्णय गर्दै तत्कालीन सरकारले आचार्यलाई सरकारको प्रतिनिधित्व गर्दै भारत पठाउने निर्णय गरेको थियो।

भारतका लागि नेपालका राजदूत आचार्य स्वदेश फर्किन लाग्दा दूतावास भने नेतृत्वविहीन हुने भएको छ। देउवा सरकारले राजदूतलाई एक महीनाअघि फिर्ता गर्ने निर्णय गरे पनि हालसम्म अर्को राजदूत नियुक्त गरेको छैन।

आचार्यसहित अन्य २२ मुलुकका राजदूत स्वदेश फर्किने प्रक्रियामा रहँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया भने थाल्न सकेको छैन। ६ असोजमा परराष्ट्रमन्त्री नियुक्त भएका कांग्रेस नेता डा. नारायण खड्काले आफ्नो राष्ट्रसंघको महासभाको भ्रमण लगत्तै राजदूत चयनको प्रक्रिया अघि बढाउने बताए पनि राजदूत चयन प्रक्रिया अन्योलमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved