पावेलको त्यो नेपाल भ्रमण

नेपालभ्युज

पावेलको त्यो नेपाल भ्रमण

सोमबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीट गरे, “अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको निधनको खबरले दुःखी छु। उहाँसँग सन् २००२ मा नेपाल र अमेरिकामा भेटेको मलाई सम्झना छ।”

देउवाको ट्वीट समाचार बनेपछि आम नेपालीले पनि पावेललाई सम्झे।

उनी १८ जनवरी, २००२ मा विशेष विमान चढेर काठमाडौं ओर्लिएका थिए। झण्डै २० वर्षअघिको त्यो भ्रमण नेपाल-अमेरिका सम्बन्धका दृष्टिले मात्रै होइन, भूराजनीतिक कोणबाट पनि महत्वपूर्ण थियो। भ्रमणको निकै ठूलो चर्चा भएको थियो।

केही साताअघि अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार आउँदा पनि नेपालमा ठूलै तामझाम भयो। उच्च ओहोदाका नेतागणलाई उनले सजिलै भेटिन र भ्रमण अवधिभर आफूलाई केन्द्रमा राखिन्।

एकजना उच्चपदस्थ कर्मचारीलाई यत्रो प्राथामिकतामा राखेको नेपालले अमेरिकी विदेशमन्त्री आउँदा उच्चकोटी सम्मान र सत्कार नगर्ने कुरै भएन। त्यसमाथि पावेल नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना गरेपछि यहाँ आउने दोस्रो उच्च ओहोदाका राजनीतिज्ञ थिए।

उनीभन्दा अघि सन् १९७० मा अमेरिकी उपराष्ट्रपति एगन्यू नेपाल घुम्न आएका थिए। त्यो बखत अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन थिए भने नेपालको शासन सत्तामा राजा महेन्द्र थिए। एगन्यूको भ्रमण टोलीमा अमेरिकी अन्तरिक्ष यात्रीहरू थमस, स्टाफोर्ड र करनान पनि सम्मिलित थिए। दुई अन्तरिक्ष यात्रीले राजा महेन्द्रलाई चन्द्रमाबाट ल्याएका चट्टानका टुक्रा उपहारमा दिएका थिए।

नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरूले अमेरिकी राष्ट्रपति भेट्ने संयुक्त राष्ट्र संघको महासभा हुँदा मात्रै हो। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदा पाउने ५-७ मिनेटको समयमा नेपालका मन्त्री र प्रधानमन्त्रीले सँगै उभिएर एउटा फोटा खिच्छन् अनि फर्किन्छन्।

उपराष्ट्रपति एगन्यूको भ्रमण राजनीतिक मुद्दामा केन्द्रित थिएन। उनी विशुद्ध घुम्ने मनशायले आएका थिए भने पावेलको भ्रमण राजनीतिक मिसनबाट प्रेरित थियो। त्यस अर्थमा उनी नेपाल अमेरिकाबीच दौत्य सम्बन्ध कायम भएपछि सबैभन्दा पहिले आउने उच्च ओहोदाका राजनीतिज्ञ थिए।

अप्रिल २९, १९४७ मा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएको थियो।

पावेल आएको २० वर्ष पुग्न लाग्यो। अमेरिकासँग दौत्य नाता गासिएको ७४ वर्ष भयो। तर, अमेरिकाबाट अर्को उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन। अमेरिकी राष्ट्रपतिहरू छिमेकी भारत आइरहन्छन्। पाकिस्तान उनीहरूको रोजाइमा पर्छ। यदाकदा कुनै राष्ट्रपति बंगलादेश पनि पुग्छन् तर नेपाल तिनको प्राथामिकतामा पर्दैन।

भारत भ्रमणमा बिल क्लिन्टन आए, बाराक ओबामा आए, जर्ज बुस आए, ट्रम्प आए तर कसैको भ्रमण सूचीमा नेपाल थिएन। नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरूले अमेरिकी राष्ट्रपति भेट्ने संयुक्त राष्ट्र संघको महासभा हुँदा मात्रै हो। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जाँदा पाउने ५-७ मिनेटको समयमा नेपालका मन्त्री र प्रधानमन्त्रीले सँगै उभिएर एउटा फोटो खिच्छन् अनि फर्किन्छन्।

यसैकारण पावेलको नेपाल भ्रमण विशिष्ट महत्वको थियो।

पावेलको नेपाल भ्रमणका केही सन्देश थिए। उनको नेपाल भ्रमण त्यो समय भइराखेको थियो, जुनबेला यहाँ माओवादी जनयुद्ध उत्कर्षतिर बढ्दै थियो।

र, भर्खरै दक्षिण एशियाली मुलुकहरूको साझा संस्था सार्कको काठमाडौं जमघट सकिएको थियो। काठमाडौंले तत्कालीन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयी, पाकिस्तानका राष्ट्रपति परवेज मुसर्रफलगायत सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूको स्वागत सत्कार गरेर बिदा गरेको थियो।

यी दुई सन्दर्भसित पावेलको नेपाल भ्रमण जोडिएको थियो। सन् २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछि अमेरिकी विदेश नीतिमा परिवर्तन आयो। अमेरिकाले आतंकवादविरुद्ध विश्वव्यापी अभियान चलाउने नीति लियो। दक्षिण एशियामा पनि आतंकवादविरुद्ध विश्वव्यापी आफ्नो अभियानप्रति प्रतिबद्ध बनाउन पावेलको उक्त भ्रमण भएको थियो।

खासमा उनी अमेरिकाबाट अफगानस्तानको पुनर्निर्माणका लागि ‘फण्ड’ जुटाउन जापान आएका थिए। त्यही मेसोमा उनी दक्षिण एशियाली मुलुकहरू पाकिस्तान, भारत हुदै नेपाल छिरे।

यी दुई सन्दर्भसित पावेलको नेपाल भ्रमण जोडिएको थियो। सन् २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछि अमेरिकी विदेश नीतिमा परिवर्तन आयो। अमेरिकाले आतंकवादविरुद्ध विश्वव्यापी अभियान चलाउने नीति लियो। दक्षिण एशियामा पनि आतंकवादविरुद्ध विश्वव्यापी आफ्नो अभियानप्रति प्रतिबद्ध बनाउन पावेलको उक्त भ्रमण भएको थियो।

भ्रमणको मुख्य सन्देश थियो- अमेरिकाको दक्षिण एशियाली चासो बढ्दो छ। त्यसमा पनि भारत र पाकिस्तानबीच कहिल्यै नसकिने तनाव तिनताका बढेको थियो। यी दुई आणविक शक्तिराष्ट्रवीच बढ्दो तनाव घटाउने अमेरिकी रुचि थियो। सम्भावित आणविक युद्धको जोखिम टार्ने उनको भ्रमणको अन्तर्य थियो। यसमा सार्क अध्यक्ष राष्ट्र नेपालको भूमिका खोज्न पनि आएको विज्ञहरूले दाबी गरेका थिए।

तर, उनको नेपाल चासो यतिमा सीमिति थिएन। माओवादी युद्धलाई नियन्त्रण गर्न सघाउने कार्यसूची पनि लिएर आएका थिए उनी। माओवादीले अमेरिकी दूतावासमा काम गर्ने दुई जना सुरक्षागार्डको हत्या गरेपछि अमेरिकाले जनयुद्धलाई अझ गम्भीर रूपमा लिएको थियो। नेपालमा चलेको सैनिक कारबाहीको पक्षमा अमेरिका थियो। हातहतियार, तालिमको सहयोग गर्दै आएको पृष्ठभूमिमा पावेलले थप सहयोगको प्रतिबद्धता गरे।

नेपाली सेनाले पावेललाई विदेशी राष्ट्र प्रमुखलाई दिइने ‘गार्ड अफ अनर’ दिए। पावेल भ्रमणको केही समयपछि ३१ अक्टोबर २००३ मा अमेरिकाले नेपालका माओवादीलाई आतंककारी सूचीमा राख्यो।

र, सन्, २०१२ मा मात्रै उक्त सूचीबाट हटायो। जबकी सन् २००६ मै माओवादी शान्ति प्रक्रियामा आइसकेका थिए। पावेलले भ्रमणका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रलाई भेटे। त्यो बखत प्रधानमन्त्री शेरबहादुर देउवा थिए। उनलाई भेटे। अनि उनी सैनिक मुख्यालय पुगेर तत्कालीन प्रधान सेनापति प्रज्ववल शमसेर राणालाई भेटे।

पावेलको सैनिक मुख्यालय भ्रमण विवादित बनेको थियो। उनले सैनिक अधिकारीहरूबाट माओवादी ‘जनयुद्ध’ बारे बिफ्रिङ सुने। सेनाको हतियार भण्डारण क्षेत्रको निरीक्षण गरे। उनी र राणा दुवैले सँगै हतियार अवलोकन गरेको तस्वीर पत्रपत्रिकामा छापिएको थियो। जसको आलोचना पनि भएको थियो।

पावेल आफै पनि सैन्य पृष्ठभूमिबाट आएका थिए। उनी अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदै अमेरिकी सेनाका प्रधान सेनापति अनि विदेशमन्त्री भएका थिए। उनको पूरा नाम थियो, कोलिन लुथर पावेल।

सन् १९९५ मा प्रकाशित उनको आत्मकथा ‘माई अमेरिकन जर्नी’ जीवनवृत्त लेखेका छन्। उनको खास घर जमैका हो। उनका बाबु आमा जमैकाबाट न्यूयोर्क आए र उनी उनी त्यही जन्मे हुर्के। सामान्य पारिवारिक पृष्ठभूमिका उनी सन् १९७२ मा सेकेण्ड लेफ्टिनेन्टबाट अमेरिकी सेनामा प्रवेश गरे। सन् १९८७ मा उनी तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनका राष्ट्रिय सुरक्षा सल्लाहकार भइसकेका थिए। त्यसको दुई वर्षपछि उनी अमेरिकी सेनाका प्रधानसेनापति भएका थिए।

अवकाश पाइसकेपछि पावेललाई भावी राष्ट्रपतिका रुपमा हेरिएको थियो। उनी राष्ट्रपतिको निर्वाचनमा उठ्नसक्ने अड्कलबाजीहरू हुन्थे। उनी उठेनन्। बरु सन् २००० मा राष्ट्रपतिमा निर्वाचित जर्ज बुसले उनलाई विदेशमन्त्री बनाए।

तिनै प्रभावशाली विदेशमन्त्री पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ। २० वर्ष अघिको अमेरिकी नेपाल चासो र भूराजनीतिका आयाम फेरिए पनि नेपाल-अमेरिका सम्बन्धमा पावेलको त्यो भ्रमण इतिहासको कसीमा स्मरणीय रहनेछ।

तस्वीरहरू : नरेन्द्र श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved