मेलम्चीले बगाएपछि छैन बजार, निराश छन् तरकारी किसान

बाढीका कारण सडक अवरुद्ध भएपछि किसानको घरमा उत्पादन हुने दूध पनि बिक्री हुन सकेको छैन। सडक अवरुद्ध भएसँगै डेरी पनि बन्द भयो। यसको अत्यधिक मार आफूले सहनु परेको हेलम्बु कृषि गाई तथा भैंसी फार्म सञ्चालक टीकाराम चापागाईं बताउँछन्।

मेलम्चीले बगाएपछि छैन बजार, निराश छन् तरकारी किसान

सिन्धुपाल्चोक। दशैंको समयमा हेलम्बुका किसानलाई भ्याइनभ्याइ हुन्थ्यो। व्यवसायिक तरकारी खेती गरिरहेका किसानहरू हरियो साग, घिरौंला, गोलभेडा, बोडीलगायत तरकारी प्रशस्त उत्पादन गर्थे।

तर यो वर्ष उनीहरूको खेतभरि हरियो घाँस मात्र उम्रिएको छ।

अघिल्लो वर्ष लहलह साग र लटरम्म गोलभेडा फलेका पोट कुमारीको खेतमा अहिले झार पलाइरहेको छ। उनी भन्छिन्, “बजार विस्थापित भइहाल्यो तरकारी कहाँ लगेर बेच्नू ? आफूलाई खान पुग्ने मात्र रोपेका छौं।”

तरकारी खेतीबाटै वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरी घर खर्च धानेकी पोटकुमारीले आफू एक्लैले काम गर्न नसकेपछि श्रीमानलाई तरकारी खेती गर्न बोलाएकी थिइन्। गाउँमै अथाह सम्भावना भएपछि उनका श्रीमान् जागिर छाडेर घर फर्किएका थिए। “घर खर्चदेखि छोराछोरीलाई पकेट खर्च पनि पुग्थ्यो,” निन्याउरो अनुहार लगाउँदै उनले भनिन्, “अब आम्दानीको बाटो नै ठप्प भयो।”

बलबहादुर खड्काको पीडा पनि उस्तै छ। अघिल्लो वर्ष असारमा उनी तरकारी रोप्थे, तरकारी बेचेरै तीन वार्षिक तीन लाख कमाउँथे। यस वर्ष तरकारी रोप्न नपाउँदै मेलम्चीमा ठूलो बाढी आयो र उनले तरकारी रोप्न पाएनन्। “बाढीले सबै सोहोर्छ भन्ने डरले तरकारी रोपिनँ,” उनी भन्छन्, “बाढीले बजार विस्थापित भयो, सडक छैन, खेतै बगाउला भन्ने भयले तरकारी लगाइनँ।” उनले मुला, काउली, बन्दा र गोलभेडालगायत विभिन्न तरकारीका बेर्ना उमारेका छन्। बर्खा सकिन लाग्दा बाढीको जोखिम कम हुँदै गएपछि तरकारी लगाउने जमर्को उनले गरेका हुन्।

माघमा बिहेको लगन हुने भएकाले बजारमा पुर्‍याउन नसके पनि गाउँका बिहेमै तरकारी बिक्री गर्ने योजनामा उनी छन्। माघसम्म काउली र बन्दा फलाउने तयारी उनको छ।

यसअघि बेमौसमी तरकारी उत्पादनमा जोड दिई लाखौं तरकारी बजारमा पुर्‍याउने उनको खेत अहिले बाँझै छ। आफूलाई पुग्ने जति मात्रै साग, गोलभेडा रोपेका छन्।

भारतमा कृषि विषयमा अध्ययन गरेर जन्मथलो हेलम्बु आएर उनले कृषि पेशालाई अंगालेका हुन्। उनको खेतमा सबै प्रकारका तरकारी उत्पादन हुन्छन्।

विभिन्न संस्थासँग आबद्ध उनले हेलम्बुमा तरकारी खेती गर्ने तालिम दिने गरेका छन्। तालिम पाएपछि धेरै मानिस प्रभावित भई व्यवसायिक तरकारी खेती गर्न थालेका छन्। उनीहरूले तरकारी खेतीबाट घर खर्च पुर्‍याउनुका साथै आम्दानी पनि गरेका थिए।

उनले उत्पादन गरेका तरकारी ‘होम डेलिभरी’ पनि गराउँथे। बाँकी नजिकैको चनौटे बजारमा लगेर बेच्ने गर्थे।

पहिला उनी साढे २ रोपनी जग्गामा तरकारी खेती गर्थे। यो वर्ष घटाएर साढे एक रोपनीमा मात्र गर्न लागेको उनले बताए। करीब १३ वर्षदेखि उनी अर्ग्यानिक तरकारी उत्पादन गरिरहेका छन्। शुरुमा एक सय ओटा ब्रोइलर कुखुरा पाले। गोलभेडा पनि रोपे। त्यसबेला धेरै मानिसहरू बोइलर कुखुरा र गोलभेडा खाँदैनथे। बजार पाउन निकै कठिन भयो।

अहिले गोलभेडा प्रायः मानिसको भान्सामा अनिवार्यजस्तै बनेको छ। एक डोको गोलभेडा गाँउमै बिक्री हुन्छ। पहिलेको तुलनामा अहिले तरकारी बिक्री गर्न निकै सहज छ। तर बाढीले किसानहरू फेरि मारमा परे।

बाढीका कारण सडक अवरुद्ध भएपछि किसानको घरमा उत्पादन हुने दूध पनि बिक्री हुन सकेको छैन। सडक अवरुद्ध भएसँगै डेरी पनि बन्द भयो। यसको अत्यधिक मार आफूले सहनु परेको हेलम्बु कृषि गाई तथा भैंसी फार्म सञ्चालक टीकाराम चापागाईं बताउँछन्।

“फार्मबाट दैनिक ९० लिटर दूध उत्पादन हुन्छ,” उनी भन्छन्, “उत्पादन भएको दूध कहिले गाँउमा दिन्थ्यौं, कहिले भैंसीलाई नै खान दिन्थ्यौं भने कहिले पनीर बनाउँथ्यौं। कहिलेकाहीँ त फालिनेसम्म गर्‍यौं।”

१० महीनाअघि फार्म शुरु गर्दा उनकोमा दैनिक १० लिटर मात्रै दूध उत्पादन हुन्थ्यो। “उत्पादन बढाउँदै थियौं बाढीका कारण तीन महिना डेरी बन्द हुँदा धेरै नोक्सानी बेर्होनुपर्‍यो”, उनले भने, “फार्ममा भएका तीन जना कामदारलाई मासिक तलब दिन कठिन भयो।”

उनको फार्ममा अहिले १८ ओटा गाई भैंसी छन्। जसमध्ये १२ दुहुना छन्। फार्मबाट ‍‍‍वार्षिक ३० लाख कारोबार गर्ने बताउँदै उनले नाफा चार लाख रुपैयाँसम्म हुने जानकारी दिए। १ असोजदेखि डेरी खुलेकाले केही राहत महशुस भएको उनले बताए।

गाउँबाट उनी दैनिक एक हजार लिटर दूध संकलन गर्छन्। संकलन भएको दूधलाई चिस्यान केन्द्र ग्यालथुममा राखेर काठमाडौं ल्याउने गरेका छौं। उनी विगत २० वर्षदेखि गाउँको दूध संकलन गरेर बिक्री गरिरहेका छन्।

चनौटे बजारमा किरानासँगै तरकारी पसल राखेका दीपक दंगालको पसल पनि बाढीका कारणले विस्थापित भयो। एक महीनाअघि गोरीखोलामा उनले पुन: किराना र तरकारी पसल शुरू गरे। भन्छन्, “पहिलाको तुलनामा १० प्रतिशत पनि बिक्री हुँदैन।”

पहिले उनी गाउँ र कालिमाटीबाट तरकारी संकलन गरेर बिक्री गर्थे। “किसानको तरकारी रोप्ने खेत नै बाढीले लग्यो कति परिवार विस्थापित भए,” उनले भने, “उत्पादनसँगै बिक्री पनि घटेको छ। अघिल्लो वर्षको दशैंको तुलनामा यो वर्ष एकदमै कम बिक्री भयो।”

हेलम्बुमा समस्या भोग्ने यी किसान प्रतिनिधि पात्र मात्र हुन्। असार एक गते हेलम्बुमा आएको बाढीले चनौटे बजार विस्थापित भएपछि उत्पादन भएका तरकारी बिक्री नै नहुने गुनासो किसानको छ।


Comment

One thought on “मेलम्चीले बगाएपछि छैन बजार, निराश छन् तरकारी किसान

  1. धन्यवाद छ भागरथी जी !!! गाँउ ठाँउको कृषकको समस्यालाई अनलाइन मार्फत published गरि दिएकोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved