पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’

पोखरा। महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ।

गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तीकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्यसहित शारीरिक सुगठन विधाअन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले बताए।

उनका अनुसार प्रतियोगिता ६० केजीमाथि र ६० केजीभन्दा तल गरी दुई विधामा सञ्चालन हुनेछ। दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही क्रमशः रु २५ हजार, १५ हजार, १० हजारसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

यसैगरी महिला खेलाडीहरुको नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता रहेकाले ६० केजीमाथि र सोभन्दा तल दुई विधा समूहको प्रथम÷प्रथमबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुन सफल खेलाडीले टाइटल विजेता उपाधिका रूपमा रु ८० हजारसहित ‘गोर्खा क्लासिक बेल्ट’ र सम्मानपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरी ५० खेलाडीको सहभागिता रहने बताइएको छ। शारीरिक सुगठन विधाका खेलहरूको व्यावसायिक विकास गर्ने उद्देश्य रहेको बताउँदै उहाँले पर्यटकीय शहरमा सञ्चालन हुने यस प्रतियोगिताबाट पोखरालाई खेल पर्यटनमार्फत संसारभर चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए।

हरेक दुई÷दुई वर्षमा प्रतियोगितालाई निरन्तरता दिइने योजना आयोजकले बनाएको छ। प्रतियोगिता सञ्चालनका लागि रु १३ लाख ५० हजार खर्च लाग्ने भएकाले पुरस्कार प्रायोजक, सहयोगी एवं शुभेच्छुक व्यवसायीहरुबाट सहयोग रकम सङ्कलन गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकमा नेपाल बडी बिल्डिङ सङ्घ तथा क्षेत्रीय खेलकुद विकास समिति र भारत्तोलन सङ्घबाट प्राविधिक सहयोग उपलब्ध हुने आयोजकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved