नुवाकोट बस दुर्घटनाका घाइते ८ जनालाई काठमाडौं ल्याइयो

नेपालभ्युज

नुवाकोट बस दुर्घटनाका घाइते ८ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं। नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बस किस्पाङ गाउँपालिका-५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

किस्पाङ गाँउपालिका-१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा४ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामनामा ब्रेकले नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चार जनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ। बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेका प्रहरीले जनाएको छ।

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ। बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगाएका किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए।

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दा बढी यात्रु रहेका र उनीहरू दसैँ मनाएर काठमाडौँतर्फ आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved