पोष्ट मनसुनको असर

अझै कति दिन पर्छ पानी ?

मौसमविद् भन्छन्, ‘अब २ दिन भारी वर्षा हुनसक्छ’

गत २८ जेठमा भित्रिएको मनसुन विभागको प्रक्षेपण भन्दा नौ दिन ढिलो गरी २५ असोजमा बाहिरिएको थियो। यसवर्ष हिन्द र अरब महासागरमा पटक-पटक दोहोरिएको चक्रवातको असरले नेपालसहित दक्षिण एसियाको मौसम प्रभावित बनेको विज्ञहरुको तर्क छ।

अझै कति दिन पर्छ पानी ?

काठमाडौं। मनसुन बिदा भएपछिका दुई महीना (अक्टोबर र नोभेम्बर) नेपालका लागि सुख्खा समय हो। मनसुन उत्तरार्द्ध (पोस्ट मनसुन)मा मौसम धुम्मिने र फाट्टफुट्ट वर्षा हुने गर्छ।

तर, यसपटक ठीक उल्टो भएको छ। मध्य वर्षाझैं अधिकांश भेगको मौसम बदलिएको छ। ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशमा यस्तो गतिविधि जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अधिकारीहरुका अनुसार भू-मध्य सागर र बंगालको खाडीको वायुको दोहोरो प्रभावले अन्य प्रदेशमा पनि आंशिक प्रभाव देखिएको छ। यो क्रम बुधबारसम्म जारी रहने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

“वर्षाको मध्यम र आंशिक प्रभाव देशैभर रहन्छ, सुदूरपूर्व, प्रदेश २, लुम्बिनी प्रदेशको पश्चिमी भेग र सुदूरपश्चिममा भारी वर्षा हुँदैछ”, उनले नेपालभ्यूजसँग भनिन्, “अहिलेको प्रभावले उच्च भेगमा हिमपातसमेत हुनेछ।”

बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिम सर्ने क्रममा त्यसको असरले देशभरको मौसम प्रभावित भएको मानन्धरले बताइन्। पोस्ट मनसुनमा हरेक वर्ष वर्षाको प्रकृति एकै नासको नहुने भएकाले मनसुन जस्तो मौसमको पूर्वानुमान गर्न गाह्रो हुने विभागका अधिकारी बताउँछन्।

विगत २४ घण्टाको अवधिमा डडेलधुरामा सबैभन्दा बढी वर्षा भएको छ। जोगबुढामा १६८.८ मिलिमिटर वर्षा भएको छ। देशभरका २२५ वटा वर्षा मापन केन्द्र मध्ये १९६ केन्द्रमा पानी परेको विभागको तथ्यांक छ।

निरन्तरको वर्षाले महाकाली, भेरी र पश्चिम राप्तीका विभिन्न भेगमा बाढीको सतह खतराको तह आसपास पुगेको छ। भोलि मंगलबारसम्म महाकाली, सेती, भेरी नदी र सुदूरपश्चिम प्रदेशका मध्यपहाड, चुरेहुँदै बहने खोला र खहरेमा बाढीको बहाव बढ्ने विभागको ठहर छ। वर्षाले धेरै ठाउँको धानबालीमा क्षति पुर्‍याएको छ।

बंगालको खाडी र भू-मध्य सागरको वायुले नेपालको पोस्ट मनसुन र हिउँदयामको मौसम प्रभावित हुने गर्छ। मनसुन बिदा भएपछि भू-मध्यसागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, उत्तर-पश्चिम भारतहुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने गर्छ।

यसपटकको मनसुनमा औसतभन्दा बढी वर्षा भएकाले त्यसको असर पोस्ट मनसुनमा देखिएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउँछन्। मनसुन बिदा भए पनि आंशिक प्रभाव बाँकी रहेको र यही बेला बंगालको खाडीको असर भित्रिएकाले यसपटक विगतका वर्षभन्दा पोस्ट मनसुन सक्रिय देखिएको उनको ठहर छ।

यससँगै जलवायु परिवर्तनले मनसुनसहित अन्य बेलाको वर्षाको प्रकृति परिवर्तन हुन थालेको शाक्यको विश्लेषण छ। गत २८ जेठमा भित्रिएको मनसुन विभागको प्रक्षेपण भन्दा नौ दिन ढिलो गरी २५ असोजमा बाहिरिएको थियो। यसवर्ष हिन्द र अरब महासागरमा पटक-पटक दोहोरिएको चक्रवातको असरले नेपालसहित दक्षिण एसियाको मौसम प्रभावित बनेको विज्ञहरुको तर्क छ।

यसैबीच, मनसुन पछिको तीन महीनाको अवधिमा नेपालमा सरदर भन्दा बढी वर्षा हुने मौसमविद्हरुको ठहर छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले अक्टोबरदेखि डिसेम्बरसम्म मुलुकको पश्चिमी भेग, प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।

तीन महीनाको अवधिमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत हाराहारी रहेको विभागकी सिनियर डिभिजनल मेट्रोलोजिष्ट डा. इन्दिरा कँडेलले बताइन्। “वर्षाको सम्भावना अधिकतम ४५ प्रतिशत हाराहारी भएकाले आंकलन सतप्रतिशत मेल खान्छ भन्ने छैन। तर, मौसम गत वर्षको जस्तो खुख्खा भने हुने छैन”, उनले भनिन्।

आगामी डिसेम्बरसम्म श्रीलंका, माल्दिभ्स र चीनको दक्षिणी भू-भागमा सामान्यभन्दा कम पानी पर्ने मञ्चको विश्लेषण छ। त्यसैगरी दक्षिण एसियाको मध्य, दक्षिण पूर्व र उत्तर पूर्वी भेगमा औसतभन्दा बढी पानी पर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved