नेपालले साफ गुमाउनुका कारण : फाइनलको अनुभवको कमी र भारतसँगको ‘प्रेसर’

१२ पटक फाइनल खेलेको भारतले आठ पटक त उपाधि नै जित्यो। अनि फाइनलको प्रेसर कसरी थेग्ने भन्ने अनुभव भारतलाई जति दक्षिण एसियामा अरु कसलाई होला र?

नेपालले साफ गुमाउनुका कारण : फाइनलको अनुभवको कमी र भारतसँगको ‘प्रेसर’
फाइल फोटो

काठमाडौं। नेपालको पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने चाहना यो पटक पूरा हुन सकेन। माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाललाई एकतर्फी खेलमा ३–० गोल अन्तरले हराउँदै भारतले आठौँ पटक उपाधि उचाल्यो।

२८ बर्षमा पहिलो पटक फाइनलमा प्रवेश गरेर नेपालले एउटा इतिहास बनाए पनि उपाधि उचालेर अर्को इतिहास रच्नबाट भने चुक्यो। उपाधि जित्न नेपाललाई दक्षिण एसियाको पावर हाउस तथा सर्वाधिक सात पटकको विजेता भारतलाई हराउनु पर्ने थियो।

तर भिडन्तमा नेपालले फाइनल खेलको प्रेसर थेग्न सकेन जसको कारण हो, ठूला प्रतियोगितामा फाइनल खेलको अनुभवको कमी। नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पनि यसलाई स्वीकारे। उनी भन्छन्, “हामीले फाइनल हार्‍यौँ किनकि हामीसँग फाइनलको अनुभव धेरै थिएन, एक मिनेटभित्रै दुई गोल खानु फुटबलमा निकै कठिन चिज हो।”

नेपाल एक त इतिहासमा नै पहिलो पटक साफको फाइनलमा पुगेको प्रेसर थियो भने अर्कोतर्फ फाइनलमा नेपालको भिडन्त भारतसँग भयो। यी दुई प्रमुख कारण नेपालको पराजयका लागि पर्याप्त बने।

सन् १९९३ देखि शुरु च्याम्पियनसिपमा २८ बर्षसम्म नेपालले फाइनलको यात्रा नै तय गरेको थिएन। दक्षिण एसियामा राष्ट्रिय टिमको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको अघिल्ला १२ सहभागितामा नेपालको ठूलो उपलब्धि भनेको तेस्रो स्थानसम्म मात्र हो। यो पटक प्रतियोगिता अघिसम्म नेपालले पाँच पटक सेमिफाइनल खेलेको छ भने ६ पटक नेपालको यात्रा समूह चरणबाटै सकिएको थियो।

त्यसैले पहिलो पटक साफ फाइनल खेलिरहेको नेपाली टिममा फाइनल भिडन्तमा अनुभवको कमी देखिनु स्वभाविक थियो। साफ च्याम्पियनसिपमा मात्र होइन, अन्य प्रतियोगितामा पनि नेपालले धेरै फाइनल खेलेको रेकर्ड छैन।

पछिल्लो दुई दशकमा फिफाले मान्यता दिने आधिकारिक प्रतियोगिता नेपालको राष्ट्रिय टिमले जितेको भनेको सन् २०१६ को एएफसी सोलिडारिटी कप मात्र हो। यी बाहेक बङ्बन्धु कप र थ्री नेसन्स् कपको उपाधि जिते पनि ती आमन्त्रण प्रतियोगिता थिए। जसमा कुनै राष्ट्रका राष्ट्रिय टिम, कुनैका यू–२३ टिम र कुनै देशबाट क्लबले सहभागिता जनाउँछन्। जसले गर्दा फिफाले मान्यता दिँदैन।

दक्षिण एसियाली खेलकुद (साग) तर्फको फुटबलमा भने नेपालले सन् २०१६ र २०१९ मा उपाधि जितेको थियो। तर सागमा सन् १९९९ देखि यू–२३ टिमले सहभागिता जनाउँदै आएकाले यो प्रतियोगितामा पनि राष्ट्रिय टिमले प्रदर्शन गर्ने मौका पाउँदैन। त्यसैले नेपालको राष्ट्रिय टिमसँग ठूला प्रतियोगिता खेल्ने अनुभवको कमी छ। त्यसमाथि कम अवसरमा मात्र फाइनलसम्म पुग्छ। त्यसैले फाइनलको प्रेसर झेल्ने अभ्यासको कमी यसै पनि हुने भइहाल्यो।

उता ठिक उल्टो भारतले साफ च्याम्पियनसिपको हालसम्मको १३ संस्करणमा फाइनल नखेलेको मात्र एक पटक हो। १२ पटक फाइनल खेलेको भारतले आठ पटक त उपाधि नै जित्यो। अनि फाइनलको प्रेसर कसरी थेग्ने भन्ने अनुभव भारतलाई जति दक्षिण एसियामा अरु कसलाई होला र? भारतलाई फाइनलमा प्रतिद्वन्दीको रुपमा पाउनु नेपालको हारको अर्को मुख्य कारण बन्यो।

प्रशिक्षक अलमुताइरी आएपछि नेपाली राष्ट्रिय फुटबल टिममा धेरै सुधारका संकेत त देखिएका थिए। केही पुराना अनुहारलाई हटाउँदै टिममा युवा खेलाडीहरूलाई पनि स्थान दिएपछि नेपाली फुटबल टिममा अनुभवी स्टार खेलाडी र युवा जोशको फ्यूजन भयो।

नेपाली क्रिकेट र फुटबल दुवैलाई सँधैं एउटै खालको रोगले गाँजेको छ। नेपाली क्रिकेटमा टाउको दुखाइको बिषय हाम्रो ब्याटिङ नचलेर रन जोड्न नसक्नु हो। ठीक त्यस्तै नेपाली फुटबलमा स्ट्राइकिङ लाइन–अप नचलेर गोल गर्न नसक्नु प्रमुख समस्या हो। प्राय: खेल जति नै राम्रो खेले पनि गोल गर्ने मौकामा फिनिसिङमा चुक्दा नेपालले खेल हार्न पुग्थ्यो।

प्रशिक्षक अलमुताइरीले टिम सम्हालेपछि भने नेपालको यो समस्या बिस्तारै हटाउँदै लगेका थिए। पछिल्ला खेलमा नेपालले आक्रमक खेल नै खेल्न थालेको थियो। यो साफ अघिका ठूला राष्ट्रसँगको खेलमा हार भोगे पनि नेपालले सुधारिएको र पहिले भन्दा केही फरक शैलीको खेल प्रस्तुत गर्दै समर्थकको मन जितिरहेको थियो। यो पटक राष्ट्रिय फुटबल टिमबाट धेरैले राम्रो नतिजाको आशा राखेका थिए। धेरैले अलमुताइरीमाथि पनि विश्वास देखाएका थिए।

सोचेअनुरुप नै नेपालले लिग चरणमा राम्रो प्रदर्शन गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने इतिहास बनाउन सफल भयो। लिग चरणमा शुरुआती दुई खेलमा आयोजक माल्दिभ्स र श्रीलंकालाई हरायो। पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध १–० को ऐतिहासिक जित दर्ता गरेको थियो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई निकै रोमाञ्चक प्रतिस्पर्धामा ३–२ गोल अन्तरले पराजित गरेको थियो।

नेपालले लिगको अन्तीम खेलमा बंगलादेशसँग एक एक गोलको बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने इतिहास रचेको थियो। लिगमा नेपालले हार भोगेको पनि भारतसँग मात्र हो र फाइनलमा पनि भेट उपाधिको प्रवल दावेदार मानिएको चिर प्रतिद्वन्दी भारतसँगै भयो।

लिगमा भारत शुरुआती दुवै खेलमा बराबरीमा रोकिएको थियो। तुलनात्मक रुपमा कमजोर मानिएका श्रीलङ्का र बंगलादेशसँग बराबरिको खेल खेलेपछि भारतको फाइनल प्रवेशको संभावना कठिन बनेको थियो। तर यसपछि लगातार दुई खेलमा नेपाल र माल्दिभ्सलाई हराउँदै भारतले लिग चरणको शीर्षस्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

नेपाली फुटबलका लागि भारत सँधैं बलियो प्रतिद्वन्दी मानिन्छ। फाइनल अघिसम्मको हेड टू हेड हेर्दा पनि भारतसँगको नेपालको इतिहास निकै खराब थियो। नेपालले भारतसँग खेलेका हालसम्मका २२ खेलमा मात्र दुई खेल जितेको रेकर्ड छ।

भारत विरुद्धको दुई जितमध्ये पछिल्लो जित नेपालले साफ च्याम्पियनसिपमा नै हात पारेको थियो। सन् २०१३ मा काठमाडौंमै भएको दशौं साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको खेलमा भारतलाई २–१ गोल अन्तरले हराएको थियो।

यसअधि सन् १९९३ को दक्षिण एसियाली खेलकुद ‘साग’ को फुटबल तर्फको फाइनलमा भारतलाई टाइब्रेकरमा ४–३ ले हराउँदै नेपालले उपाधि जितेको थियो।

यसपछिका अन्य १५ खेलमा भारत विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको थियो। फिफा वरीयता क्रममा पनि भारत नेपाल भन्दा ६१ स्थान माथि छ। वरीयता क्रममा भारत मात्र १ सय ७ औँ स्थानमा छ भने नेपाल १ सय ६८ औँ स्थानमा छ।

भारतसँगको इतिहास र रेकर्डले गर्दा नेपालको राष्ट्रिय फुटबल टिमलाई भारत सँधैं हाउगुजी बन्ने गर्छ। भारतको नाम सुन्ने बितिक्कै नेपालले आफूलाई कमजोर ठान्ने मानसिकता फाइनलमा पनि काम गर्‍यो। जसको फाइदा भयो भारतलाई।

फाइनलको हारपछि प्रशिक्षक अलमुताइरीले पछिल्लो ६ महीनाको नेपाल बसाइ निकै कठिन रहेको प्रतिक्रिया दिए। उनी भन्छन्, “पछिल्लो ६ महीना म र मेरो परिवारका लागि निकै कठिन थियो। म अब एक दुई हप्ता आराम गर्न चाहन्छु, परिवारसँग केही समय बिताउन चाहन्छु। अनि त्यसपछि मात्र नेपाल आउने वा नआउने बारे अन्तीम निर्णय गर्छुँ।’’

उनले यसअघि नै तीन पटक नेपाल छाड्ने घोषणा गरिसकेका छन्। खेलपछि आफूलाई दिएको मायाका लागि नेपाली समर्थकलाई उनले धन्यवाद पनि दिए। नेपाली समर्थककै कारण नेपाली फुटबल छाड्न आफूलाई कठिन भएको बताउँदै उनले नेपाल आफ्नो मुटुमा भएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved