एजेन्सी। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ। भारी वर्षासँगै आएको बाढीका कारण धेरै घरपरिवार विस्थापित भएको बताइएको छ।
केरेला राज्यको कोटयाम जिल्लामा आएको बाढी बस्तिभित्र पसेसँगै धेरै घर बगाएको छ भने मानिसहरु थुनिएका छन्।
बाढीको पानीका कारण बसहरु डुवानमा परेसँगै यात्रा गरिरहेका यात्रुलाई उद्दार गरेको दृश्य समाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन्। केही दिन देखि निरन्तर परेको पानीसँगै ठूलो पहिरो गएपछि भारतीय सेना उद्दार कार्यमा खटिएका छन्।
केरेला राज्यको कोेटयाम जिल्लामा बाढी पसेपछि पीडित व्यक्तिको उद्दारमा सेनाको हेलिकप्टर परिचालन गरिएको छ। सेनोको हेलिकप्टरले मानिसको उद्दार गर्नुका साथै अत्यावश्यक सामाग्री वितरण गरेको छ। पहिरोका कारण दलल बढेपछि फसेका व्यक्तिहरुको उद्दार गर्न सेनाको परिचालन गरिएको जनाइएको छ।
बाढीका कारण बाटोका केही भाग नै बगाएको छ भने रुखहरु ढलेका छन्।
नदी क्षेत्रका केही स्थानहरुमा बसेका स्थानियहरुको उद्दारका लागि माछा मार्न प्रयोग गरिने डुंगाको प्रयोग गरिएको छ।
जिल्लाका धेरै मानिस बेपत्ता रहेको बताइएको छ भने बाढीका कारण अझै धेरै मानिसको निधन भएको हुनसक्ने आकलन गरिएको छ।
उद्दारका लागि खटिएको टोलीलाई स्थानिय मानिसहरुले पनि सहयोग गरेका छन्। जीवित व्यक्तिहरुको खोज कार्य जारी रहँदा स्थानिय व्यक्तिहरुले बाढीले ल्याएको माटो, ढुंगा र ढलेका रुखहरु हटाउन सहयोग गरेका छन्।
बाढीबाट विस्थापित व्यक्तिहरुलाई राख्न राज्यका धेरै स्थानमा शरणार्थी केन्द्रको निर्माण गरिदैँछ।
भारी वर्षापछि केरेलामा बाढी आउनु नौलो भने होइन। तर, बढ्दो शहरीकरणका कारण त्यहाँ प्राकृतिक रुपमा बाढी छेक्ने ठाउँहरुको अभाव भने हुन थालेको छ।
२०१८ मा आएको बाढीका कारण केरेलामा करिब ४ सय मानिसको निधन भएको थियो भने १० लाख मानिस विस्थापित भएका थिए। उक्त बाढीलाई केरेलाको शताब्दीकै ठूलो बाढीका रुपमा लिइन्छ।
सोही वर्ष संघीय सरकारले गरेको एक अध्ययन अनुसार केरेला राज्यमा करिब ४४ नदी छन्, जसले गर्दा उक्त राज्य भारतकै प्रमुख १० पाहिरोयुक्त स्थान रहेको बताइएको थियो।