महाधिवेशनपछि मात्रै देउवा भारत भ्रमणमा जाने

देउवा प्रम नियुक्त नहुँदै कांग्रेसका सांसद समेत रहेका विनोद चौधरी दिल्ली गएका थिए। स्रोतका अनुसार उनले देउवाका तर्फबाट महत्वपूर्ण भेटघाट र संवाद गरे। त्यसपछि देउवाका ‘विश्वासिला’ नेता एनपी साउँद दिल्ली गए। यसबीच विमलेन्द्र निधि पनि दिल्ली पुगे।

महाधिवेशनपछि मात्रै देउवा भारत भ्रमणमा जाने
फाइल तस्वीर

काठमाडौंं। प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरमा हुने पार्टीको १४ औँ महाधिवेशनपछि मात्रै भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री भएलगत्तै भारतबाटै पहिलो भ्रमण गराउने प्रयास भएपनि देउवाले महाधिवेशन पछि मात्रै जाने अडान राखेकाले मिति धकेलिएको हो।

नेपालका नयाँ प्रधानमन्त्रीहरू नियुक्तिसँगै भारतबाटै विदेश भ्रमण शुरु गर्ने भएकाले यो ‘परम्परा’ जस्तै बन्दै आएको छ। यही कार्तिकमा जलवायु सम्मेलनमा सरिक हुन स्कटल्याण्ड जाँदै गरेका देउवाले त्यो ‘परम्परा’ नपछ्याउने संकेत दिएका छन्।

“प्रधानमन्त्रीलाई तत्कालै भारत गइहाल्नु पर्ने कुनै बाध्यता छैन,” देउवा निकट कांग्रेस नेता उदयशमसेर राणा भन्छन्, “कोभिड महामारीको समस्या छ, पार्टी महाधिवेशन गर्नुछ। विस्तारै मिलाएर जानुहुन्छ। हतार छैन।”

राणा हालै देउवाका तर्फबाट भारत भ्रमण गएका थिए। कांग्रेस सहमहमन्त्री प्रकाशसरण महतको समूहमा उनी र अजय चौरसिया पनि सम्मिलित थिए। महत समूह जानुअघि भारतीय जनता पार्टीका नेता विजय चौथाईवाले पनि आएका थिए। चौथाईवाले गत ६ भदौमा  महतको निम्तोमा काठमाडौंं आएका थिए। रक्षाबन्धनको दिन काठमाडौं आएका उनलाई देउवा पत्नी आरजु राणाले वालुवाटारमा रक्षा बन्धन गरेपछि चर्चाको विषय बनेको थियो। तिनै चौथाईवालेको निमन्त्रणामा महत टोली दिल्ली गएको हो।

खासमा यी भेटघाटका श्रृङ्खलाको अन्तर्यमा सम्बन्ध सुधारको प्रयत्न लुकेको छ। २०७४ मा भएको तीनै तहको निर्वाचनका बखत देउवाको भारत सम्बन्ध चिसिएको भन्दै खबर सार्वजनिक भएका थिए। गत जेठमा ५ पूर्व प्रधानमन्त्रीहरूको ‘प्रेस विज्ञप्ती’ ले झनै चिसोपना थपेको थियो। पाच मध्ये देउवा पनि थिए।

असार २९ गते देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भए लगत्तै भारत र देउवा दुवै पक्ष सम्बन्ध सुधारको प्रयत्न गरिरहेका छन्। भारत देउवासँग प्रत्यक्ष परोक्ष निरन्तर संवादमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट नेताहरू, भाजपाका विदेश विभाग प्रमुख काठमाडौं आएर देउवासँग भेट गरे भने देउवाले पनि आफ्नो विश्वासिलो समूहलाई औपचारिक रुपमै भारत पठायो। महत समूहले सार्वजनिक खपतका लागि जे जे भनेपनि उनीहरू देउवाको राजनीतिक सन्देश बाहकका रुपमा भारत पुगेका हुन्।

२९ असारमा देउवा प्रम नियुक्त नहुँदै कांग्रेसका सांसद समेत रहेका विनोद चौधरी दिल्ली गएका थिए। स्रोतका अनुसार उनले देउवाका तर्फबाट महत्वपूर्ण भेटघाट र संवाद गरे। त्यसपछि देउवाका ‘विश्वासिला’ नेता एनपी साउँद दिल्ली गए। यसबीच विमलेन्द्र निधि पनि दिल्ली पुगे।

२१ असोजमा गएको महत समूह २४ असोजमा फर्किएको छ। भाजपाको निमन्त्रणामा गएको यो समूहले दिल्लीमा भाजपा अध्यक्ष जेपी नडा, विदेशमन्त्री एस जयशंकरलाई भेटे। त्यसपछि लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सँग भेटे भने वनारसमा नेपाल भारत सम्बन्ध बारेमा अन्तक्रियामा सहभागी भए। यो भ्रमणमा भाजपा र नेपाली कांग्रेसवीच ‘पार्टी टु पार्टी’ सम्बन्ध विकास र विस्तार भएको नेता राणाले बताए।

तर, कांग्रेसका अर्का एक नेता यी भेटघाटका श्रृङ्खलालाई देउवाको रणनीतिका रुपमा बुझ्छन्। औपचारिक टिप्पणी गर्न नचाहेका एक केन्द्रीय नेता भन्छन्, ‘‘पार्टी टु पार्टी सम्बन्ध वा रक्षाबन्धन कुटनीति जे देखिएपनि खासमा देउवा महाधिवेशनमा भारतको साथ र सहयोग चाहान्छन्। आफू निकट निधिसँग दुरी बढेपछि उनी भारतमार्फत उनलाई तटस्थीकरण गर्न चाहन्छन्।’’ निधि भारतीय उक्साहटमा देउवा विरुद्ध उभिएको विश्लेषण कांग्रेसभित्रै छ।

भारतीय संस्थापन सँधैं जनमत भएको र सत्तासीन शक्तिसँग जोडिन चाहन्छ। यसअघि कम्युनिष्ट सरकार र नेतासँग अधिक सम्बन्धमा बस्न चाहेको भारतले देउवा प्रम भए लगत्तै उनीसँगै संवाद र भेटघाट बढाउन चाहेको देखिन्छ। त्यसमाथि पनि भारतीयहरूलाई कांग्रेस सत्तामा हुँदा आफ्नो प्रभाव बढाउन सहज हुने गरेको विश्लेषण हुँदै आएको छ। गत चुनावमा देउवा कमजोर हुँदा भारतको कांग्रेस प्राथमिकता कम थियो, अहिले बढेको छ। ‘‘आगामी चुनावबाट पनि कांग्रेस नै बलियो हुने अनुमान अहिले देखि नै चलेकाले पनि भारत देउवासँग संवाद र सहकार्य अघि बढाउन चाहान्छ,’’ एक विश्लेषक भन्छन्।

महत भ्रमण टोलीका अर्का सदस्य अजय चौरसिया पनि यसै भन्छन्। कांग्रेसको नेतृत्वमा सरकार बनेपछि भारतीय संस्थापन उत्साहित भएको उनले बताए। ‘‘भाजपाले सरकार र पार्टी दुवै सँग सुमधुर सम्बन्ध बनाउन चाहेको देखियो,’’ भ्रमणको सार सुनाउँदै उनले भने, ‘‘सम्बन्ध के कसरी अघि बढ्छ, त्यो अहिल्यै भन्न सक्दिनँ। तर यो भ्रमणबाट मैले पाएको इम्प्रेसन चाहिँ भाजपाले सम्बन्ध बलियो बनाउने चाहेको देखें।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved