दशैं स्मृति

दक्षिणा बटुल्न नचिनेका घरमा पनि टीका थाप्न गइयो

दिनभरि हिँडेर लखतरान परेर साँझतिर घर फर्किँदा गाली खाइन्थ्यो। “चाडबाडका बेलामा घाममा लखरखर हिँडेर, खानवर्न नि पर्दैन”, आमाको माया मिसिएको गुनासो सधैं यही हुन्थ्यो।

दक्षिणा बटुल्न नचिनेका घरमा पनि टीका थाप्न गइयो

सायद मेरो बाल्यकालको दशैं पनि अरू बच्चाको जस्तै हो। प्रायः बच्चा बेलाको दशैं सबैको उस्तै–उस्तै होला।

सानो छँदाको मेरो दशैं साथीहरूसँग घुलमिल हुने र घुम्ने अवसर थियो। मेरो घर नवलपरासीको भुताहा भन्ने गाउँमा पर्छ। दशैं लागेपछि म साथीहरूसँग गाउँ‘ वरिपरिका क्षेत्रमा घुमेरै बिताउँथें। अरू बेला सबैको धेरै फुर्सद नहुने, पढ्नुपर्ने, स्कूल जानैपर्ने, होमवर्क गर्नुपर्ने, अझ कतिलाई त घरको काम पनि गर्नुपर्थ्यो।

खेल्ने समय पनि धेरै पाइँदैनथ्यो। दशैंमा त सबैको बिदा हुने, अरू काम पनि खासै हुँदैनथ्यो। त्यसैले त्यो बेला साथीहरूसँग धेरै समय बिताउने, खेल्ने, घुम्ने र रमाइलो गर्ने मौका मिल्थ्यो।

कतिपय साथी काठमाडौंतिर बसेर पढ्थे। त्यसैले जाडो गर्मीको लामो बिदा र दशैंमा मात्र गाउँघरतिर आउँथे। त्यसैले त्यो बेलामा दशैंमा नयाँ पुराना साथी घुलमिल भएर दिनभरि घुम्ने नै मुख्य काम हुन्थ्यो।

हामी साथीहरूको हुल नै हुन्थ्यो। कहाँ–कहाँ पिङ हालेको छ, कहाँ–कहाँ लङ्गुरबुर्जाहरू थापेको छ, कता रमाइलो छ भनेर खोज्दै डुली–डुली हिँड्थ्यौं, दिनभरि। कहिलेकाहीँ त रमाइलोको खोजीमा हिँड्दा हिँड्दै कहिले नपुगेको नयाँ–नयाँ गाउँमा पनि पुग्थ्यौं।

दिनभरि हिँडेर लखतरान परेर साँझतिर घर फर्किँदा गाली खाइन्थ्यो। “चाडबाडका बेलामा घाममा लखरखर हिँडेर, खानवर्न नि पर्दैन”, आमाको माया मिसिएको गुनासो सधैं यही हुन्थ्यो।

सानो बेलामा त दिनभरि घुम्दा, डुल्दा पनि भोक तिर्खा केही नलाग्ने। जहाँ जे पायो त्यही खायो। साथीहरूमध्ये कोहीसँग पैसा रै’छ भने केही किनेर खाइन्थ्यो नत्र भोकै हो। अहिलेको बच्चाहरूसँग त खर्च गर्ने पैसा भएको देख्छु। हाम्रो समयमा दुई चार रुपैयाँ गोजीमा हुनु पनि ठूलो कुरा हुन्थ्यो। कहिलेकाहीँ दुई चार रुपैयाँ कतै पाइन्थ्यो तर त्यो पनि ‘चैट’ भैहाल्थ्यो। पैसा पाउनेबित्तिकै पसलमा बुझाउन कुदिहालिन्थ्यो।

गाउँ र नजिकैको बजारको चोकमा लङ्गुरबुर्जाहरू खेलेको हुन्थ्यो। पैसा नहुने त्यसैले ठूला दाइहरूले खेलेको तमासा हेरेर बस्थ्यौं। पिङ भने धेरै खेलियो, आफ्नो नजिकको पिङ खेलेर मात्र कहा पुग्थ्यो र ? अरूको गाउँमा कत्रो, कतिको मजा आउने पिङ हाले भनेर सबतिर चेक गर्दै हिड्नुपर्ने हामीलाई। अनि जहाँको पिङ खेल्न बढी मजा आउँथ्यो त्यहीँ पुगिन्थ्यो सधैं।

कतिपय बेला त झगडा पनि पर्थ्यो। बल्लबल्ल आफ्नो खेल्ने पालो आउँथ्यो, अनि आफ्ना पालो आएपछि छोड्दै नछोड्ने। कहिले त अरूकै  पालामा पिङमा गएर झुण्डिदिरहने। आफ्नो टोलतिर त यस्तो चल्थ्यो। अर्काको गाउँमा गएर यस्तो गर्न थालेपछि त झगडा पर्ने भैहाल्थ्यो नि।

बच्चा बेलाको दशैं र अहिलको दशैंमा धेरै नै फरक भैसक्यो। पहिला साथीहरूसँग धेरै रमाइलो गरिन्थ्यो। दशैंमा गाँउभरि टीका लाउन गइन्थ्यो। सानोमा अरू कुराको केही वास्ता हुने थिएन। पैसा पाइन्छ भन्ने हुन्थ्यो अनि अरूको घर-घरमा टीका थाप्न गइन्थ्यो। सबै गाउँ नै चहारिन्थ्यो।

धेरै पैसा बटुल्ने लोभमा साथीभाइ मिलेर चिन्दै नचिनको मान्छेहरूको घरमा पनि टीका लगाउन गइयो। धेरैजसोले त बच्चाबच्ची आएछन् भनेर माया गर्थे, टीका लगाएर पैसा दिन्थे। कतिपय ठाउँमा गाली पनि पाइन्थ्यो।

त्यो बेला गाउँ डुलेर पैसा बटुल्नुको मजा आफ्नै थियो। अहिले त त्यस्तो हुँदैन। आफ्नो घर र मामाघरमा मात्र टीका लगाइन्छ अनि दशैं सकियो। प्रायः साथीहरू पनि सबैजसो बिदेशमा छन्। सब आआफ्नो काममा र पढाइमा व्यस्त छन्। अब त भेट हुन नै गाह्रो छ। यता भएका साथीहरूसँग पनि हाई हेल्लो गर्‍यो, बस त्यति हो।

मैले दशैंमा नगरेको एउटा काम भनेको चाहि चंगा उडाउनु। मैले चंगाचाहिँ कहिले पनि उडाइनँ। अरू साथीहरूले त उडाउथे तर मलाईचाहिँ कहिले पनि चंगा उडाउन आएन।

त्यसैले सधैं अरुले उडाएको मात्र हेर्थें। चंगामा खासै रुचि थिएन। अरू साथीहरू भने चंगा उडाउन भनेपछि मरिहत्ते गर्थे। अझ चंगा जुधाएर, चेट पारेर, अरूको चेट भएको चंगा लिन हारालुछ हुन्थ्यो। तर मलाईचाहिँ खै किन हो, यसमा खासै रुचि थिएन।

लुगाको चाहिँ म बच्चै बेलादेखि एकदमै सौखिन। मम्मीबाबासँग रोएर हुन्छ कि कराएर हुन्छ कि नयाँ लुगा त किन्नैपर्ने। दशैंमा नयाँ लुगा किन्न नपाए त त्यो बेला ठूलै तहल्का मच्चाउँथें मैले।

मासु खाने कुरामा सामान्य रहर थियो। मासुमा त्यति साह्रो मरिहत्ते गर्ने थिइनँ।

ऊ बेलाको दशैं सम्झँदा अहिले पनि रमाइलो लागेर आउँछ। अहिलेको दशैंको रमाइलो कहाँ त्यस्तो छ र ? हुन त समय पनि परिवर्तन भयो। आफू पनि ठूलै भइयो।

जे भए पनि बच्चा बेलाको दशैंको जस्तो रमाइलो त अब कहिले पनि आउँदैनजस्तो लाग्छ। सायद बच्चा बेला भनेकै आफैमा रमाइलो बेला होला। केही पीर, चिन्ता नहुने। कसैको डर, लाज र मतलब पनि नहुने। बिन्दास पाराको लाइफ क्या। त्यही भएर होला, बच्चा बेलामा जे पनि मजा लाग्ने। झन् दशैंको त कुरै नगरौं।

दशैंमा मामाघर रमाइलो नहुने त कुरै भएन। मेरो मामाघरचाहिँ चितवन हो। विशेषगरी मामाघर भन्नेबित्तिकै दक्षिणा धेरै पाइन्छ भन्ने आस हुन्थ्यो। यता घरतिर त खासै पैसा पाइन्नथियो। पाए पनि थोरै पाइन्थ्यो।

मामाघरमा त भान्जाभान्जीलाई टीका लगाएर अलिक धेरै पैसा दिने। त्यही भएर घरमा टीका लगाउनको मज्जाभन्दा पनि कहिले घरमा टीका लगाइसकिएला र मामाघर जान पाइएला भन्ने हतारो हुन्थ्यो।

म सानैदेखि फुटबल खुब खेल्थें। एन्फा एकडेमीबाट खेल्न थालेपछि र अझ यू–१४ राष्ट्रिय टिममा परेपछि त झन फुटबलले धेरै तान्यो। कहिलेकाहीँ प्रतियोगिता दशैंमै पर्थ्यो। दशैंमा गेम नपरेका बेला पनि आउँदो टाइमका लागि भनेर क्लोज क्याम्प हुन्थ्यो। टिमको ट्रेनिङ हुन्थ्यो। जसले गर्दा कतिपय दशैं त मनाउन नै पाइएन।

तर त्यो बेलामा दशैंभन्दा पनि खेलमा नै बढी केन्द्रित हुन्थें। दशैं मनाउन नपाउँदा नरमाइलो त लागिहाल्थ्यो। चाडपर्वहरूमा घर परिवारसँगै बस्न नपाउदा कसलाई नरमाइलो नलाग्ला र ? तर प्रतियोगिताका बेलाचाहिँ खेलमै भुलिन्थ्यो। फेरि म आफू मात्रै एक्लो हुने होइन नि त। अरू खेलाडी साथीहरू पनि हुन्थे। अनि जहाँ छौं त्यहीँ आफ्नै हिसाबले चाडबाड मनाइन्थ्यो। त्यसको फेरि बेग्लै रमाइलो हुन्थ्यो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved