छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

नेपालभ्युज

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। बारा र हेटौंडामा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको निधन भएको छ। वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा ट्यांकरले कारलाई ठक्कर दिँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ।

शुक्रबार राति पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको भारतीय कारलाई ठक्कर दिएको थियो। कार चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, सोही कारमा रहेका २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको हो।

मृतक मध्ये सुरज र कृतको ठेगाना खुल्न बाँकी रहेको बारा प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्यांकर चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए।

शुक्रबार राति यात्रुवहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौडाका २२ वर्षीय प्रकाश दियाली र २२ वर्षकै सुशान्त दियालीको निधन भएको छ। झापातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले शुक्रबार राति ९ बजे ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

हेटौंडा उपमहानगरपालिका–१५ वनढाटमा बसले मोटरसाइकललाई ठक्कर दिएको र घाइतेको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, तीन जना चढेको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारको रुखमा ठोकिँदा शुक्रबार साँझ एक जनाको निधन भएको छ। प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकलका चालक वीरगञ्ज महानगरपालिका–२७ का २४ वर्षीय सोवितलाल यादवको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको र एउटै मोटरसाइकलमा रहेका घाइते दुई जनाको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved