ऐतिहासिक बेनीकोत पुनःनिर्माण हुँदै

ऐतिहासिक बेनीकोत पुनःनिर्माण हुँदै
बेनी बजारको दृश्य।

म्यादी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण हुने भएको छ। तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण अवस्थामा थियो। जीर्ण अवस्थामा रहेको कोतघरको पुनः निर्मााण हुने भएको हो।

बेनी नगरपालिकाले जिल्लाको सदरमुकाममा रहेको ऐतिहासिक कोतघरको पुनःनिर्माणको जिम्मा लिएपछि जीर्ण रहेकोमा रहेको कोतघरको संरक्षण हुने भएको हो। उक्त स्थानलाई नगरपालिकाले पर्यटकीयस्थलका रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम शुरु गरेको छ।
नगर कार्यपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताएका छन्।

“पाँच लाखबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ,” प्रवक्ता बराइलीले भने, “अर्को शीर्षकमा विनियोजन भएको आठ लाखबाट कोतघर पुनःनिर्माण गर्न लागेका छौँ।” कोतघर संरक्षण तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम सकिएको उनले बताए।

यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ।

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ। विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३ सय ४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो।

प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ। ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए।

पौराणिक महत्व, मौलिकता र इतिहास संरक्षण गर्नेे गरी कोतघर पुनःनिर्माण गर्नुपर्ने स्थानीयवासी पदमबहादुर खत्रीले बताए। कोतघरको संरक्षणसँगै त्यहाँ रहेका ऐतिहासिक हातहतियार अवलोकन गर्न मिल्ने गरी पुनःनिर्माण गर्न लागिएको छ। कोतघरमा बडादशैँै र चैतेदशैँँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ।

यस स्थललाई पुनःनिर्माण र संरक्षण गर्नसके पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सकिने र म्याग्दी तथा मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved