लेकाली बस्तीमा न दशैं आउँछ न तिहार

लेकाली बस्तीमा न दशैं आउँछ न तिहार

फुङ्लिङ। विजयादशमी दशैंको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै।

त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौओटारमा उनको गोठ छ। छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० ओटा छ। दशओटा दुहुना छन्। बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ।

तिनलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ। यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो। वर्ष दिनमा आउने दशैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताउँछन्। चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए। मौओटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौओटा याकको घुम्ती गोठ छ। मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ। हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैंको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पा बताउँछन्। शहर बजारमा दशैं तिहारको उत्साह छाए पनि हिमाली बस्तीमा न उत्साह न उमंग। चौँरीलाई चराउँदै दिन बित्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved