विदेशी दूतावासका लागि नेपालीसँग नजिक हुने अवसर बन्दै नेपालका पर्व

नेपालभ्युज

विदेशी दूतावासका लागि नेपालीसँग नजिक हुने अवसर बन्दै नेपालका पर्व

काठमाडौँ । बडादशैँको उपलक्ष्यमा नेपालस्थित विभिन्न दूतावासले शुभकामना व्यक्त गरेका छन्।

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी  बेरीले एक भिडियो सन्देश जारी गर्दै दशैँको शुभकामना दिएका छन्। “दशैँ मलाई मन पर्ने पर्व हो, असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्वको सम्पूर्णमा शुभकामना,” सार्वजनिक भिडियो सन्देशमा भनिएको छ।

यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सम्पूर्ण नेपालीहरुलाई सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
राजदूत यान्छी एक कदमअघि बढ्दै दशैँका अवसरमा दूतावासमा काम गर्ने नेपाली कर्मचारीहरुलाई टीका समेत लगाई दिएकी छन्।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले पनि बडा दशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्। समाजिक सञ्जालमा राजदूत क्वात्राले विजया दशमीको सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका हुन्।

यस्तै नेपालस्थित अष्ट्रेलियाली राजदूतले विभिन्न शक्तिपिठ दर्शन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

पछिल्लो समय नेपालमा मनाइने धेरै जस्तो पर्वहरुमा नेपालस्थित विदेशी नियोगहरुले आफूलाई पनि जोड्ने गरेका छन्। चाडपर्वको शुभकामना दिँदै जनतासँग जोडिने प्रयासमा दूतावास रहेको देखिन्छ।

सार्वजनिक कूटनीतिक अभ्यासका क्रममा विदेशी नियोग विशेषगरी नेपालमा चासो व्यक्त गर्ने देशहरुले शुभकामना दिने प्रचलन बढ्दै गएको छ। दशैँमा शक्तिपिठ भ्रमण गरेको, टीका लगाएको फोटो सार्वजनिक हुने गरेका छन्। भने, तिहारमा विभिन्न परिकार पकाएका फोटाहरु सार्वजनिक हुने गरेका छन्।

नेपाली मौलिक परम्परासँग आफ्नो पनि सामिप्यता रहेको देखाउने प्रयत्न स्वरुप यस्ता क्रियाकलाप बढ्दै गएको छ।

काठमाडौँ स्थित अमेरिकी र चिनियाँ राजदूत पछिल्लो समय नेपालमा सार्वजनिक कूटनीतिमा निकै नै सक्रिय रहेको छन्। नेपालसँग सम्बन्धित साना साना घटनामा पनि समाजिक सञ्जालमार्फत आफ्नो चासो व्यक्त गरेको पाइन्छ।

नेपाली खेलाडीहरुले कुनै उपलब्धि हाँसिल गर्दा होस् वा नेपालमा कुनै दुर्घटना हुँदा राजदूतहरु नेपालीसँग आफू रहेको सन्देश प्रवाह गर्न अग्रसर हुने गरेको देखिन्छ।

सार्वजनिक कूटनीतिका मामिलामा भारतीय दूतावास भने तुलनात्मक रुपमा सक्रिय देखिँदैन। भारतीय दूतावास सक्रिय नहुनुको कारण रहेको धेरैको विश्वास छ। प्राचिन समयदेखि नै नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध रहँदा अन्य देशलाई जस्तो भारतलाई नेपालको सांस्कृतिक पर्वमा यहाँको मौलिकतासँग जोडिने प्रयास गर्नुनपर्ने बुझाई रहेको पाइन्छ।

परिर्वतित सन्र्दभमा जनतासँग नजोडिने कूटनीतिक सम्बन्ध प्रभावकारी नहुने विश्वास पनि गरिन्छ। शक्ति राष्टहरुले आफू अवस्थित रहेको देशको सांस्कृतिकसँग एकाकार हुँदै आफ्नो प्रभाव विस्तार गर्ने चलन विश्वभर नै प्रचलित रहेको छ। यसै सन्र्दभमा नेपालका पनि अमेरिका, चीन लगायतका देशले सार्वजनिक कूटनीतिक माध्यमलाई प्रभावकारी बनाउने उपायको अवलम्भन गर्ने गरेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved