सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले दुई वर्ष यता राष्ट्रले बेहोरिरहेको कोरोना, राजनैतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताएका छन्। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा-४ मा बिहीबार फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संकट पार हुँदै गएकोमा अब समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए।
युवाहरुको उर्जा र उत्साह देश विकासमा लगाउनु पर्ने उनको भनाई थियो। सभामुख सापकोटाले अहिले नेपाल महान बसहको प्रक्रियामा रहेकाले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गरे।
उनले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधि सभाको रक्षाका लागि आफूले सबैभन्दा बढी समय दिएको बताएका थिए।
सभामुख सापकोटाले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरे। आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने बताए। भवन उद्घाटनमा भारतीय महान् स्वतन्त्रता सेनानी भगतसिंहको स्मरण गर्दै उनले भने, ‘‘नेपाल आमा भन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केही पनि छैन।’’
सभामुख सापकोटाको स्थानीय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट पाँच लाख गरी ५५ लाख लगानीमा फ्याफुल्ला क्लबको सुविधा सम्पन्न दुईतले भवन र खेलमैदान निर्माण गरिएको छ।