दशैं र नेपाली कृषिप्रधान समाजको अभिन्न सम्बन्ध छ : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी छन्र। बडादशैं आश्विन महीनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको विशेष महत्व रहेको बताएकी छन्।

“वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दशैं पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो। यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ”, सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved