जापानका प्रधानमन्त्री किशिदाले गरे संसद् विघटन, ३१ अक्टोबरमा निर्वाचन

किशिदाले भनेका छन्, ‘म एकदमै व्यस्त छु तर, मैले थकित महशुस गरेको छैन, आफू पूर्ण भएको महशुस गरिरहेको छु।’

नेपालभ्युज

जापानका प्रधानमन्त्री किशिदाले गरे संसद् विघटन, ३१ अक्टोबरमा निर्वाचन

एजेन्सी । जापानका प्रधानमन्त्रीले फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि त्यहाँको संसद्को तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी प्रधानमन्त्रीले संसद् विघटन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।

बिहीबार बसेको संसद् बैठक लगत्तै ३१ अक्टोरमा निर्वाचन मिति तय गर्दै संसद् विघटन भएको हो। संसद्को पूर्ण कार्यकाल समाप्त हुनै लाग्दा प्रधानमन्त्रीले संसद् विघटन गर्दै निर्वाचनमा जाने निर्णय गरेका हुन्। यही २१ अक्टोरमा त्यहाँको संसद्को पूर्ण कार्यकाल सकिदै थियो।

सत्तारुढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि किशिदा ४ अक्टोरमा जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। निवर्तमान प्रधानमन्त्री योशिहिदो सुगाबाट प्रधाानमन्त्रीका कार्यभार समालेका किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएको ११ दिनमा नै निर्वाचनमा जाने निर्णय गरेका हुन्।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए। प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम पनि ल्याएका छन्।

आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि जनसमर्थन प्राप्त हुने अपेक्षा उनको छ। उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह पनि गरेका छन्।

निर्वाचनपूर्व गरिएको सर्वेक्षणमा किशिदाको पक्षमा राम्रो जनमत देखिएको छ। त्यसैलाई आधार बनाएर उनले निर्वाचनमा जाने निर्णय गरेको बताइन्छ।

यसअघि जापानमा प्रतिनिधिसभाको निर्वाचन सन् २०१७ मा भएको थियो। जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आवेको नेतृत्वमा भएको निर्वाचनमा उनको दल एलडीपी बहुमतका साथ निर्वाचित भएको थियो। त्योसँगै आवे जापानमा सबैभन्दा धेरै समय नेतृत्वमा रहने प्रधानमन्त्री बनेका थिए।

यो पटकको निर्वाचनमा भने किशिदाले एलडीपी पार्टीको नेतृत्व गर्नेछन्। किशिदा नेतृत्वको एलडीपी कोमिटो पार्टीसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी हुँदैछ।

‘म निर्वाचनलाई प्रयोग गर्दै जापानका आम मानिसलाई हामीले के गर्ने प्रयास गरेका छौँ भन्ने जानकारी दिन चहान्छु,’ प्रधानमन्त्री किशिदाले आफ्नो कार्यलयमा जम्मा भएका पत्रकारको प्रश्नमा जवाफ दिँदै भनेका छन्।

आफ्नो कार्यकालको विषयमा पत्रकारहरूलाई बताउँदै किशिदाले भनेका छन्, ‘म एकदमै व्यस्त छु तर, मैले थकित महशुस गरेको छैन, आफू पूर्ण भएको महशुस गरिरहेको छु।’

प्रधानमन्त्री किशिदाले निर्वाचन मिति तोकेसँगै जापानको प्रमुख प्रतिपक्ष दल कन्टिच्युशन डेमोक्याटिक पार्टी अफ जापान (सीडीपीजे) ले बढ्दै गएको धनी र गरीबबीचको असमानता कम गर्ने प्रयास गर्ने बताएको छ। विपक्षी पार्टीले आफ्नो योजना सम्पत्तिको पुन: वितरण रहेको जनाएको छ।

यता प्रधानमन्त्री किशिदाले पनि यस्तै वाचा गरेका छन्। दुई पार्टीबीचको नीतिगत भिन्नतालाई कम गर्दै प्रधानमन्त्री किशिदाले पनि सम्पत्तिको असमान वितरण कम गर्ने प्रयासमा आफू जाने बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved