तलेजु भवानीमा दर्शनार्थीको भिड

नेपालभ्युज

तलेजु भवानीमा दर्शनार्थीको भिड

काठमाडौँ । नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ।

प्रत्येक वर्ष महानवमीका दिन खुल्ने यस मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लाग्छ।

काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानदेखि खुला गरिएको हो।स्थानीय महादेव मखन क्लबले सुरक्षाकर्मीसँग समन्वय गरी भीड व्यवस्थापनका साथै प्रारम्भिक स्वास्थ्य उपचारमा सहयोग उपलब्ध गराएको छ।

उक्त क्लबले इन्द्रजात्रा, गाईजात्रा, शिवरात्रि, तीज, साउनको सोमबार, कृष्णजन्माष्टिमी लगायत पर्वमा पनि सम्पदा स्थलमा आउने भक्तजनको सहजताका लागि आवश्यक सहयोग जुटाउँदै आएको छ। विधिविधान पूर्वक कुमारीलाई राति ९ बजे मूल चोकमा ल्याएर तलेजु भवानीको दर्शन गराइने गौतम शाक्यले जानकारी दिनुभयो । कुमारीघरबाट मूलचोकसम्म कुमारीलाई लगिनेछ। जीवित देवीका रुपमा कुमारीप्रति आस्था गर्ने गरिन्छ।

कामपा–२४ का वडा सदस्य विनोद तुलाधरले मन्दिर तथा त्यस आसपास क्षेत्रमा आएका भक्तजनलाई आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर दर्शनको व्यवस्था मिलाइएको जानकारी दिए। गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर बन्द गरिएको थियो। तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइने गरिन्छ भने दशमीका दिन बिहान शुभ सइतमा मूल मन्दिरमा लगिन्छ। मूलचोकमा अष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइने गर्छ।

मुलुकमा कुनै प्रकारको अनिष्ट नहोस् भनेर समग्र देश र जनताको कल्याणको कामना गर्दै तान्त्रिक विधिबाट बलि दिने परम्परा रहि आएको छ। राज्य सञ्चालनका क्रममा शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजासमेत गर्ने परम्परा छ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित कोतपूजा गरिन्छ। काठमाडौँ उपत्यकामा भएका सात विश्व सम्पदास्थलमध्ये महत्वपूर्ण मानिएको यस क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिर देख्न सकिन्छ।

त्यसैगरी प्राचीन कला, संस्कृतिको जीवन्ततासमेत यहाँ हेर्न पाइने भएकाले पर्यटकीयस्थलका रुपमा समेत विकास भएको छ यो क्षेत्र। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजाआराधना गरिन्छ। नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ।

यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गर्ने गरिन्छ। दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन रहेको छ। वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइने गरिन्छ। बडा दशैँ समेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन्।

मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा शक्तिपीठको पूजा, आराधना गरिने हुँदा भक्तजन दर्शनका लागि पुग्ने गर्दछन्।

काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन्। नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने विश्वास छ। काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि बलिसहित पूजा गरिने हुँदा सम्बन्धित स्थानका भक्तजनको घुइँचो लाग्ने गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved